७ कार्तिक २०८१, बुधबार

धनगढीमा बढ्दै कोरोना पोजिटिभ, आइसोलेसन शय्या कम



धनगढी- सोमबार गौरीफण्टा नाकामा आठ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। एन्टीजेनमा कोरोना देखिएका व्यक्तिहरुलाई धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा राखिने गरेको छ।

मंगलबार सेन्टरमा पुग्दा ४४ जना मात्र रहेका थिए। सेन्टरमा निगरानीमा राखिएका व्यक्तिहरु क्षमताभन्दा बढी हुँदै गएपछि ‘होम आइसोलेसन’ मा राख्ने सर्तमा घरपरिवारको जिम्मा लगाइने गरेको जनाइएको छ।

सेन्टरका फोकल पर्सन प्रेम रोकायाले भने ‘यहाँ दुई सय जनासम्मलाई राख्न सकिन्छ। तर, पछिल्लो समय भारतबाट स्वदेश फर्किरहेका व्यक्तिहरुमा एन्टीजेन परिक्षणमा कोरोना संक्रमण देखिने क्रम बढेको छ। यसले गर्दा यहाँ धेरैलाई राख्न सकिदैन।’

स्वास्थ्य निर्देशनालयले भने एन्टीजेनमा कोरोना संक्रमण देखिएकालाई अनिवार्य दश दिन आइसोलेसनमा राख्न निर्देशन दिएपनि स्थानीय तहहरुले आइसोलेसन सञ्चालन नगर्दा संक्रमितहरु होम आइसोलेसनमा बाध्य भएका छन्। 

गोदावरी नगरपालिका २३ वर्षीय युवामा चार दिन अघि गौरिफन्टा नाकामा एन्टीजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो। उनीमा कोरोना देखिएपछि धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा एम्बुलेन्समा लगिएको थियो। तर, उनी धेरै समय त्यहाँ बसेनन्।

आइसोलेसन सेन्टरमा आफन्तहरुले ‘होम आइसोलेसन’ मा राख्ने प्रतिवद्धता व्यक्त गरेपछि परिवारको जिम्मा लगाइयो। अहिले उनले आफु घरभित्र छुट्टै बसेको प्रतिक्रिया दिए।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय युवा आइसोलेसन सेन्टरमा बसेका थिए। सोमबार भारतबाट फर्केका उनको नाकामा एन्टीजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनलाई आइसोलेसन सेन्टरमा राखिएको छ।

उनले भने– ‘मसँग गाडीमा ६० जना भारतबाट फर्केका थिए। नाकामा एन्टीजेन परीक्षण गर्दा हामी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर, अहिले यहाँ हामी चार जनामात्र छौं।’ उनले गाउँपालिकाले सोही ठाउँमा आइसोलेसन सञ्चालनमा ल्याएको भए आफनै गाउँको आइसोलेसनमा १० दिन बस्न तयार रहेको प्रतिक्रिया दिए।

उनले आइसोलेसन सेन्टरमा राखिएका व्यक्तिहरुलाई आफन्तको जिम्मा लगाई छोडिनु उपयूक्त नभएको बताए। उनले भने– ‘कैलाली र कञ्चनपुरका नजिकका स्थानीय तहका व्यक्तिहरुलाई होम क्वारेन्टाइनका नाममा छोडिन्छ। हामीलाई चाहि छोड्न मिल्दैन। तपाइहरुको गाउँपालिकाबाट दबाब आउँछ भन्ने प्रतिक्रिया दिन्छन्।’

उनले कोभिडबाट सबैलाई सुरक्षित राख्ने हो भने सबैलाई एउटै व्यवहार गर्नुपर्ने बताए। उनले भने– ‘कसैलाई चाही कैदी जसरी आइसोलेसनमा थुन्ने र कसैलाई तपाइको केही छैन घरमा सुरक्षित बस्नुस भनेर पठाउनु उपयूक्त होइन।’ उनले समुदायमा संक्रमण फैलन नदिन क्षमता अनुसार कोरोना पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेसनमा राख्नुपर्ने व्यवस्था मिलाउनुपर्ने बताए।

अछामको मंगलसेन नगरपालिकाका ३५ वर्षीय युवा पनि आइसोलेसन सेन्टरमा तीन दिनदेखि बसिरहेका छन्। भारतबाट फर्कदा नाकामा गरिएको एन्टीजेन परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसन सेन्टरमा राखिएको छ। उनले भने– ‘मसंग आइसोलेसनमा आएका व्यक्तिहरुलाई एकै दिनमा घर परिवारको जिम्मा लगाएर छोडियो तर, मलाई अहिलेसम्म छोडेको छैन। यो पनि राम्रै हो। मेरो घरपरिवार त सुरक्षित हुन्छन्।’ उनले आफुलाई जस्तै एन्टीजेन परिक्षणमा कोरोना संक्रमण देखिएकालाई पनि आइसोलेसनमा राख्न आग्रह गरे।

सेन्टरमा फोकल पर्सन प्रेम रोकायाले एन्टीजेनबाट कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई चैत १७ गतेदेखि आइसोलेसन सेन्टरमा राख्न सुरु गरिएको बताए। उनले आइसोलेसन सेन्टरको क्षमता धेरै व्यक्ति राख्न नमिल्ने भएपछि घरपरिवारसंग होम आइसोलेसनमा राख्ने प्रतिवद्धता आएपछि पठाउने गरिएको बताए। उनले भने– ‘सेन्टरमा आएका व्यक्तिहरुले आफन्त बोलाउँछन्। उनीहरुले होम आइसोलेसनमा राख्ने प्रतिवद्धता व्यक्त गरेपछि उनीहरुले रिर्जव गरि ल्याएको गाडिमा राखेर पठाउने गरेका छौं।’ 

उनले सेन्टरबाट गएका व्यक्तिहरु होम आइसोलेसनमा बसे नबसेको बारे जानकारी नलिइएको बताए। उनले भने –‘यहाँबाट गएपछि होम आइसोलेसनमा बस्छन, बस्दैनन हामीलाई थाहा छैन।’

आइसोलेसन सेन्टर सञ्चालनमा आएदेखि हालसम्म एक हजार ७९ जनालाई भर्ना गरिएकोमा एक हजार ३५ जनालाई परिवारको जिम्मा लगाई होम आइसोलेसनमा पठाइएको जानकारी दिए। 

स्वास्थ्य निर्देशनालयका अनुसार सोमबारसम्म भारतबाट फर्केका १९ हजार ३२ को एन्टीजेन परिक्षण गर्दा १७ हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

डोटी प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्ला अस्पताल डोटीमा अहिले १५ बेडको आइसोलेसन सञ्चालन रहेकोमा चार जना संक्रमित भर्ना गरिएको जानकारी दिए। उनले जिल्लामा संक्रमितहरुलाई राख्नका लागि ६८ बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको बताए।

अछाम प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले अछाम जिल्लाका सबै स्थानीय तहमा १० बेडको आइसोलेसन सञ्चालन गर्न निर्देशन दिइएको बताए। उनले भने– ‘अहिले कति सञ्चालनमा आएका छन यसबारे जानकारी आएको छैन।’

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार प्रदेशभरी ३१ स्थानमा सात सय ४८ बेडको आइसोलेसन रहेको जनाइएको छ। तर, सोमबारसम्म दुई सय ५६ पुरुष र ६६ महिला गरी तीन सय २२ जना आइसोलेसनमा राखिएको छ। निर्देशनालयका अनुसार कैलालीमा एक सय २३, कञ्चनपुरमा एक सय २८, डडेल्धुरामा ३१, बझाङमा नौ, बैतडीमा दुई, अछाममा तीन जना आइसोलेसनमा राखिएको उल्लेख छ।

छैन व्यवस्थित धनगढीको आइसोलेसन
गौरिफन्टा नाकादेखि झण्डै १० किलोमिटर टाढा धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टर व्यवस्थित नभएको त्यहाँ राखिएका व्यक्तिहरुले गुनासो गरेका छन्।

जोरायल गाउँपालिका वडा नम्बर ५ का युवाले भने –‘खान बस्न त ठिक छ तर, सरसफाइमा कमजोरी रहेको छ।’ उनका अनुसार सेन्टरमा रहेका व्यक्तिहरुले कार्यालय क्षेत्रमामात्र सेनिटाइज गर्ने गरेका छन। उनले भने– ‘हामी एन्टीजेन परीक्षणबाट कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुलाई राखिएको क्षेत्रमा सेनिटाइज गर्दैनन। सबैले एउटै शौचालय र खानेपानीको धारा प्रयोग गर्नुपरेको छ।’ उनले सेन्टरमा आवश्यक औषधि पनि अभाव देखाई नदिने गरेको बताए।

अछामको मंगलसेन नगरपालिकाका ३५ वर्षीय युवाले आइसोलेसनलाई थप व्यवस्थित गराउन माग गरे।

संक्रमितसंग यात्रा गर्नेको खोजी छैन
जोरायल गाउँपालिका वडा नम्बर ५ का युवा भारतबाट स्वदेश फर्कदा यात्रामा ६० जना सवार थिए। गौरिफन्टा नाका पुगेपछि उनीसँगै फर्केका १५ जनामा एन्टीजेन परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। तर, अन्यको अभिलेख पनि राखिएको छैन।
ती युवाले भने– ‘मसंगै ६० जना एउटै गाडिमा स्वदेश फर्केका थियौं। तर, उनीहरुको अभिलेख नराख्दा अहिलेसम्म सरोकारवालाहरुले पहिचान गर्न पनि पहल गरेका छैनन।’ उनले नाकामा कडाई गरेको भएपनि यात्रु सबैको अभिलेख र कन्ट्याक्ट ट्रेसिङ गर्न सुझाव दिए।

उनले भने– ‘मलाई त नाकामै एन्टीजेन परिक्षणमा कोरोना संक्रमण देखिएको थियो तर, मसंग यात्रामा संगै रहेकाहरुले समुदायमा फैलाउन सक्ने जोखिम बढेको छ।’

आइसोलेसनका फोकल पर्सन रोकायाले भने– ‘संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी नगर्नु र सिधै होम आइसोलेसनमा पठाउदा संक्रमण समुदायमा फैलन सक्छ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार