१० श्रावण २०८१, बिहीबार

फेरि बढ्यो कोरोना महामारी



भारतबाट स्वदेश फर्किने नेपालीहरूको संख्यामा बृद्धि, सात जनामा कोरोना पुष्टि

धनगढी । कञ्चनपुरको गौरिफण्टा नाकामा हेल्थ डेस्क रहेको छ । भारतका विभिन्न शहरमा रोजगारी गर्ने नेपालीहरू स्वदेश फर्किने क्रममा स्वास्थ्य परीक्षण गर्न स्थापना गरिएको सो हेल्थ डेस्कमा पछिल्लो समय परीक्षण गराउनेहरूको संख्या निकै कम भइसकेको छ । भारतका विभिन्न राज्यमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वदेश फर्किरहेकाहरूमध्ये धेरैजसो नेपालीहरू परीक्षणको दायरामा आएका थिएनन ।

कञ्चनपुरका पुनर्बास नगरपालिका स्वास्थ्य शाखाका अहेव गणेश साउदले भने– सिमा नाकामा व्यवस्थित नहु“दा स्वेदश फर्किने धेरैजना नेपालीहरूको परीक्षण हुन सकेको छैन ।

उनका अनुसार पुनर्बास नगरपालिकाबाट सिमानाकाको हेल्थडेस्कमा दुई जना मात्र कर्मचारी खटिएका छन् । स्थानीय प्रशासनले सहयोग गरेको छैन । सिमानाकामा सुरक्षाकर्मीहरू तैनाथ भएपनि मानिसलाई लाइनमा राखेर परीक्षण गर्ने काम भएको थिएन ।

गत वर्ष पहिलो लहरको कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै भारतका विभिन्न शहरबाट गौरिफण्टा नाका भएर स्वेदश फर्किने नेपालीहरूलाई विना चेकजाँच प्रवेश गर्न दिइएको थिएन । अहिले जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह र प्रशासनबीचसमन्वय नहुँदा समस्या देखिएको उनले बताए । उनले भने– कोही कोरोना भाइरस परीक्षण गर्ने कहाँ हो ? भनेर आफै आउँछन् । कोही चेकजाँच गर्न अटेर गर्छन ।

उनले स्थानीय प्रशासनले कोरोना भाइरस परीक्षणलाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्ने बताए ।

स्वास्थ्य नाकामा कैलाली जिल्ला स्वास्थ्य कार्यालयले चार जना कर्मचारी खटाएको छ भने पुनर्बास नगरपालिकाले दुई जना खटाएको छ । यस वर्ष चैत ५ गतेदेखि भारतका विभिन्न शहर, राज्यबाट नेपाल फर्किने सुदूरपश्चिमबासीहरूको संख्या बढ्दै गएको छ । गौरिफण्टा नाकाबाट चैत्र ५ गतेदेखि ९ गतेसम्म एक हजार पाँच सय ८८ जना प्रवेश गरिसकेका छन् । सिमानाकामा स्वास्थ्यकर्मीहरूले ज्वरो जाँच गर्ने ‘गन’ ले परीक्षण गरिरहेका छन् । कसैमा संकास्पद देखिएमा ऐन्टीजेन्टबाट परीक्षण गरिदै आएको छ ।

गौरिफण्टा नाकामा तीन दिनयता एन्टीजेन्टबाट परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जनाइएको छ । मंगलबार मात्रै ९० जनाको एन्टीजेन्ट परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकामा सोमबारसम्म एन्टीजेन्ट परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

सिमानाकामै रहेको धनगढी उपमहानगरपालिकाको हेल्थ डेस्कले भने अहिले कुनै भूमिका पाएको छैन । गत वर्षसम्म त्रिनगर नाका कैलाली जिल्ला प्रशासन मातहत रहेको थियो । भारतबाट आएका व्यक्तिहरूलाई परीक्षण प्रवेश गरेर प्रवेश गराउने गरि धनगढी उपमहानगरपालिकाले भूमिका निर्वाह गरेको थियो ।

भारतका विभिन्न शहरबाट त्रिनगर नाकाहुदै स्वेदश फर्किएका उनीहरूलाई क्वारेन्टाइनमा व्यवस्थित गर्ने, संक्रमितहरूलाई आइसोलेसनमा राख्ने लगायतका काममा स्थानीय तहहरूले पहल गरेका थिए । तर, अहिले कतै पनि क्वारेन्टाइन र आइसोलेसन रहेका छैनन् । आइसोलेसन नहुँदा संक्रमण पुष्टि भएका व्यक्तिहरू लामो यात्रा गरेर होम आइसोलेसनमा बसिरहेका छन्् ।

कैलाली जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले स्वास्थ्य कार्यालयले गर्नुपर्ने जिम्मेवारीमा कुनै कमीकमजोरी नरहेको बताए । उनले भने– हामीले सिमााकामा कर्मचारी खटाइसकेका छौं । स्थानीय प्रशासनलाई पनि सहयोग गरिदिन भनी पत्राचार र आग्रह गरिसकेका छौं । तर, अहिलेसम्म सुरक्षाकर्मीबाट राम्रो सहयोग पाइएको छैन ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बन्द रहेका आइसोलेसनलाई सञ्चालनमा ल्याउन स्थानीय तहहरूसंग अनुरोध गरिएको बताए ।

उनले भने– दोस्रो चरणको कोरोना भाइरस संक्रमण छिट्टै सर्ने गर्छ । यसको जोखिमलाई फैलिन नदिन सबैले पूर्वसावधानी अपनाउन जरुरी छ ।

प्रदेश स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले विश्व स्वास्थ्य संगठनले बनाएका मापदण्डहरूलाई आम सर्वसाधारणहरूले पालना गर्न अनुरोध गरे ।

फेरी असहज बन्यो सिमानाका

गत वर्ष विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न मुलुकभर चासो बढिरहेका बेला सबैभन्दा पहिले कञ्चनपुरमा बन्दाबन्दी (लकडाउन) भएको थियो ।

भारतबाट कोरोना कहरको त्रासदीबीच नेपालीहरू स्वदेश फर्किरहँदा नेपालका पश्चिमी सीमा नाकाहरू व्यवस्थापनका लागि गत वर्ष चैत १० गते पहिलोपटक कञ्चनपुरमा स्थानीय प्रशासनले लकडाउन गरेको थियो । मुलुकभर भने चैत ११ गतेदेखि लकडाउन भए पनि यहाँ एक दिन अगावै त्यो लागू भएको थियो । त्यसयता सुनसान बनेको गड्डाचौकी नाकामा पुनः कोरोनाको त्रास देखिन थालेको छ ।

कोरोना भाइरस संक्रमण कम भएर मुलुकमा अवस्था सामान्य भइरहेका बेला पनि यहाँको गड्डाचौकी नाकामा आवागमन केही सहज भए पनि पूर्णरुपमा सञ्चालन आउन सकेको छैन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले लकडाउनको एक वर्ष बितिसक्दा पनि नाका सहज हुन नसकेको बताए ।

‘केही समयअघि मात्रै स्थानीय प्रशासनले भारतीय नागरिकलाई आवागमनका लागि सहज गरे पनि सवारी साधन अझै सीमानाकामा निर्वाध रुपमा सञ्चालन हुन सकेको छैनन्’ अध्यक्ष मल्लले भने– भारतमा कोरोना बढिरहेकाले अझै सीमामा हामीले पनि सतर्कता अपनाउनु आवश्यक छ ।

नाका सहज नहुँदा यहाँको होटेल व्यवसाय, यातायात सेवा र व्यापार व्यवसाय प्रभावित बनेको छ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतका विभिन्न शहरमा पुनः कोरोनाका बिरामीहरू बढ्न थालेपछि सुदूरपश्चिममा नेपाल–भारत सीमा क्षेत्रमा कोरोना जाँचलाई अघि बढाएको छ । ‘केही दिनअघि गड्डाचौकी नाकामा पनि कोरोना नमूना परीक्षण गर्दा पोजेटिभ देखिएको छ’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भने– भारतमा संक्रमित क्षेत्रबाट आएका र शंकास्पद देखिएका व्यक्तिहरूको नाकामै अहिले कोरोना परीक्षण गरिरहेका छौँ ।’

उनले केन्द्रबाट पनि स्वास्थ्य सतर्कता अपनाउन दिएको निर्देशन बमोजिम यहाँका स्थानीय प्रशासन, स्वास्थ्य संस्था र पालिकाहरूलाई पत्राचार गरिने बताए । ‘हामीसित आठ हजार किट कोरोना परीक्षणका लागि मौज्दात छ’, कोभिड–१९ सम्पर्कव्यक्ति जोशीले भने– स्वास्थ्य सतर्कताका लागि मास्क, स्यानिटाइजरहरू लगाउँनु जरुरी छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा डेढ लाख जनालाई कोरोनाको खोप लगाइएको थियो । ‘पोजेटिभ देखिएकालाई महाकाली अस्पतालमा व्यवस्थापन गरेका छौँ’, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने– हालसम्म पछिल्लो समय भारतबाट स्वदेश फर्किने चार जनामा कोरोना देखिएको छ । उनले स्थानीय प्रशासनसित सीमानाकामा सतर्कता अपनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार