४ जेष्ठ २०८१, शुक्रबार

कोरोना महामारीमा पनि चम्केको टपरी उद्योग




फुलवारी(कैलाली) / संसारभरका सबै खालका उद्योग र धन्दाहरु कारोना महामारीले गर्दा सुस्तरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको फुलवारी दुना,टपरी उद्योगमा भने कामको चापाचाप छ ।

त्यहाँ हरेक समयमा महिलाहरु टपरी बनाउने व्यस्त हुन्छन् । सो उद्योगकी सञ्चालक भावना पुलामीगरका अनुसार महामारीले अरु भाडामा असुरक्षित भन्दै दुना, टपरी किन्नेको संख्या बढ्न थालेको छ ।

पहिले टपरी कोही किन्न मान्दैन थिए तर अहिले माग निक्कै छ भावनाले भनिन लकडाउनमा सबै कारोवार लक भए हामीले भने त्यो बेला समेत धेरै टपरी बनाएका थियौ ।

तीन वर्ष टपरीको बारेमा हल्ला गरेपछि अहिले टपरी उद्योगले कारोवार बढ्न थालेको छ उनले सुनाइन फाइबर भन्दा आर्गेनिक सालको पातको टपरीमा खाने कुरा खाँदा सजिलो हुन्छ भन्ने सम्झाउन सकेपछि अहिले माग पुगाउनै गाह्रो छ ।

आजभोलि म म, चाउमिन, अरु खालका नास्ता खाना र पूजाआजाका लागि समेत टपरी प्रयोग हुने गरेको छ उनले भनिन शुरुमा हामीलाई कसैले पत्याएनन् पत्याउनेको नाम औलामा गन्न सकिने अवस्थामा छ तर अहिले मान सम्मान पाएका छौ, हाम्रो उद्योग हेर्न धेरै मानिस आउछन् पनि ।

अहिले घरको सबै खर्च यसैबाट धानेकी छु काठमाडौ, डडेलधुरा,महेन्द्रनगर, धनगढी र फुलवारीका विभिन्न व्यवसायीले अहिले हाम्रो टपरी लैजान थालेका छन् उद्योगकी सञ्चालिका भावनाले भनिन
अरुको त के कुरा खाडीमा गएर कमाइरहनु भएका श्रीमानले समेत टपरीसितै विहे गर, मैले डिभोर्स गरे भनेर दुईपटक फोनमा भन्नुभयो ।

भावनाले आफ्नो विगत सुनाउदै भनिन , जव महोत्सवहरुमा म उद्योगीकारुपमा सम्मानित हुन थाले त्यसपछि श्रीमान मेरो काममा अलिकति सकरात्मक हुनुभएको छ । तर पनि नेपाल आएपछि आफ्नो घरमा म अरु नै व्यसाय गर्छु भन्नुहुन्छ त्यसो गर्नुभयो भने म अर्को ठाउँमा उद्योग खोल्छु उनले गर्वका साथ भनिन हामी म अव यो व्यवसायमा रमाइ सकेका छौ ।

वातावरण र स्वास्थ्यमा कुनै खालको असर नपार्ने भएपछि आजकल जताततै टपरी रुचाउन थालिएको छ उनले भनिन पहिलो वर्ष घाटा भएन दोस्रोमा दुई लाख जति बचत भयोे अहिले त ३÷४ लाखको टपरी नै गोदाममा छ ।

पछिल्लो पटकको सचेतनाले आजकल फाइवरका भाडो भन्दा महंगो पर्ने भए पनि टपरी किन्नेहरुको संख्या बढ्दै गएकोमा भावना खुसी छिन् ।

अहिले भावनाको उद्योगलाई वडादेखि प्रदेश सरकारसम्मले सहयोग गरेका छन् । भावनाका अनुसार नगरपालिका, वन डिभिजन कार्यालयले समेत छुट्टाछुट्टै मेसिन किनिदिएका छन् ।
उनले नवलपरासीमा टपरी बनाउने काम गरेर आएकी साथीको प्रेरणाले टपरी उद्योगमा हात हालेकी थिइन ।

हामीले विदेश जानु भन्दा त केही गरेर बस्नुपर्छ दिनभर समय खेर फाल्ने महिलालाई पनि काम दिनुपर्छ भन्ने सोचेर भावनाले टपरी बनाउनु थालेको उनले बताइन ।

फुर्सदको समयमा टपरी उद्योगमा आउने महिलाहरु कसैले मेसिनमा साँचो अनुसारको दुना, टपरी बनाउने गरेका हुन्छन भने कोही दुना, टपरीमा सिन्का हालेर मिलाइरहेका हुन्छन् ।

अलिकति बलिया महिलाहरु जंगल गएर पात टिपेर ल्याउने गर्छन । भावनाले बुढापाका मेसिन चलाउन पनि नसक्ने र जंगलमा पनि जान नसक्नेलाई दुना, टपरीमा सिन्का हाल्ने काम दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार