३० बैशाख २०८१, आईतवार

नदीमा पुल बनेन, वारपार गर्न बैलगाडा सेवा



धनगढी । असारको तेस्रो साताको एक दिन । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ पथरीका केही महिला शिवगंगा नदीको किनारमा रहेको चौरमा गाईगोरु, बाख्रा चराइरहेका थिए । नदीमा तिघ्रासम्मको पानी थियो । केही मानिस नदीमा जोखिम मोलेर वारपार गरिरहेका थिए । गाईबाख्रा चराउदै गरेकी पथरीगाउकी ३५ वर्षीया सीता चौधरीले साथीहरूसंग सोधिन्– यो नदी (शिवगंगा) मा पुल बन्ने भन्थे, खै कहिलेदेखि काम अघि बढुला ?

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ र १७ जोड्ने शिवगंगा नदीमा पुल निर्माणका लागि सम्झौता भएको अवधि समाप्त भइसकेको छ, तर अहिलेसम्म सो पुलको पिल्लर समेत बनेको छैन ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ ढाकाटोलका हरिबहादुर कटुवालको वडा नम्बर ७ देवहरियामा व्यापार व्यवसाय छ । उनले दैनिकजसो घरदेखि पसल र पसलदेखि घरसम्म सोही नदी पार गरेर आउजाउ गर्छन् । पसल जानका लागि नदी पार गरिरहेको अवस्थामा भेटिएका हरिबहादुरले भने– खुट्टामा घाउँ भएपछि मलमपट्टी गरेको छु । नदी को बहाव पनि बढेको छ । पट्टीमा पानी पसे समस्या हुन्छ ।

उनले नदीमा पानीको बहाव अत्यधिक बढेका दिन घरदेखि कनरी हुँदै धनगढी बजार आउने गरेको बताए । उनले भने– यहाँदेखि १५ मिनेटमै धनगढी बजार पुगिन्छ, तर वर्षातमा नदीमा नदी को बहावले लामो यात्रा गरेर धनगढी पुग्नुपर्छ ।’

उनीजस्तै अरु पनि सो नदीबाट वारपार गरिरहेका थिए । बजारबाट घरका लागि साइकलमा सामान बोकेकाहरू नदीमा साइकल बोक्दै वारपार गरिरहेका थिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १७ पथरीकी ४० वर्षिय पार्वति चौधरीले भनिन– नजिकैको खुटिया नदीको पुल बनिसक्यो । तर, यो पुलको काम कहिलेदेखि शुरु हुने हो अत्तोपत्तो छैन ।

वर्षामा बैलगाडाको भर

धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का स्थानीय भागिराम र मानबहादुर चौधरीले यात्रु, साईकल तथा मोटरसाइकल पार गराउन बैलगाडा सेवा सञ्चालन गर्ने गरेका छन् ।

‘असारदेखि वर्षा शुरु हुँदा नदीको बहाव बढ्छ । पुल छैन । त्यसैले मानिसको आवतजावतमा सहजता ल्याउन बैलगाडाबाट सेवा दिन्छौं’ भागिरामले भने– आफनै घरको सामान र पराल बोक्ने बैलगाडा अहिले मानिसलाई नदीमा वारपार गराएर आम्दानीको स्रोत बनेको छ ।’ उनले प्रति मोटरसाईकल वारपार गराएको सय रुपैया लिने गरेको बताए । दैनिक सय बढी मानिस यो नदीबाट पार गर्छन् । उनले दैनिक मोटरसाइकल वारपार गराउँदा एक हजार दुई सयदेखि चार हजार रुपैयासम्म आम्दानी हुने गरेको बताए । उनले शिवगंगा पार गर्दा रामपुर, घसिटा, बेहडाबाबा मन्दिर पुगिने गरेको बताए ।

अर्का बैलगाडा सञ्चालक मानबहादुरले भने– भारी वर्षा भइ नदी को बहाव बढेको दिन बैलगाडा चलाउन सकिदैन । त्यसबेला हामी बन्द गर्छौ ।’ उनले वर्षायामको चार महिना नदीमा बैलगाडाले मानिस, मोटरसाइल वारपार गराउने गरेको बताए ।

वडा नम्बर १६ स्थित वेहडाबाबा मन्दिरको दर्शनका लागि धनगढी तथा भारतका विभिन्न स्थानका दर्शनार्थीहरू आउने गरेका छन् । वेहडाबाबा धनगढीको मुख्य बजार हुँदै कनरीदेखि पनि जान सकिन्छ । तर, देवहरियादेखि छोटो यात्रा पर्ने भएकाले अधिकाँसले सोही बाटोमा यात्रा गर्न रुचाउँछन् । देवहरियादेखि वेहडाबाबा जान खुटिया र शिवगंगा नदी पार गर्नुपर्छ ।

धनगढीका चित्रबहादुर छेडालले पनि बेहडाबाबा जाने क्रममा दुई वटा नदी पार गर्नुपर्ने बाध्यता रहेको बताए । उनले धनगढी उपमहागनरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि जादा शिवगंगा नदीमा बैलगाडामा वारपार गर्नुपर्ने अवस्था रहेको बताए । उनी भन्छन्– ‘धनगढीबाट कनरी हुँदै जाँदा २० किलोमिटर बढी यात्रा गर्नुपर्छ । यहाँबाट सिधैं जाँदा त्यसको आधाभन्दा पनि कम हुन्छ ।’ उनले शिवगंगामा पुल बनेको भए बेहडाबाबा दर्शनका लागि जाने दर्शनार्थीका लागि सहज हुने बताए ।

पुल बनेपछि खुशियाली

धनगढी उपमहानगरपालिका वडा नम्बर १७, धुर्जन्नाका स्थानीय नरेश चौधरी विगतदेखि वैलगाडाबाट नदी वारपार गरेर धनगढी बजार पुग्थे । खुटिया र शिवगंगा नदीले घेरिएको धुर्जन्ना वस्ती वर्षातको समय आउदा स्वास्थ्य लगायतका अन्य सुविधा पाउनबाट वञ्चित हुन्थे ।

सडक डिभिजन कार्यालयले देवहरिया–बेहडाबाबासम्मको सहज पहुँच पुर्याउन २०७४ सालमा दुई वटा पुलको टेण्डर आह्वान गर्यो । त्यसमध्ये थियो खुटिया र शिवगंगा पुल । पटक–पटक म्याद थप्दै आर्थिक वर्ष २०७७/७८ पछि मात्र उनले पुलबाट यात्रा गर्न पाए ।

उनले भने – वरिपरी नदीले घेरेको छ । खुटिया नदीमा पुल नहुँदा पूर्व–पश्चिम राजमार्ग हुदै धनगढी जानुपथ्र्यो । नभए नदी मा पैसा तिरेर बैलगाडाबाट पार गर्नुपर्ने हुन्थ्यो ।’ उनले पुल बनेपछि धुर्जन्नाबासीलाई धनगढीबाट सेवा लिनको लागि सहज भएको प्रतिक्रिया दिए ।

१९ दशमलब ७७ वर्गमिटरमा फैलिएको सो वडामा २०६८ को जनगणना अनुसार चार हजार नौ सय ७७ जनसंख्या बसोबास रहेको छ ।

धुर्जन्ना र देवहरियालाई जोड्न सडक डिभिजन कार्यालयले खुटिया नदीमा पुल निर्माण कार्यको थालनी गरेको चार वर्ष पछि सो क्षेत्रका बासिन्दाहरूले पुलमा हिडडुल गर्न पाएको प्रतिक्रिया दिए ।

दुई पुलको सम्झौता, एउटामा मात्र काम

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ साल असार २७ गते पुल बनाउन निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । सम्झौता गरेको निर्माण कम्पनिले एक पुलको मात्र काम सम्पन्न गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सो पुल निर्माणको ठेक्का पप्पु एडभेन्चर जोइन्ट भेन्चरले पाएको थियो ।

एक सय ५० मिटर लामो खुटिया पुलको काम २०७७ असारभित्र सक्नु पर्ने भएपनि आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरेको छ । निर्माण कम्पनीले भ्याटबाहेक १४ करोड २१ लाख २४ हजार दुई सय ६२ रुपैया“ लागतमा सम्झौता गरेको थियो ।

एक सय २४ मिटर लामो देवरिया–बेहडाबाबा पुलको निर्माण कार्य अहिलेसम्म शुरु गरेको छैन । सो पुलको सम्झौता अवधि २०७७ असार मसान्तसम्म रहेको थियो । १२ करोड ६२ लाख ७२ हजार छ सय ७१ रुपैयाँ लागतमा निर्माण कम्पनीले सो पुल निर्माण गर्ने सम्झौता गरे पनि अहिलेसम्म पिल्लरसमेत हालेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार