१ जेष्ठ २०८१, मंगलवार

महाकाली अस्पतालको मुहार फेरिदै





महेन्द्रनगर / आमनागरिकले उपचार होला र ! भन्दै आशा नै मारिसकेको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अस्पताल सुधारोन्मुख बाटोमा अगाडि बढेको छ ।

प्रदेश संरचना बन्नुअघि महाकाली अञ्चल अस्पतालकारुपमा चिनिने सो अस्पतालको अवस्था कुनै समय यस्तो थियो कि नागरिकले त्यहाँ भन्दा छिमेकी देश भारत तथा स्थानीय क्लिनिकको बढी विश्वास गर्ने गर्दथे ।

सामान्य क्लिनिक जतिको पनि सेवा प्रवाह गर्न नसकेपछि अस्पताललाई रेफर सेन्टर समेत भन्ने गरिन्थ्यो । तर गत एकवर्ष यता सो अस्पताल सबै प्रकारको सेवा प्रवाह गर्न सक्षम भएको छ ।

२८ जना डाक्टरको दरवन्दी रहेको अस्पतालले कहिले पनि ९ जना भन्दा बढी डाक्टर पाउन सकेको थिएन । हाल दुई जना विशेषज्ञ डाक्टर दुई जना अर्थो, तीन जना गाइनो, दुई जना एमबिबिएस, एक जना प्याथोलोजी, एक जना एनेसथेसिया सहित अस्पताल विकास समिति र नेपाल सरकारका स्थायी तथा करार गरि २१ जना डाक्टरको टीम रहेको छ ।

हाल दैनिक रुपमा १५० को हाराहारीमा ओपिडी र २०० को हाराहारीमा ईमरजेन्सीका सेवाग्राही आउने गरेको अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले बताए ।

सो अस्पतालमा अहिले ५० शैया कोरोना सहित गरेर १५० शैया रहेका छन् । गत आर्थिक वर्षमा ३५ हजार ७८० जनाले ओपिडी सेवा लिएको सूचना अधिकारी भट्टले बताए । जसमा दुई हजार ३५५ जनाले सफल प्रसुती सेवा लिएका थिए ।

उनले गत वर्षमा कुनै पनि अप्रिय घटना नभएको भट्टले बताए । हाल हड्डी, सिएस, पाठेघर खस्ने समस्या, हाईड्रोसिल र हर्निया लगायतका बिरामी बढी आउने गरेको र सो समस्या भएका बिरामीहरुको सफल सल्यक्रिया समेत गरिएको छ ।

अस्पतालप्रति डाक्टर र सेवाग्राहीको विस्वास बढेको र यसलाई निरन्तरता दिइने अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले बताए । उनले भने–‘पहिले त डाक्टर आउन नमान्ने, डाक्टर आए पनि सेवाग्राही डाक्टरलाई विस्वास नगर्ने माहोल थियो, अहिले त्यो सुधार भएको छ ।’

आफूले डाक्टरहरुmाई काठमाण्डौमा हात जोडेर एकचोटी गएर त हेर्नुस भनेर डाक्टर ल्याउन सफल भएको उनले बताए । उनले भने –‘महाकाली अस्पतालमा गयो भने त करियरै बर्बाद हुन्छ भन्ने हल्ला थियो, अहिले यो हल्लालाई चिर्न सफल भएका छौ ।’

उहाँले भौतिक पूर्वाधार र उपकरण खरिदमा प्रदेश सरकारले सुरुदेखि नै लगातार सहयोग गरिरहेकोले पनि अस्पतालको सुधार गर्न सजिलो भएको बताए ।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष लिलाध्वज बस्नेतले समाजमा केही खराब तत्वका कारण सृजना भएको परिस्थितिबाट अस्पताल केहीमाथि उठेको आफूलाई पनि महसुश भएको बताए ।

अस्पतालमा गर्भवती जाँच गराउन आएकी भिनपा–३ तिलकपुरकी रजनी लुहारले अस्पताल आजभोलि राम्रो भएको सुनेर आएको बताउनुभयो । पहिले सानो केही चेकजाँच गर्नु परे पनि बाहिर क्लिनिकमा गर्नुपर्ने थियो, आजभोलि प्रगती गरेर भित्रै चेकजाँच गर्न पाउँदा एकदमै खुसी लागेको लुहारले बताए । उनले भने–‘अब त बच्चा पाउन गाह्रो हुँदा भारत अथवा सेती अस्पताल धनगढी जाुनपर्ने नहोस्, अर्काको मुख ताक्ने कामबाट मुक्ति पाउनुपर्छ । ’

अर्का सेवाग्राही शुक्लाफाँटा नगरपालिका–२ बन्साका सेवाग्राही नरेन्द्र साउँदले भने ‘मलाई यो अस्पताल भन्दा पनि सेती प्रादेशिक अस्पताल नजिक पर्छ, यो अस्पतालले सेवामा विस्तार गरेको सुनेर यहाँ उपचार गर्न आएको हुँ ।’ ‘मोटरसाईकल दुर्घटनामा परेर खुट्टामा चोट लागेर उपचार गर्न आउनु भएका उनले पहिले भन्दा त कति हो कति प्रगति भएको रहेछ’ भने ।

हाम्रो यो अस्पतालले आईसीयु सेवा शुरु गरेको थाहा पाएर खुशी लागेको कुरा बुवाको छातीको उपचार गर्न आएका भीमदत्त नगरपालिका–१८ का अमरबहादुर शाहीले बताए ।

पहिले उपचारका लागि अन्तै धाउने गर्थे हाल यसै अस्पतालमा आएर सुविधा लिने गरेको छु, बुवाको छातीमा समस्या छ यतैबाट उपचार गराउँदै छु नतिजा राम्रो पाएको छु गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार