६ कार्तिक २०८१, मंगलवार

ओम किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाका लागि सूचिकृत



धनगढी । कैलालीको धनगढी गुरहीचोकस्थित ओम आशा अस्पताल किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालनका लागि सूचिकृत गरिएको छ ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले अस्पतालको अनुगमन गरि सेवा सञ्चालनका लागि शुक्रबार एक समारोहबीच सो अस्पताललाई किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालनका लागि सूचिकृत गरिएको घोषणा गरेको छ ।

कार्यक्रममा महाशाखाका निर्देशक तारानाथ पोखरेलले ओमआशा अस्पतालका प्रमुख भूपेन्द्र चौधरीलाई सूचिकृत प्रमाणपत्र हस्तान्तरण गरे ।

किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी प्रावधानलाई नीजि क्षेत्रबाट परिवार योजना सम्बन्धी सुविधा प्रदान गराउने उद्देश्यले गेरुवा ग्रामीण जागरण संघले ओके स्वास्थ्य संस्थामार्फत ओम आशा अस्पतालमा एक वर्ष अघिदेखि सेवा शुभारम्भ गरेको थियो ।

अस्पताललाई सूचिकृत प्रमाणपत्र प्रदान गर्दै परिवार कल्याण महाशाखा निर्देशक पोखरेलले ओमआशा अस्पतालले किशोरकिशोरीमैत्री स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने सुझाव दिए । उनले भने– कतिपय अस्पतालहरूले क्षणिकका लागि कार्यक्रम सुरु गर्ने तर, दिगो हुने गरी काम नगर्ने गरेको पाइएको छ । उनले अस्पतालले किशोरकिशोरीमैत्री सम्बन्धी बनेको मापदण्ड पालना गरी सेवालाई प्रभावकारी रुपमा अघि बढाउन पनि सुझाव दिए ।

महाशाखा प्रमुख पोखरेलले हस्तान्तरण गरेको प्रमाणपत्रमा निर्देशिकाले तोकेबमोजिम ८० प्रतिशत मापदण्डहरू अस्पतालले पालना गरेको उल्लेख छ । उनले भने– केही मापदण्ड पुगेका छैनन् । त्यसैले तीन हप्ताभित्रै ती मापदण्डको पालना गरि अघि बढ्नुहोला ।

परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले नीजि क्षेत्रबाट पनि किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रदान गर्दा प्रभावकारी हुने भएकाले महाशाखाले सूचिकृत गरेको बताइन् ।

उनले ओम आशा अस्पतालले १५ देखि २४ वर्ष उमेर समुहका मात्र नभएर अन्य उमेर समुहका युवाहरूलाई पनि समेटेर कार्यक्रम अघि बढाउन सुझाव दिइन । उनले भनिन्– किशोरकिशोरी विवाहित र अविवाहित दुबै छन्, त्यसैले जतिसक्यो बढीभन्दा बढिलाई समेट्ने गरी सेवा प्रदान गर्नेतर्फ अस्पतालले ध्यान दिन जरुरी छ ।

उनले किशोरकिशोरीहरूलाई प्रजनन्बारे जानकारी नहुँदा समस्या भोगिरहेको बताइन । उनले भनिन्– गर्भनिरोधकका सेवाहरूबारे किशोरकिशोरीलाई खासै जानकारी हुँदैन । त्यसैले यसको जनचेतना फैलाउन महाशाखाले विभिन्न कार्यक्रमहरू गरिरहेको छ ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले किशोरकिशोरीहरूले खुलेरै परिवार नियोजनाका साधन किन्न सक्ने अवस्था नरहेको बताए । उनले भने– नजिकै अस्पताल वा स्वास्थ्य संस्था हुन्छन््, तर बाहिर हल्ला फैलिन्छ कि भनेर उनीहरूले त्यहाँबाट परिवार नियोजनका साधन खरिद गर्दैनन । जसले गर्दा उनीहरूमा जोखिम बढेको छ ।

उनले अस्पताल र स्वास्थ्य संस्था पनि किशोरकिशोरीमैत्री हुन आवश्यक रहेको सुझाव दिए ।

पिएसआइका प्रादेशिक म्यानेजर सन्तोष महतोले संस्थाले परियोजना अन्र्तगत सुदूरपश्चिमका आठ र लुम्बिनीका आठ गरी १६ वटा संस्थामार्फत किशोरकिशोरीमैत्री सेवा सञ्चालन भइरहेको बताए । उनले परियोजनाअन्र्तगत स्वास्थ्य संस्थामा निःशूल्क परिवार नियोजनका साधन वितरणसंगै दक्ष स्वास्थ्यकर्मीहरूबाट प्रजनन स्वास्थ्यका सुविधा पनि प्रदान गरिरहेको बताए । उनले परियोजनाअन्र्तगत दौतरी मिटिङ, विद्यालयमा स्वास्थ्य कार्यक्रम लगायतका गतिविधी पनि गरिरहेको बताए ।

गैरुवा संस्थाका कार्यक्रम व्यवस्थापक यफु केसीले परियोजना अन्र्तगत परिवार योजनाको परामर्श सेवा, आईयूसिडी, इम्प्लान्ट, डिपो र पिल्स निशूल्क उपलब्ध गराइरहेको बताए । उनले परियोजना शुरु भएदेखि सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सय बढीले सेवा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार