२ जेष्ठ २०८१, बुधबार

महेन्द्रनगरमा सुदूरपश्चिम अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
प्रदेशका विविध विषयमा गहन छलफल हुँदै



महेन्द्रनगर (कञ्चनपुर)/ कञ्चनपुरको महेन्द्रनगरमा सोमबारदेखि सुदूरपश्चिमको सम्पदा, नवीनता र रुपान्तरणबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आयोजना तथा बेलायतको अक्सफोर्ड युनिभरसिटीको सामाजिक तथा सांस्कृतिक मानवशास्त्र संस्थान र ब्रिटेन–नेपाल प्राज्ञ परिषद्को सहआयोजनामा भइरहेको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ ।

सम्मेलनको एक समारोहबीच सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे । सम्मेलनमा नेपालसहित बेलायत, अमेरिका, जापान, भारत, फ्रान्स, जर्मनी र स्वीट्जरल्याण्डसहितका ९ देशका विश्वविद्यालयका गरी दुई सय बढी प्रोफेसर, अध्येता, अनुसन्धानकर्ताहरूको प्रत्यक्ष सहभागिता रहेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीका अनुसार डिजिटल माध्यमबाट विश्वभरीका अन्य तीन सय जना प्रोफेसर, अनुसन्धानकर्ता, अध्येताहरू सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलन उद्घाटनपछि सञ्चारकर्मीहरुसंगको संक्षिप्त कुराकानीमा प्रा.डा. जोशीले सम्मेलनको प्रमुख उद्देश्य प्राज्ञिकतालाई खरो बनाएर सुदूरपश्चिमलाई विविध पक्षसहित उजागर गर्ने रहेको बताए । उनले भने– एउटै सम्मेलनले सुदूरपश्चिम प्रदेशको कायापलट हुन्छ भन्ने होइन, तर यसले यहाँको मौलिक ज्ञानको उत्सर्जन गर्छ, नवीन कुराको खोजी गर्छ र समाज रुपान्तरणमा टेवा पुराउने विश्वास गरेका छौं ।

उनले सम्मेलनले “सधैं विपन्न, दुर्गम, असक्त, पिछडिएको भन्ने मानसिकताको कुवाबाट बाहिर ल्याएर सुदूरपश्चिम प्रदेशलाई “फुर्र उड्ने” बनाउन योगदान पुर्याउने” विश्वास व्यक्त गरे ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा उपकुलपति २८ वटा समानान्तर सत्रहरूमा ८८ वटा पेपर प्रस्तुत हुने तथा विशद छलफल हुने छ ।

सम्मेलनमा सुदूरपश्चिमको समाज, संस्कृति र इतिहास, कृषि, खाद्य सुरक्षा र जीविकोपार्जन, विज्ञान, प्रविधि र इन्जिनियरिङ, स्वास्थ्य जनसङ्ख्या, आप्रवासन र विकासबारे अध्येताहरूबाट प्रस्तुति भइरहेको छ ।

त्यस्तै, नीति, योजना र शासन, सिकाई, शिक्षा र अध्ययन क्षेत्र, वातावरण, पारिस्थितिकीय र जलवायु परिवर्तन, उद्यमशीलता, बाणिज्य र अर्थतन्त्र, नवीनता तथा नीति कार्यान्वयनमा पनि कार्यपत्र प्रस्तुत भइरहेका छन् ।

प्रा.डा. जोशीले सम्मेलनलाई विमर्श, विवेचना र ज्ञानको उत्सर्जन गर्ने मञ्चका रुपमा ब्याख्या गरे । उनले भने– विश्वका कतिपय विकशित र समृद्ध शहर विश्वविद्यालयबाट शुरु भएका हुन् । तर, हामीकहाँ न शिक्षा परिस्कृत छ, न राजनीति नै सुसंस्कृत छ । उनले नेपालमा मात्रै गाउँ नै कुनै राजनीतिक वादको समर्थकको रुपमा चिनिने उदेगलाग्दो अवस्था रहेको बताए ।

सम्मेलनमा सर्लाहीबाट सहभागी प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले सुदूरपश्चिम आर्थिक, सामाजिक, सांस्कृतिक र सम्पदाका दृष्टिकोणले निकै सम्भावना रहेको प्रदेश भए पनि राजनीतिक नेतृत्वको कमजोरीका कारण अहिले पनि सबैभन्दा पछाडि रहेको विश्लेषण गरे ।

उपकुलपति प्रा.डा. अम्मराज जोशी

उनले भने– सरकार कतिसम्म उदासिन छ भने साढे चार अर्ब रुपैयाँ लागतमा निर्माण भएको गेटा मेडिकल कलेज यतिका वर्षसम्म सञ्चालन गर्नेतर्फ पहल नै गर्दैन । अढाई दशक वितिसक्दा पनि पञ्चेश्वर किन बनेन ? सरकारले जवाफ दिनै चाहँदैन । सुदूरपश्चिम प्रदेश प्राकृतिक सम्पदाबाट निकै धनी छ, तर यहाँको आर्थिक समृद्धि किन भइरहेको छैन ? सोच्नै पर्छ ।

प्रा. धनप्रसाद पण्डितले सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा आयोजना भएको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आफैंमा ठूलो उपलब्धी भएकोे चर्चा गरे । उनले भने– ११ सय पुरानो विश्वप्रसिद्ध अक्सफोर्ड र दुई दशक पनि नपुगेको सुदूरपश्चिम विश्वविद्यालयबीच शैक्षिक सम्बन्ध निर्माण हुनु नै हाम्रा लागि ठूलो उपलब्धी हो ।

प्रा. पण्डितले “विश्वभरी विश्वविद्यालय नै शासन गर्छ, अथवा शासन गर्नका लागि जनशक्ति उत्पादन गर्छ” भन्ने मान्यता रहेको चर्चा गरे । उनले भने– त्यसैले हाम्रो मुख्य सरोकार भनेको हाम्रो शिक्षा विश्वस्तरीय हुनुपर्छ भन्ने नै हो ।

उनले सुदूरपश्चिम प्रदेशको तीब्र आर्थिक समृद्धिका लागि चीन र भारत दुवैतिरको ढोका खोल्नुपर्ने र उत्तर–दक्षिण नाकालाई स्तरीय सडकबाट जोड्नुपर्ने बताए ।

सम्मेलनमा सहभागी बनेका विश्वभरीका प्राध्यापक, अध्येताहरू आफ्नै खर्चमा नेपाल आएका छन् । आयोजकका अनुसार विदेशबाट आएका सहभागी प्राध्यापक, अध्येताहरु सबै आफ्नै खर्चमा आएका छन् ।

एक वर्षको तयारीपछि सुदूरपश्चिम विश्वविद्यालयले सम्मेलन आयोजना गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार