१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा समाजवादीका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने



धनगढी / नेकपा (एमाले) ले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी दिए ।

यद्यपी यो बारेमा औपचारिक निर्णय गर्न बाँकी छ । ‘हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं । पार्टी नेतृत्वको निर्देशन पनि प्राप्त भएको छ’, रावलले भने ।

६ वैशाखमा एमालेसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारीले २१ वैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए ।

तर एमालेले बझाङ उपनिर्वाचनबाट विजयी दमन भण्डारी बुवाको किरियाकर्ममा रहेको र मुख्यमन्त्रीले सल्लाह नगरेको भन्दै विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन । यद्यपी एमालेका प्रमुख सचेतक सुरेन्द्र पाल दलका नेता रावलको सल्लाहमा सत्तारुढ दलका नेताहरुको बैठकमा जाने गरेका थिए ।

एमालेले केन्द्रको निर्देशन नआएको भन्दै २१ वैशाखमा पनि विश्वासको मत दिन नसकिने बताएपछि बैठक स्थगित भएको थियो ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि ३ जेठको विहान सवा १० बजे सुदूरपश्चिम प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार