७ कार्तिक २०८१, बुधबार

प्रदेशमा अझैं बनेन सम्भावित जोखिम नक्सांकन



धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हरेक वर्ष बाढिपहिरो लगायतका प्राकृतिक विपदका घटनामा बृद्धि भइरहे पनि प्रदेश सरकारले अहिलेसम्म विपद आउनुपूर्वका सम्भावित जोखिम स्थानको नक्सांकन गर्नसकेको छैन ।

विपदपूर्व जोखिम नक्सांकनले प्राकृतिक विपदको जोखिम रहेका जिल्ला, स्थान, वडा, टोल लगायतको पहिचान गरी वस्ती स्थानान्तरण, जोखिम नियन्त्रण तथा प्रतिकार्य लगायतका योजना तथा कार्यक्रम निर्माण गर्न मद्दत गर्दछ । तर, प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मै समेटेको यो कार्यक्रम अझैं कार्यान्वयनमा आउन सकेको छैन ।

प्रदेशको आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर रावतले चालू आर्थिक वर्षमै नक्सांकनको कार्य पुरा गरिने बताए । उनले भने– कोरोना महामारीका कारण गत आर्थिक वर्षमा कार्यक्रम प्रभावित भयो । यो वर्ष नक्सांकनको कार्य पुरा हुने छ ।

राष्ट्रिय आपतकालीन कार्यकञ्चालन केन्द्रले देशभरी डुबान, बाढी र पहिरोलाई समेटेर वडा, टोल तथा नदीको नामसहित नक्सांकन गरेको छ । आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला बाढी, पहिरो तथा डुबानको उच्च जोखिममा रहेको छ ।

केन्द्रका अनुसार सुदुरपश्चिम प्रदेशको कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३, ५, ६, र ७, घोडाघोडी नगरपालिका वडा नम्बर ५, ७, ११ र १२ र जानकी गाउँपालिका वडा नम्बर ९ बाढीको उच्च जोखिमा रहेको छ ।

त्यस्तै, कैलाली कै टीकापुर नगरपालिकाको वडा नम्बर ३, ७ र ९, भजनी नगरपालिकाको वडा नम्बर २, ३, ६, ८ र ९, गौरिगंगा नगरपालिकाका वडा नम्बर ७, धनगढी उपमहानगरपालिकाको वडा नम्बर ११, ८ र ३ पनि बाढीको जोखिम रहेका छन् ।

त्यस्ते, मोहन्याल गाउँपालिकाको वडा नम्बर ९ र १ तथा चुरे गाउँपालिका वडा नम्बर २ पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १, २, ८ र ९, शैल्यशिखर गाउँपालिका वडा नम्बर १, ४, ६ र ९, गोकुलेश्वर मालिकार्जुन गाउँपालिका वडा नम्बर १ र ८, मार्मा गाउँपालिका वडा नम्बर २ र ४, ब्यास गाउँपालिका वडा नम्बर २, ४ र ५, दुँहु गाउँपालिका वडा नम्बर ३ र ४, नौगाड गाउँपालिका वडा नम्बर ४ र ३ तथा अपिहिमाल गाउँपालिकाको वडा नम्बर १ र २ बाढी र पहिरोको उच्च जोखिम रहेको छ ।

त्यस्तै, बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २, ३, ६ र ८, पुर्चौडी नगरपालिका वडा नम्बर ८ र ९ र मेलौली नगरपालिका वडा नम्बर १ र ८ तथा सिगास गाउँपालिका वडा नम्बर ५, डिलासैनी गाउँपालिका वडा नम्बर १, ३ र ५, सैनागाउँ गाउँपालिकाको वडा नम्बर ६ एवं डोगडाकेदार गाउँपालिका वडा नम्बर ६, ३, ८, ५ र ६ बाढी र पहिरोको उच्च जोखिम रहेको छ ।

त्यस्तै, बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, ९, १० र ११, तलकोट गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५, मष्टा गाउँपालिका १, २, ३ र ४, खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ तथा थलारा गाउँपालिका वडा ९, ३, ४, ७, ८ र ९ बाढी र पहिरोको जोखिम रहेका छन् ।

त्यस्तै, बाजुरा जिल्लाको बडीमालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र ९, बुढीगंगा नगरपालिका वडा नम्बर १, २, ३, ४ ५, ६, ८ र १०, त्रिवेणी नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ९ तथा बुढीनन्दा नगरपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ र गौमुल गाउँपालिका वडा नम्बर १, २, ३, ५ र ६, खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५ र ६, जगन्नाथ गाउँपालिका वडा नम्बर १ र २, स्वामिकार्तिक गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ तथा हिमाली गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ६ वडा बाढी पहिरोको जोखिममा रहेका छन् ।

केन्द्रका अनुसार डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ३, ४, ७, ८ र ९ तथा शिखर नगरपालिकाको वडा नम्बर २, ५, ६, ७, ८, ९, १० र ११, पुर्वीचौकी गाउँपालिकाका वडा नम्बर ३ र ४, सायल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५, आर्दश गाउँपालिकाका वडा नम्बर ५ र ६, बोगटान गाउँपालिकाका वडा नम्बर १, २ र ७, बडीकेदार गाउँपालिकाका वडा नम्बर २ र ३ केआइसिंह गाउँपालिकाका वडा नम्बर ३ मा बाढी र पहिरोको जोखिम रहेका छन् भने पुर्वीचौकी गाउँपालिकाको वडा नम्बर ५ र बोगटान गाउँपालिकाका वडा नम्बर ४ र ५ डुवानको जोखिम रहेका छन् ।

त्यस्तै, अछामको कमलबजार नगरपालिकामा पहिरो, साफेबगर नगरपालिकामा बाढी तथा पहिरो र तुर्माखाद गाउँपालिकामा पहिरो तथा डुवानको जोखिम रहेका छन् ।

त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिकाको वडा नम्बर १ र २ बाहेक अन्य वडाहरु बाढी र पहिरो तथा गन्यापधुरा गाउँपालिका वडा नम्बर १, २ र ३ पहिरोको जोखिममा रहेका छन् ।

त्यस्तै, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १, ३, ४, ६, ८, ९ र १०, भीमदत्त नगरपालिका वडा नम्बर ३, ९, १०, ११, १२, १३ र १५, बेल्डाडी गाउँपालिका वडा नम्बर १,२, ३, ४ र ५, शुक्लाफाँटा नगरपालिका, बेल्डाडी गाउँपालिका, पुनर्वास नगरपालिका वेदकोट नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७, कृष्णपुर नगरपालिका वडा नम्बर १, ३, ४, ७, ८ र ९ मा बाढी तथा डुवानको जोखिममा रहदै आएका छन् ।

उद्दारका लागि प्रहरी

विपदबाट पीडित तथा प्रभावितहरुको उद्दारका लागि जिल्लादेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा तत्काल परिचालित हुने गरी आवश्यक संख्यामा प्रहरी खटाइएको छ भने सुदूरपश्चिम प्रदेशमा संघीय प्रहरी इकाईमा २५, प्रदेश प्रहरी तालिम केन्द्रमा ३०, प्रदेश सशस्त्र प्रहरी गण र प्रदेश दंगा नियन्त्रण प्रहरी गणमा ५०÷५० जना प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी मातहात प्रदेशमा दुई वटा रवर बोट रहेका छन् । तर, स्काभेटर, ह्विल लोडर, टन ह्विल लोडर लगायतका हेभि इक्यूपमेण्ट भने नरहेको जनाइएको छ ।

प्रदेशमा खोज तथा उद्दारका लागि आवश्यक सामग्री भने आवश्यक रहेको जनाइएको छ । प्रदेशमा सिएसएसआर (कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू) तीन सेट, एमएफआर तीन सेट, नदी उद्दारका लागि तीन सेट, फायर फाइटिङ तीन सेट, माउण्टेन हाइ एल्टीटुड एक रोप रेस्क्यू तीन सेट, डेड बडी म्यानेजमेण्ट तीन सेट आवश्यक रहेको उल्लेख छ ।

जनधनको क्षतिका घटनामा लगातार बृद्धि

यस वर्ष वर्षायाम शुरुभएदेखि अहिलेसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढी तथा पहिरो घटनामा बृद्धि आएको छ । भारी वर्षा तथा बाढी र पहिरोका कारण केहीको ज्यान गएको छ । दर्जन बढि घर पुरिएका छन् । केही जिल्लामा पहिरोबाट सडक भासिएका कारण यातायात अवरुद्ध भएको छ । खेतीयोग्य जमिन पुरिएका छन् ।

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा ६ वर्षीया बालिका र एक महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ ।

नौगाड गाउपालिका वडा नम्बर ६ परिगाउँका ४२ वर्षीया मानमती ठगुन्ना र सोही ठाउँका ६ वर्षीया बालिका आरती ठगुन्नाको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टले बताए ।

बाढी पहिरोको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गोकुलेश्वर र होपरीगाड प्रहरी चौकीबाट प्रहरी टोली, स्वास्थ्यकर्मी परिचालन भए पनि पहिरोमा पुरिएका दुबै जनाको जीवित उद्धार गर्न नसकिएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए ।

घटनामा सोही गाउँका अन्य केही घाइते भएका छन् । पहिरोमा पानमती धामी र २२ वर्षीय मोहना ठगुन्ना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याइएको छ ।

बाढीले नौगाड गाउँपालिका वडा नम्बर २ र ३ क्षेत्रका विभिन्न स्थानका चार पुल बगाएको छ । त्यस्तै, आठ वटा पानी घट्ट बगाएको स्थानीय सन्तोष ठगुन्नाले बताए ।

बाढीबाट परिगाउ क्षेत्रका १० घरमा क्षति पुराएको छ । दर्जनौ पशुचौपाया मरेका छन् । बाढीका कारण नदी किनारका दर्जनौ घर जोखिममा परेका छन् । शिक्षक शम्भुसिंह धामीले वडा नम्बर ६ को परिखोलामा रहेको आधारभूत विद्यालय पहिरोमा पुरिएको बताए ।

दार्चुलाको नौगाड गाउपालिका वडा नम्बर ४ मा असार १५ गते पहिरोमा पुरिएर बुवाछोराको ज्यान गएको थियो । सोही राती परेको भारी वर्षाका कारण एक बालिका र महिला पहिरोमा पुरिएका थिए ।

पहिरोले खलंगा–दल्लेख सडकखण्ड अबरुद्ध

भारी वर्षापछि बाढी पहिरोका कारण दार्चुलाको खलंगा–दल्लेख सडकखण्ड अवरुद्ध भएको छ ।

सदरमुकामदेखि नौगाड तथा मार्मा क्षेत्र जोड्ने खलंगा–दल्लेख सडकखण्ड बाढी पहिरोका कारण अवरुद्ध भएको छ । स्थानीयका अनुसार लास्कुखोलामा अहिलेसम्मकै ठूलो बाढी आएको छ ।

लास्कुखोला नजिकका केही घर जोखिममा परेका छन् । ढुङ्री साना जलविद्युत् परियोजनाको विद्युत् गृहभित्र समेत बाढी पसेको छ ।

बाजुरा । लगातारको भारी वर्षाका कारण बाजुराका अधिकांश बस्ती पहिरो र बाढीको उच्च जोखिममा परेका छन् ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ र २ वडाका केही बस्ती पहिरोका कारण विस्थापित भएका छन् । वडा नम्बर १ मका कुँडी र अम्कोट तथा वडा नम्बर २ को बजेडी, नडाङ, मुस्तोला, ताप्रीसेराका केही बस्ती विस्थापित भएको स्थानीय प्रशासनले जनाएको छ ।

आइतबार आएको अविरल वर्षाले नडाङ खेतकोट भएर बग्ने बग्ने पानीमूल र ठाडोखोला मिसिएको घट्टेखोलाको बाढीले ताँप्रीसेरा, मुसी र खर्रागाउका केही रोपनी खेतीयोग्य जमीन बगरमा परिणत भएको वडा नम्बर २ का वडाध्यक्ष हिरालाल थापाले बताए ।

आईतबार राति आएको भारी वर्षाका कारण बजेडीमा पहिरोका कारण छ परिवार विस्थापित भएको स्थानीय खड्कराज जोशीले बताए ।

त्यस्तै, सोही वडाको नडाङका १० परिवारलाई पहिरोका कारण एउटा विद्यालयमा सोरिएका छन् । बाढी र पहिरोले खेतीयोग्य जमीन बगाएको छ ।

ताँप्रीसेरा बजारमा बाढी पसेको छ । घट्टेखोलामा आएको बाढीले बजारमा निकै क्षति पुराएको व्यापारी गोपाल थापाले बताए ।

वर्षासँगै आएको बाढीले साँफे–मार्तडी सडकखण्डको घट्टेखोलामा निर्माण भएको पक्की पुल समेत बगाएको छ ।

साँफे–मार्तडी सडकअन्तर्गत धेरै ठाउँमा पहिरो आएर सोमबारदेखि यातायात पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएकोा छ ।

बझाङ । बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । सिँचाईका लागि निर्माण गरिएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आईतबार साँझ दुई जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तल्कोट गाउँपालिका वडा नम्बर ३ वस्तीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोकाया रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार