७ जेष्ठ २०८१, सोमबार

गौशाला व्यवस्थित नहुँदा वनस्पति उद्यानमा समस्या



धनगढी । छाडा पशुचौपायाको समस्या बढेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर ७, देवहरिया सामुदायिक वनमा चार वर्षअघि अस्थायी गौशाला निर्माण गरियो । गौशालामा काठ, तार र जालीले घेरेका तथा जस्तापाता लगाइएका दुई वटा टहरा छन् । एक टहरामा गाईबस्तुलाई राखिने गरिएको छ । भने अर्को टहरामा पशुचौपायाका लागि आवश्यक पराल, भुसा लगायतका आहारा भण्डारण गर्ने गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका मुख्य सडकहरूमा छाडा पशुचौपायाका कारण सवारी दुर्घटनामा बृद्धि, यातायात सञ्चालनमा कठिनाई हुनुको साथै अन्नबाली नोक्सान हुन थालेपछि उपमहानगरपालिकाले २०७४ साल साउन २५ गते वनस्पति अनुसन्धान केन्द्र र जिल्ला प्रशासन कार्यालयसंग व्यवस्थित गौशाला निर्माण गर्ने भन्दै एक वर्षका लागि सम्झौता गरेको थियो । तर, उपमहानगरपालिकाले व्यवस्थापनमा ध्यान दिएको छैन । परिणाम गौशालाको छेउमै रहेको बनस्पति अनुसन्धान केन्द्रले स्थापना गरेको देवहरिया वनस्पति उद्यानको संरक्षणमा नै चुनौति थपिएको छ ।

वनस्पति अनुसन्धान केन्द्र धनगढीका निमित्त कार्यालय प्रमुख मदनराज भट्टले भने– गौशालामा राखिएका गाईगोरुको चरिचरण क्षेत्र वनस्पति उद्यान बनेको छ । विहान र रातीको समयमा स्थानीयहरूले पनि उद्यानमा आफ्ना पशुचौपायाहरूलाई चरिचरन गराइरहेका छन् ।

निमित्त कार्यालय प्रमुख भट्टले दिनभरी उद्यानमा रहेका कर्मचारीहरूले त्यहा“ रहेका पशुचौपाया धपाउने गरे पनि जनशक्ति अभावमा बिहान र रातीको समयमा समस्या हुने गरेको बताए ।

‘उपमहानगरपालिकाले देवरिया वनस्पति उद्यानमा कुनै किसिमको समस्या नपर्ने गरी गौशाला निर्माण गर्ने सम्झौता गरेको थियो’ उनले थपे– तर उपमहानगरपालिकाले सम्झौता अनुसार काम गरेन । अहिले हामीलाई निकै समस्या भएको छ ।

उनका अनुसार– सम्झौतापत्रमा उद्यानभित्र जथाभावी रूपमा गाईगोरुहरूलाई छोड्न नपाइने र तोकिएको स्थानमा मात्र चरन र पानीको व्यवस्था गर्ने भन्ने उल्लेख छ । तर अहिले गौशालामा रहेका हेरालुले उद्यानभित्र नै जहातही गाईगोरु चराउने र उद्यानकै तालमा पानी खुवाउने गरेका छन् ।

उनले गौशालाका पशुचौपायाका कारण उद्यानमा रहेको जैविक विविधतामा दिनहु क्षती पुगिरहेको बताए ।

निमित्त कार्यालय प्रमुख भट्टले अहिले उपमहानगरपालिकाले जाखोर तालमा गरिरहेको निर्माणका कारण पनि उद्यान संरक्षणमा समस्या थपिएको बताए । उनले भने– नजिककै रहेको तालमा उपमहानगरपालिकाले ठेक्का लगाएर निर्माण कार्य गरिरहेको छ । यसले गर्दा बाटो खुल्ला भएको छ । मानिसहरू आउने, बस्ने, आफ्ना गाईवस्तु चराउने गरिरहेका छन् ।

वनस्पति अनुसन्धान केन्द्रले गाईगोरु व्यवस्थापनका लागि उपमहानगरपालिकालाई दश हेक्टर जमिन उपलब्ध गराएको छ ।
देवहरिया वनस्पति उद्यानमा दुर्लभ, लोपोन्मुख, रैथाने तथा संकटापन्न सूचीमा सूचीकृत वनस्पतिहरूको स्वास्थानीय तथा परस्थानीय संरक्षण गरिरहेको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले छाडा पशुचौपाया व्यवस्थापनका लागि देवरियामा गौशाला निर्माण गरेको र गौशालामा आवश्यक पराल, पानी लगायतको व्यवस्थापन धनगढी उपमहानगरले नै गर्ने गरेको बताए । उनका अनुसार गौशालामा अहिले साढे तीन सय बढी गाईगोरु रहेका छन्् भने व्यवस्थापनका लागि १० जना हेरालु राखिएको छ ।

‘हामीले वनस्पति उद्यानको जग्गा बाहेक सम्झौता गरेको जग्गाभित्र दुई÷तीन घण्टा चरिचरन गराउने गरेका छौं’ नगर प्रमुख वडले भने– ‘हामीले जैविक विविधता संरक्षणमा ह्रास आउने कुनै काम गरेका छैनौं ।’

डेढ वर्षको सम्झौता, हटेन गौशाला

धनगढी उपमहानगरपालिकाले सम्झौता अनुसार काम नगरेपछि २०७५ साल कार्तिक महिनामा वनस्पति अनुसन्धान केन्द्रले गौशाला हटाउन अनुरोधसहितको पत्र पठाएको थियो । सो पत्रपश्चात उपमहानगरपालिकाले अर्को गौशालाको व्यवस्थापन नभएसम्मका लागि छ महिनाको म्याद लागि सम्झौताको अवधि थपेको थियो ।

तर, थपिएको म्याद सकिए पनि धनगढी उपमहानगरपालिकाले न त अर्को गौशालाको व्यवस्था गरेको छ, न अस्थायी गौशालालाई सम्झौता अनुसार सञ्चालन नै गर्न सकेको छ ।

अनुसन्धान केन्द्रका निमित्त प्रमुख भट्टले भने– शहर बजारमा जथाभावी छोडिएका पशुचौपायालाई तत्काललाई अस्थायी प्रकृतिको का“डेतार सहितको घेरबार र पशुचौपायाहरूको उचित चरन, आहारा रेखदेखको वन्दोवस्त, वेवारिसे गाई संरक्षण र व्यवस्थापन गर्न जरुरी देखिएकोले प्रमुख जिल्ला अधिकारीको राय सल्लाह बमोजिम सो सम्झौता गरिएको थियो ।’ उनले केन्द्रले उद्यानभित्र गौशाला सञ्चालनको सम्झौता मिति सकिएको र सम्झौता नवीकरणसमेत नभएकोले अन्यत्र पशुचौपाया व्यवस्थापन गर्न समेत अनुरोध गर्दासमेत उपमहानगरपालिकाले ध्यान नदिएको बताए । उनले उपमहानगर र केन्द्रबिच सहकार्य पनि पछिल्लो समय नभएको बताए ।

रकम असुल्दै गौशाला

सडकमा रहेका छाडा पशुचौपायाको व्यवस्थापन गर्ने भन्दै गौ संरक्षण समितिले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित गौशाला सञ्चालनमा ल्यायो । तर, सो गौशालामा सडकका भन्दा बढी घरकै गाईहरू रहेको बताइन्छ ।

धनगढी उपमहानगरपालिका, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश सभा सदस्य डिल्लीराज पन्त र स्थानीयको मुठ्ठीदानबाट निर्माण भएको सो गौशालाले घरबाट आएका गाई बाच्छाहरूबाट रकम लिइरहेको छ ।

गौशाला सञ्चालनमा तत्कालका लागि बलियो आयास्रोत नहुँदा समस्या भएपछि सो समितिले घरका गाईबाच्छा गौशालामा राख्ने गरेको स्थानीयहरूको आरोप छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय गणेशबहादुर बोहराले बाच्छा गौशालामा राख्ने सोच बनाई समितिका मान्छेलाई फोन गर्दा वार्षिक तीन हजार रुपैया दिनु पर्ने भनेको बताए ।

समितिका अध्यक्ष भोजराज पाठकले हेरालुदेखि गाई–गोरुको दाना चाराका लागि समस्या हुने गरेको बताए ।

‘मुठ्ठीदानबाट मासिक रुपमा केही रकम संकलन हुने गरेको छ,’ उनले भने– तर, त्यसले मात्र पुग्दैन ।’ गौशाला सञ्चालका लागि मासिक न्यूनतम ६० हजार रुपैयासम्म खर्च हुने गरेको उनले बताए । ‘तीनजना हेरालु राखिएको छ, उनीहरूलाई मासिक तलब दिनु नै पर्यो अनि गाई गोरुलाई पनि भुसा पराल किन्दा त्यतिले पुग्दैन’ उनले भने ।

२०७५ सालबाट सञ्चालन भएको सो गौशालामा अहिले ७०–७५ वटा गाई–गोरु रहेका छन् । गौशाला निर्माण कार्यमा ३६५ जना आजीवन सदस्य रहेका छन् । गौशालामा धनगढी उपमहानगरपालिका, सांसद डिल्लीराज पन्तको प्रदेश सांसद कोषको रकम र प्रदेश सरकारको गरी झण्डै एक करोड ७५ लाख रुपैया खर्च भइसकेको छ । गौशालामा एक सय ५० भन्दा बढी गाई–गोरु अटाउने क्षमता भएको गोठ निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार