७ कार्तिक २०८१, बुधबार

नेकपा स्थानीय तहसम्म चिरा पर्दै



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर स्थानीय तहसम्म पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा ओली समुह र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ । विभाजित समुहहरुले औपचारिक रुपमा छुट्टै पार्टीको मान्यता भने पाइसकेका छैनन्, तर पार्टीको तल्लो तह (स्थानीय तह) सम्म विभाजन हुने क्रम देखिएको छ ।

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरु मध्ये नेकपाले ४२ वटा स्थानीय तहमा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष जितेका छन् । त्यस्तै, सात वटा स्थानीय तहमा प्रमुख÷अध्यक्ष र आठ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।

नेकपाले प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष जितेका ४२ वटा स्थानीय सरकारमा नेकपा विभाजनको प्रत्यक्ष असर परेको छ । भने नेकपाको सबै स्थानीय तहका पार्टी कमिटीमा विभाजनको असर परेको छ ।

नेकपाबाटै जितेका भए पनि प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष फरकफरक समुहमा आवद्ध भएपछि स्थानीय सरकारको कामकाजमा नै प्रत्यक्ष प्रभाव परिरहेको छ ।

स्थानीय विकास तथा सेवा प्रवाहका लागि नागरिकको सबै भन्दा नजिकको सरकार रुपमा रहेको स्थानीय तहमा पार्टी विभाजनको असर पर्न थालेपछि सेवाग्राही मर्कामा पर्नुका साथै विकास निर्माणको काम पनि प्रभावित भएको छ ।

नेकपाबाटै जिते पनि प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष फरक फरक गुटमा रहेको कारण स्थानीय तहको निर्वाचन भएदेखि नै केही स्थानीय तहमा समस्या बढिरहेको थियो । झन् अहिले नेकपामा आएको विभाजनले समस्या दोब्बर बढेको छ ।

स्थानीय तहका प्रमुख वा अध्यक्ष र उपप्रमुख वा उपाध्यक्ष मिलेर काम गरिरहेको स्थानीय तहमा उनीहरुले एउटै गुट रोजेको पाइएको छ भने शुरुदेखि नै मनमुटाव देखिएका स्थानीय तहमा उनीहरु अलग अलग समुहमा आवद्ध भएका छन् ।

कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौवा थारु नेकपाको प्रचण्ड–माधव समूहमा लागेका छन् । त्यस्तै, चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर र उपाध्यक्ष दिपा देवी साउँद प्रचण्ड–माधव समुहमै लागेका छन् । त्यस्तै, शुरुदेखि मिलेरै काम गरिरहेका गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवा र उपप्रमुख अञ्चला चौधरी ओली समुहमा लागेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिकामा प्रमुख र उपप्रमुख बीच शुरुदेखि नै निकै मतभेद रहँदै आएको छ । उनीहरुबीचको विवाद केही महिनाअघि सतहमै देखापरेको थियो । एकआपसमा बोलचाल नै बन्द हुने अवस्था सिर्जना भएको थियो । यद्दपि, नेकपा विभाजन हुनुअघि घोडाघोडी नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै जना प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर थिए । पार्टीमा विभाजन आएपछि नगर प्रमुख ममताप्रसाद चौधरी ओली समुहबाट केन्द्रिय सदस्य बनाइएका छन् । भने उपप्रमुख प्रेमकुमारी थापा ओली समुह छोडेर प्रचण्ड–माधव समूहमा लागेकी छन् ।
त्यस्तै, गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँद ओली पक्षमा गएका छन् । भने उपप्रमुख रत्ना कडायत प्रचण्ड–माधव समूहमा रहेको नेकपा (प्रचण्ड–माधव समूह) का कैलाली जिल्ला अध्यक्ष दीर्घ बहादुर सोडारीले बताए ।

जिल्ला अध्यक्ष सोडारीका अनुसार लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाइँ प्रचण्ड–माधव समूहमा छन् भने उपप्रमुख टीका देवी थापाले ओली पक्ष रोजेकी छन् ।
त्यस्तै, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी प्रचण्ड–माधव समूहमा आवद्ध भएका छन् भने उपप्रमुख ओली पक्षमा आवद्ध भएकी छिन् ।

त्यस्तै, मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले ओली पक्ष रोजेको छन् भने उपाध्यक्ष पुजा बुढा प्रचण्ड–माधव समूहमा रहेकी छिन् । यी स्थानीय तहहरुमा प्रमुख वा अध्यक्ष र उपप्रमुख वा उपाध्यक्षबीच शुरुदेखि नै चर्का मतभेद रहँदै आएको देखिएको थियो ।

यसैगरी, नेकपाले प्रमुख मात्रै जितेको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र बहादुर रावलले ओली पक्ष रोजेका छन् भने नेकपाले उपाध्यक्ष मात्रै जितेको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष भगवती डगौरा थारु प्रचण्ड–माधव समूहमा आवद्ध भएकी छिन् ।

कैलाली जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर थापा र उपप्रमुख सुन्दरी चौधरी सहितका सबै सदस्यहरु प्रचण्ड–माधव समूहमा लागेका छन् ।

कैलाली जिल्लाका स्थानीय तहका पाँच जना प्रमुख र तीन जना उपप्रमुख ओली पक्षमा देखिएका छन् भने चार जना प्रमुख र छ जना उपप्रमुख प्रचण्ड–माधव समूहमा आवद्ध भएका छन् ।
जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरु समेत जोड्दा प्रचण्ड–माधव समूहमा कैलालीका धेरै जसो जनप्रतिनिधि प्रचण्ड–माधव समूहमा देखिन्छन् ।

त्यसैगरी, डडेल्धुरा जिल्लाका तीन स्थानीय तहमा प्रमुख र एक स्थानीय तहमा उपप्रमुख नेकपाले जितेको दुई जना प्रमुख (नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्ट र अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट) प्रचण्ड–माधव समूहमा देखिएका छन् । भने अमगरगढी नगरपालिकाका प्रमुख विपिन ओझा तटस्थ बसेका छन् । भने उपप्रमुख संगीता भण्डारी पनि अहिलेसम्म कुनै पनि समुहमा खुलेकी छैनिन् ।

त्यसैगरी, बैतडीका छ स्थानीय तहमा चार प्रमुख र छ जना प्रमुख नेकपाले जितेकोमा दुई प्रमुख र दुई उपप्रमुख प्रचण्ड–माधव समूहमा देखिएका छन् भने एक जना प्रमुख, दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की मात्रै ओली पक्षमा देखिएका छन् ।

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द र पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष विना भट्ट, पुर्चौडी नगरपालिकाकी उपप्रमुख जयन्ती बम, सुर्नया गाउँपालिकाका उपाध्यक्ष लिला विष्ट र शिवनाथ गाउँपालिका उपाध्यक्ष कुश्मा चन्द ततस्थ देखिएकी छन् ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्र बोहरा, उपाध्यक्ष पार्वती राना, दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐर र पुर्चौडी नगरपालिका प्रमुख रणबहादुर कुँवर प्रचण्ड–माधव समूहमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार