५ जेष्ठ २०८१, शनिबार

सम्पादकीय : बढ्दो लागु पदार्थ कारोबार र दुरव्यशन



कैलालीमा पछिल्ला वर्षहरुमा लागु पदार्थ, औषधको कारोबार र दुव्र्यशनको क्रम निकै बढेको तथ्यांकहरुले देखाएको छ । गत आर्थिक वर्षभरी कैलालीमा लागु पदार्थ ओसारपसार तथा दुव्र्यशनका एकानब्बे वटा मुद्दा दर्ता भएर एक सय बत्तीस जना पक्राउ परेकोमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमै बयासी वटा मुद्दा दायर भइसकेका छन् भने एक सय दुई जना पक्राउ परिसकेका छन् ।

लागु पदार्थ ओसारपसार तथा दुव्र्यशनमा सबैभन्दा बढी सोह्रदेखि पच्चीस वर्ष उमेर समुहका युवाहरु संलग्न रहेको पाइन्छ । त्यस्तै, ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा लागु औषध, पदार्थको अधिक ओसारपसार र दुव्र्यशनी रहेको तथ्यांकले देखाएको छ ।

यद्दपि, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि लागु पदार्थ कारोबार र दुव्र्यशनका घटना देखिएका छन्, तर कैलाली र कञ्चनपुरको तुलनामा पहाडी जिल्लाहरुमा घटना निकै कम रहेको पाइन्छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा प्रदेशभरी अढाई सय बढी पक्राउ परेकोमा कैलाली र कञ्चनपुरमा मात्रै दुई सय तेत्तीस जना पक्राउ परेको तथ्यांकले शहरी क्षेत्र लागु औषध कारोबार र दुव्र्यशनका दृष्टिले उच्च जोखिममा रहेको सहजै अनुमान गर्न सकिन्छ ।

निश्चित रुपमा लागु औषध आपुर्ति हुने भनेको सिमावर्ती भारतीय बजारहरुबाट नै हो । खासगरी खैरो हेरोइन तथा नाइट्रोभेट, स्पास्मो सहितका लागु औषधहरु भारतीय बजारबाट नै नेपालमा भित्रिरहेको पाइन्छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, बैतडी लगायतका जिल्लाबाट चरेशको अधिक कारोबार भएको पाइन्छ ।

भारतसंगको खुला सिमा लागु औषध ओसारपसारको प्रमुख कारण हो भन्नेमा विमति रहदैन । लागु औषध तथा पदार्थको कारोबार नियन्त्रणको मुख्य उपाय भनेकै आपुर्ति हुने स्रोतलाई बन्द गर्ने र दुव्र्यशनीहरुको संख्या घटाउने नै हो । दुर्भाग्यले भारतसंगको खुला सिमानाले आपुर्तिको स्रोत समाप्त गर्ने प्रयास प्रभावकारी बन्न सकेको देखिदैन ।

अर्कोतिर, लागु पदार्थ, औषधका दुव्र्यशनीहरु बढिजसो पच्चीस वर्ष उमेरमुनिका युवाहरु हुनु निकै चिन्ताजनक विषय बनेको छ । माध्यामिक र उच्च माध्यमिक तहका विद्यार्थीहरु समेत यो कुलतमा फस्दै जानु परिवारलाई मात्रै नभएर समाज र सिंगो राष्ट्रका लागि निकै गम्भीर विषय बनेको छ । समाजमा हुने अपराधिक घटनाको एक प्रमुख कारण पनि लागु औषध ओसारपसार र दुव्र्यशन बनेको तथ्यले यो समस्याको सम्पूर्ण रुपमा समाधान गर्न अझ बढी प्रयास आवश्यक छ भन्नेमा पनि दुइमत रहदैन ।

लागु औषध, पदार्थ कारोबार र दुव्र्यशनको कडाईका साथ रोकथामका लागि प्रहरी, प्रशासनको अझ बढी सक्रियताको आवश्यकता त छ नै, परिवार र समाजबाट समेत यो प्रयासमा हातेमालो बढाउनु जरुरी भइसकेको छ ।

यसका लागि विद्यालय, क्लव, सामाजिक संघसंस्था, युवा, विद्यार्थी, शिक्षक, अभिभावक सबैसंगको सहकार्यमा लागु औषध कारोबार र दुव्र्यशनको समस्या पूर्ण रुपमा समाप्त गर्न एकिकृत ढंगको अभियान अघि बढाइनु पर्दछ । अहिले कैलालीमा प्रहरीले सञ्चालन गरेको लागु औषध दुव्र्यशन विरुद्धको सचेतनामुलक अभियानलाई अझ विस्तार गर्दै नागरिक तहसम्म पुराउनेतर्फ पहल गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार