५ जेष्ठ २०८१, शनिबार

सम्पादकीय : काँग्रेसको १४ औं महाधिवेशन र जनअपेक्षा



मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको आज (शुक्रबार) देखि १४ औं महाधिवेशन शुरु हुदैछ । नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रिक पद्धति लागू भएपछि हुन लागेको काँग्रेसको १४ औं महाधिवेशन त्यसैले पनि बढि चर्चामा रहेको छ । वडादेखि केन्द्रीय समितिसम्म सात तहमा हुने निर्वाचनमा सहभागी हुदै खारिएर आएका महाधिवेशन प्रतिनिधिहरुले नया नेतृत्वको पनि चयन गर्दैछन् ।

काँग्रेसले आफ्नो झण्डै साढे सात दशक लामो इतिहासमा पहिलो पटक प्रदेश संरचना समेत बनाएको छ । हरेक राजनीतिक दलको अधिवेशन, महाधिवेशन, सम्मेलनहरु उसको आफ्नो आन्तरिक मामिला मात्रै हुदैन । खासगरी राजनीतिक दलहरुले आफ्नो महाधिवेशनमार्फत के कस्ता भावी नीति, रणनीति, कार्यनीति अवलम्बन गर्छन् ? समयानुकुल रुपमा आफ्नो नीति र सिद्धान्तमा के कस्तो परिमार्जन गर्छन् ?

राजनीतिक दलका महाधिवेशनहरुले मुलुक र आम जनताको भविष्यप्रति कस्तो दृष्टिकोण बनाउछ ? मुलुकको शान्ति, स्थिरता, राजनीतिक सहिष्णुता र जनता तथा देशको आर्थिक समृद्धिका लागि के कस्तो घोषणाहरु गर्छन् ? भन्नेले महत्व राख्दछ ।

मुलुकमा एक सय चार वर्षे जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लक्ष्सहित आजभन्दा झण्डै साढे सात दशक अघि स्थापना भएको काँग्रेसले आफ्ना हरेक महाधिवेशनबाट मुलुक र जनता तथा लोकतान्त्रिक पद्धति, नागरिक अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा सधै अग्रगामी निर्णय र नीति पारित गरेर अघि बढेको देखिन्छ ।

१४ औं महाधिवेशनसम्म आइपुग्दा अहिले पार्टीको आगामी नीति, दृष्टिकोण र रणनीति तथा कार्यनीति भन्दा पनि को नेतृत्वमा स्थापित हुने भन्ने मात्रै बढी बहसमा रहेको देखिन्छ । काँग्रेसका कार्यकर्ताहरु मात्रै नभएर समाजका अन्य पक्षहरुले यसको महाधिवेशनबाट मुलुकका मुलभूत सवालहरुमा कस्तो दृष्टिकोण बनाउछ र पछिल्ला सकसपूर्ण वर्ष तथा दिनहरुको तितो पुनरावृत्ति हुननदिन कसरी आम नेपाली जनता र विश्व समुदायलाई आश्वस्त पार्छ ? भन्ने कौतुहलताका साथ हेरिरहेको अवस्था छ ।

पछिल्ला वर्षहरुमा सबै राजनीतिक दलहरुमा विचार, सिद्धान्त, राजनीतिक इमानदारिता र नैतिकता तथा मूल्यमान्यताको भन्दा पनि धनवाद र डनवाद फस्टाइरहेको बिसंगतिपूर्ण अवस्था देखिदै आएको छ । राजनीतिमा अपराधिकरण र धनबलको बोलाबाला बढ्दै जादा राजनीतिक प्रणालीप्रति नै जनआस्था कमजोर हुदै जान्छ भन्ने विगतका अनुभवले सिद्ध गरेको तितो तथ्य हो ।

काँग्रेसको १४ औं महाधिवेशनले नेतृत्वको रुपान्तरण तथा पुस्तान्तरणको अभिभारालाई पुरा गर्छ वा गर्दैन ? केही दिन पर्खिनु पर्नेहुन्छ । अहिले हरेक राजनीतिक दलमा युवा तथा पढेलेखेका पुस्ताको प्रतिनिधित्व बढ्दै गएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो अपेक्षाकृत रुपमा दक्षिणपन्थी र संकुचित राजनीतिक दलको नेतृत्व अहिले युवाको हातमा आएको छ ।

तर, ठूला र लोकतान्त्रक भनिएका दलहरुमा अहिले पनि उनै पुराना र जनताको दृष्टिमा असफल नेताहरु नै फेरि पनि नेतृत्वमा रहेको देखिन्छ । जसले एक्काइसौं शताब्दीका चुनौति र सम्भावनाका साथै युवा पुस्ताको आवश्यकता र चाहनाको सम्बोधन गर्न खासै रुचि देखाउन मात्रै चाहदैन, सक्षम पनि देखिन्न । त्यसैले काँग्रेसको १४ औं महाधिवेशनबाट के नेतृत्वको पुस्तान्तरण र रुपान्तरण सम्भव होला ? अहिले नेपाली समाजका विविध पक्षमा छाएको कौतुहलता हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार