१७ बैशाख २०८१, सोमबार

नेपालीको नयाँ वर्ष सुखद बनोस शुभकामना



ऋतु, बार, दिन, महिना जस्तै वर्ष परिवर्तनको पात्रो पल्नटु पनि स्वभाविक प्रक्रिया हो । नेपालमा हामी नेपालीले भने दशै, तिहार, माघी जस्ता पर्व जस्तै नयाँ वर्षलाई ठुलो महत्वका साथ मनाउने गर्दछौ । धार्मिक दृष्टीले हेर्दा सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ । नयाँ वर्षदेखि नयाँ योजना बनाएर अघि बढ्ने प्रचलन पनि हुन्छ ।

अझ नेपालका विभिन्न जातजातिले नयाँ वर्षलाई अवसरमा आफ्नोआफ्नो तरिकाले मौलिकरुपमा मनाउने समेत गरेका हुन्छौ । जस्तो सुदूरपश्चिमका केही जिल्लामा नयाँ वर्षका रुपमा भव्यरुपमा विसु पर्व मनाउने चलन हुन्छ । त्यस पर्वका अवसरमा विदेश गएकाहरु समेत घर फर्किने गर्छन । अहिले बसाईसराई र युवा विदेश पलायनले पहाडका बस्तीमा विसु पर्वको रौनक कम हुन्छ । तर विगतमा विसु पर्वमा देवर–भाउजुबीच सिस्नु लगाएर रमाउने खेल कम्ता रमाइलो हुँदैनथ्यो । सिस्नु हटे पनि तराईका कैलाली, कञ्चनपुरमा पहाडबाट झरेकाले विसु मनाएर यो पर्वको महत्व र ऐतिहासिकता बचाइरहेका छन् । सिस्नुले हान्दा नसा र छालाका रोग नलाग्ने विश्वास पनि छ ।

यो पर्वमा विभिन्न खालका पकवान बनाएर खाने गरिन्छ भने न्वागी (नयाँ अनाज) गहुँ, जौ जस्ता बाली आफूले मान्ने देउता, मष्टालाई चढाएर पूजाआजा गर्ने चलन छ । कतिपय ठाउँमा नयाँ वर्ष दशै, तिहारमा झै घरमा रंगरोगन गर्ने चलन पनि छ । यद्यपी पछिल्ला दिनमा यस्ता परम्परा लोप भएर जाने अवस्था छ । यो चलनमा रुढता र अन्धविश्वास देखिन्न त्यसैले यसको संरक्षणमा सबैको भूमिका हुन जरुरी छ ।

जे होस नयाँ वर्षमा सबैले उन्नती, प्रगतिको अपेक्षा गरेका हुन्छन् । नयाँ वर्षले खेतबारीको वाली राम्रो होस, प्राकृतिक विपत्तिले जनताले दुःख नपाउन, राजनीतिले लय समातोस, गल्ती कमजोरी सच्चाएर दल र सरकार अघि बढुन, राजनीतिले प्रदेश र संघ सरकारको परिवर्तन खेल नगरोस, विकास निर्माणले फड्को मारोस, विदेशीको नोकर हुन विदेशिने अवस्था अन्त्य होस । यी सबै काममा लागि दल, दलका नेता, सरकार अनि कर्मचारी प्रशासन र राज्यका सम्पूर्ण तह जिम्मेवार हुनुपर्छ त्यसपछि उल्लेखित पक्षले दिने नयाँ वर्षको ओठे शुभकामनाले वास्तविक रुप लिनेछ । हाम्रो र जनताको चाहना त्यही हो राज्य सञ्चालकले कुरा बुझुन । सबै नेपालीको नयाँ वर्ष सुखद बनोस, नयाँ वर्षको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार