२३ बैशाख २०८१, आईतवार

रोजगारी खोज्दै भारततिर



कोरोना प्रभावितलाई रोजगारी दिने सरकारी कार्यक्रम कार्यान्वयन भएनन्

भारत जानेहरु भन्छन्– स्वदेशमा रोजागरी पाइएन

धनगढी । भारतमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन तीब्र बन्दै गए पनि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जाने क्रम बढेको छ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पछिल्लो १० दिनको अवधिमा पाँच हजार तीन सय ९६ जना नेपालीहरु रोजगारीको खोजीमा बालबालिकासहित भारतका विभिन्न शहर गएका छन् ।

भारतमा अहिले दैनिक कोरोना संक्रमितको संख्या एक लाखको हाराहारीमा रहने गरेको छ । भारतमा कोरोना संक्रमण बढेपछि गत वर्ष चैत्र महिनादेखि नै भारतका विभिन्न शहरबाट नेपालीहरु घर फर्किने क्रम बढेको थियो । अहिले नेपालका विभिन्न जिल्लाबाट भारतका विभिन्न शहरमा रोजगारीको खोजीमा जाने क्रम फेरि बढेको छ ।

स्वदेशमा रोजगारीको अवसर नपाएपछि कमाउनका लागि भारततर्फ जान बाध्य भएको उनीहरुले बताए ।

कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी भन्सार नाका भएर दैनिक छ सय देखि नौं सय जना नेपालीहरु बालबालिका समेत भारतका विभिन्न शहर जान थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार पछिल्लो १० दिनमा दुई नाकाबाट तीन हजार चार सय १६ जना पुरुष, एक हजार एक सय ७५ जना महिला र छ सय १३ जना बालबालिका गरी पाँच हजार तीन सय ९६ जना नेपालीहरु भारत गएका छन् ।

यी नाकाबाट सुदूरपश्चिमेली मात्रै नभएर कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, दैलेख लगायतका जिल्लाका नागरिकहरु पनि भारत गइरहेका छन् । गड्डाचौकी भन्दा त्रिनगर भन्सार नाकाबाट भारत जाने नेपालीको संख्या ठूलो छ । (हेर्नुस् तालिका)

table

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा प्रवक्ता हिरालाल चौधरीका अनुसार त्रिनगर नाका कैलाली जिल्लाको रेखदेखमा रहेको बेलासम्म दैनिक २० देखि ४० जना नेपालीहरु रोजगारीका लागि भारत जाने गरेका थिए । पछिल्लो दिनमा यो संख्या बढेको छ । साउनदेखि नेपालीहरु भारत जान थालेको त्रिनगर नाका भदौं १० गतेदेखि कञ्चनपुरले रेखदेख गरिरहेको छ ।

स्थानीय र प्रदेश सरकारहरुले कृषि, उद्यम, स्वरोजगार, पुर्वाधार विकास लगायतका क्षेत्रमा रोजगारी दिने गरी योजना ल्याएका कार्यक्रमहरु कार्यान्वयन हुन नपाउँदै कोरोना प्रभावित नागरिकरु देश छोडेर भारत जान थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत महिना मात्रै कोरोना प्रभावितहरुको लागि कृषि कार्यक्रममा सहभागी हुन सूचना जारी गरेको छ ।

सूचनाका आधारमा केही व्यक्तिहरुले आवेदन फाराम पनि भरिरहेका छन् । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले विदेशबाट फर्केका र कोरोना प्रभावित जो सुकैले पनि फाराम भर्न सक्ने बताए ।

कृषि मन्त्रालयका अनुसार सो कार्यक्रमका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रालयका बरिष्ठ वागवानी अधिकृत गोकुलप्रसाद बोहराले यस कार्यक्रम अन्तरगत व्यवसाय गर्न चाहनेलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म अनुदान दिइने बताए ।

मन्त्रालयले साउन १७ गते तरकारी, च्याउ, फलफूल, नर्सरी तथा पुष्प खेती एवं मौरी, भेडाबाख्रा, बंगुर, गाईभैंसी, माछा पालन, मासु जन्य अन्य व्यवसाय लगायतका १० वटा व्यवसायका लागि आवेदन माग गरी सूचना जारी गरेको छ । सूचनामा ५० प्रतिशत मन्त्रालयले अनुदान दिने उल्लेख गरिएको छ ।

सामाजिक विकास मन्त्रालयमा “युवाको जवानी, प्रदेशको लगानी” कार्यक्रमका साथ युवा उद्यम कार्यक्रम सञ्चालन गर्न एक करोड ६० लाख रुपैयाँ छुट्याइएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वार्षिक कार्यक्रमहरुमा समेत विदेशबाट फर्केका तथा कोरोना प्रभावितहरुले स्वरोजगारका लागि अनुदान लिन सक्ने प्रदेश सरकारका अधिकारीहरु बताउँछन् ।

स्थानीय सरकारहरुले पनि यस वर्ष कोरोना प्रभावितहरुका लागि रोजगार सृजना गरी आयआर्जनमा सहयोग पु¥याउने गरी प्राथमिकताका साथ कार्यक्रम ल्याएका छन् । तर ति कार्यक्रमहरु कार्यान्वयनको शुरुवाति चरणमै छन् ।

कोरोनाका कारण विदेशबाट फर्किएका नेपालीहरुले फेरि पनि विदेश जान नपरोस् भनि ल्याइएका कार्यक्रम कार्यान्वयन हुन नपाउँदै घर फर्किएका नेपालीहरु रोजगारीका लागि भारत जान थालेका छन् । सुदूरपश्चिम प्रदेशका धनगढीस्थित त्रिनगर भन्सार नाका, भीमदत्तनगरस्थित गड्डाचौकी नाकाबाट दिनहुँ सैयौंको संख्यामा नेपालीहरु बालबालिका सहित भारत जान थालेका छन् ।

सरकारले ल्याएका कार्यक्रमले सीमित व्यक्तिहरुलाई मात्र समेट्न सक्ने, समेटिएकालाई पनि सानो आकारमा सहयोग पुग्ने, आर्जन गर्न अझै केही महिना कुर्नुपर्ने र व्यवसायबाट तत्काल गुजारा चलाउन नसक्ने भएकाले पनि सरकारी कार्यक्रमको पछि नलागेर विपन्न नागरिकहरुले कोरोनाकै कहरमा पनि भारत जान थालेको विज्ञहरु बताउँछन् । सरकारले व्यवसायमा लगानी भएको रकमको ५० प्रतिशत मात्रै अनुदान दिने भएकाले पनि लगानी गर्न नसक्ने परिवारहरुले भारतको बाटो रोजेको विज्ञको भनाई छ ।

प्राध्यापक डाक्टर हेमराज पन्तले सरकारी सहायतका बारेमाा आमनागरिकलाई जानकारी नै नभएको बताए । सरकारहरुको बलियो उपस्थिति नदेखिएकाले सरकार भए/नभएको आमनागरिकलाई महसुस नभएकाले टिप्पणी गर्दै उनले भारतबाट कमाएर ल्याएको रकम सकिएपछि दैनिक गुजारा गर्न कसैको सहयोग नपाएकाले नेपालीहरु मृत्युको मुखमा गइरहेको विश्लेषण गरे । उनले नेपालीहरुलाई तत्कालका लागि गुजारा गर्ने व्यवस्था सहित व्यवसाय गर्न सहायता दिनुपर्ने बताए । ‘अहिले नेपालमा धेरै मानिस घरमा छन्, उनीहरुलाई सरकारी सहायताबारे जानकारी दिने सिस्टम पनि भएन,’ प्राध्यापक प्राध्यापक डाक्टर पन्तले भने– भारतीयले एक प्रान्तबाट अर्को प्रान्तमा नगइरहेको बेलामा नेपालीहरु भारत जानुले नेपालमा धेरै गरीवि र भोकमरी छ भन्ने देखाउँछ । सरकारले पहिले भोकबाट बचाउन काम गर्नुपर्छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ वागवानी अधिकृत बोहराले व्यवसाय शुरुवात गराउनका लागि अनुदान दिइरहेको बताए । उनले एकै पटक ठूलो रकम अनुदान दिंदा अनुदान खाने व्यवसाय निरन्तर नगर्ने गरेकाले ठूलो सहायोग शुरुमै गर्न नसकिने बताए । उनले व्यवसाय गर्नेहरुलाई अनुदान थप गर्दै जाने बताए ।

आइतबार मात्रै कञ्चनपुरका गड्डाचौकी नाका भएर १३ जना महिला, ५८ जना पुरुष र १४ जना बालबालिका सहित ८५ जना भारत गएका छन् ।

त्यस्तै कैलाली भन्सार नाका हुँदै ६५ जना महिला, ३४० जना पुरुष र ४१ जना बालबालिका सहित ४४६ जना भारततर्फ गएका छन्. ।

#epaper_29_bhadra

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार