७ बैशाख २०८१, शुक्रबार

अटेर गरे कारबाही



हामीले गत चैतको शुरुदेखि बैशाख १ गतेसम्म कैलालीमा आठ हजार पाँच सय ७५ जनाको एन्टिजेन परीक्षण गरिसकेका छौं । त्यसमध्ये पाँच सय ११ कोरोना पोजेटिभ पुष्टि भएको छ ।

खगेन्द्रप्रसाद रिजाल
प्रमुख जिल्ला अधिकारी, कैलाली

कोरोना संक्रमणको हट स्पटका रुपमा रहेका भारतको महाराष्ट्र मुम्बई, नयादिल्ली, गुजरात, र पञ्जाबाट घर फर्किएका नेपालीहरूलाई हामीले एन्टिजेन परीक्षण गर्ने गरेको छौं । उनीहरूसंगै खाने, संगै सुत्ने गरेकालाई पनि हामीले एन्टिजेन परीक्षण गर्ने गरेको छौं । त्यस बाहेकका ठाउँबाट घर फर्किका नेपालीहरूलको ज्वरो नाप्ने र ज्वरो आएका, रुघा लागेका, सिगान बग्ने लक्षण भएकाहरूको कोरोना टेष्ट गर्ने गरिएको छ । उनीहरू मध्ये कोरोना पोजेटिभ भएर आएकालाई धनगढी उपमहानगरपालिकाले व्यवस्थापन गरेको कनरी आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ । १० दिन भएपछि पुनः टेष्ट गरेर नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको छ । १० दिन अगावै घर जान चाहनेलाई त्यहीबाट ग्रुप बनाएर छुट्टै गाडीको व्यवस्था गरेर होम आइसोलेशनमा जाने गरी पठाउने गरिएको छ । कोरोना पोजेटिभ भएकामध्ये ३४ जना अहिले कनरीको आइसोलेशनमा छन् । बाँकी निको भएर र होम आइसोलेशनमा बस्ने गरी गएका छन् । अस्ति केही दिन किटको अभाव हुन्छ कि भन्ने थियो । अहिले किटको अभाव पनि छैन । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट पनि किट पठाएको छ । युएनडिपिले पनि सहयोग गरेको छ ।

प्रदेश संक्रमण व्यवस्थापन समिति (पिसिसिएमसि) र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको पनि बैठक गरी भिडभाड नगरौं, मास्क लगाएर मात्रै हिंडौं, सेनिटाइजर प्रयोग गरौ र भौतिक दुरी कायम गरौं भनिरहेको अवस्था छ । यो कुराको सूचना पनि निकालेका छौं । सूचना पालन भएन भने संक्रामक रोग नियन्त्रण ऐन बमोजिम कारबाही हुन्छ पनि भनेका छौं । त्रिनगर भन्सार नाका र खक्रौला भन्सर नाकामा हेल्थ डेस्क राखिएको छ । दुई वटै हेल्थ डेस्कबाट नेपाल भित्रिनेहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । भारतबाटआउनेहरूलाई प्रति व्यक्ति पाँच वटा मास्क पनि वितरण भइरहेका छ । उनीहरूलाई स्वास्थ्यकर्मीले घर जाँदा मास्क लगाएर जान र घर गएर १० दिनसम्म छुट्टै बस्न सुझाव दिइरहेका छन् । १० दिनपछि कुनै पनि लक्षण नदेखिएपछि मात्रै परिवारसंग हेलमेल गर्ने गरी सम्झाई बुझाई पठाउने गरिएको छ । मास्कका साथै साथै उनीहरूलाई कोरोना संक्रमणबाट जोगिने सूचना लेखिएको पम्पलेट पनि दिन्छौं । भारतबाट आएर काठमाडौं जानेलाई पनि एयरपोर्टमा हेल्थ डेक्स राखेर परीक्षण गर्ने गरिएको छ ।

बिसु पर्व सकिएपछि मान्छे आउने क्रम पनि कम हुन्छ कि भन्ने अनुमान छ । कनरी आइसोलेशनमा नअट्ने अवस्था आएमा कवर्ड हल, नगरपालिका र स्थानीय विकास मन्त्रालयबाट आइसोलेशनको लागि स्थान माग्ने निर्णय गरेका छौं । हामीले त्यसका लागि पत्राचार पनि गरिसकेका छौं । जिल्लाका स्थानीय तहहरूलाई पनि स्कुल बाहेकका आइसोलेशन केन्द्रहरूलाई तयारी अवस्थामा राख्न भनेका छौं । हामीले तयारी गरिसकेको हुनाले मानिसहरूलाई आइसोलेशनमा राख्न तत्काललाई अप्ठेरो पर्दैन ।

ट्राफिक प्रहरी, नेपाल प्रहरीलाई हामीले दैनिक बिहान, दिउँसो र साँझ ‘भिडभाड नगरौं, मास्क लगाउन हिंडौं, मास्क नलगाएमा कारबाही गरिन्छ’ भनेर माइकिङ गर्न लगाएका छौं । आजदेखि रेडक्रससंग पनि त्यस खालको चेतनामुलक कार्यक्रम गर्नका लागि कुरा भएको छ । रेडक्रसले मास्क वितरण गर्ने काम पनि गरिरहेको छ । पहिलो पटक मास्क नलगाउनेलाई मास्क दिने, लगाउन लगाउने काम गरिरहेका छौं । पछि चाँही अटेर गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार ठाउँका ठाउँ कारबाही पनि गर्छौं । अहिले हामीले सब समितिहरूलाई बोलाएर बसका स्टाफ र यात्रुहरूलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न, मास्क र सेनिटाइजर व्यवस्था गर्न भनेका छौं । म आफै पनि राति ८ बजे त्रिनगर भन्सारमा गएर अनुगमन गरेको छु । त्यहाँ पनि कतिपयले मास्क नलगाएरै आइरहेको देखियो । मैले नै उनीहरूलाई मास्क लगाउन अनुरोध गरे । पहिलो कुरा सचेत गराउने नै हो । त्यति गर्दा गर्दै पनि भएन भने ऐन बमोजिक ठाउँका ठाउँ जरिवाना गर्ने व्यवस्था अनुसार कारबाही हुन्छ ।

तत्काल लकडाउन गर्नका लागि केन्द्रिय सरकारले पनि सोचिरहेको अवस्था छैन । खासगरी कोरोनाको न्यु भेरिएन्ट बालबालिकाहरूलाई छिटो संक्रमण भइरहेका देखिएको छ । हालसम्म संक्रमित मध्ये १० प्रतिशत बालबालिका छन् । त्यही भएर विद्यालयहरूलाई बैकल्पिक विधिबाट सञ्चालन गर्ने कि भनेर छलफल भइरहेको छ । हामीले पनि विद्यार्थीको बारेमा सोच्नै पर्छ । ‘मर्नु भन्दा बौलाउनु बेश’ भने झै तत्काल शिक्षा भन्दा पनि ज्यान जोगाउने महत्वपूर्ण कुरा हो । त्यही भएर हामीले यहाँका प्याब्सन, एनप्याव्सन र जिल्लाका शिक्षा समन्वय ईकाईसंग छलफल गरिरहेका छौं । एक दुई दिनमा यसको पनि निचोड निस्किन्छ । पूर्ण लकडाउन भन्दा पनि अहिले हामीले सूचना निकालेर राति ९ बजेपछि रात्रीकालीन व्यवसायहरू नखोलौं भनेका छौं । रात्रिकालीन लकडाउन गर्न सकिन्छ तर पूर्णकालीन लकडाउन हुन्छ भन्ने मलाई लाग्दैन ।

रिजाल कैलाली प्रमुख जिल्ला अधिकारी हुन ।

प्रस्तुती/तस्वीर: मुकेश चौधरी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार