२२ बैशाख २०८१, शनिबार

किसान नेता भीमदत्त पन्तको ६८औँ स्मृति दिवस आज



डडेल्धुरा । किसान नेता एवं शहीद भीमदत्त पन्तको ६८औँ स्मृति दिवस शनिबार मनाइँदैछ।

विविध कार्यक्रम गरी पन्तको सम्झनामा दिवस मनाउन लागिएको हो। किसान योद्धाका रुपमा चिनिने पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटि हत्या गरिएका थियो।

सोही सम्झनामा शहीद भीमदत्त स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउदै आएको छ। स्मृति दिवसको अवसरमा बिहान ७ बजे डडेल्धुरा बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ। यस्तै दिउँसो १ बजे अन्तरक्रिया र साँझ ७ बजे दिवप्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानका सचिव विरेन्द्र बस्नेतले जानकारी दिए।

केही वर्ष यतादेखि प्रतिष्ठानले नियमित रुपमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ। प्रतिष्ठानले लामो समयदेखि शहीद पन्तको स्मृति दिवस मनाउँदै आएको भएपनि वि.स.२०७२ फागुन १९ गते बुधबारका दिन मात्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रुपमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो।

को थिए भीमदत्त?

नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन्। उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक स्वभाव बढायो।

सामन्ती संस्कारकाविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि भीमदत्त पन्त नै थिए। ‘ठालु खान्ना आलु गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात भकारी फोड’ अभियान चलाएका थिए पन्तले। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम हो। ‘जसको जोत उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’ ‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार