११ पुष २०८१, बिहीबार

कोरोना संक्रमण : लकडाउन, फ्रान्स र मेरो भोगाइ



–फ्रान्समा अनुमति विना बाहिर निस्केमा नेपाल र भारतमा जस्तो नागरिकले सुरक्षा अधिकारीको कुटपीट र दुव्यवहार भोग्नु पर्देन । तर उनीहरुले हाँसीहाँसी सजाय भने गराउछन् । पहिलो पटक लकडाउन उलंघन गर्नेलाई १३५, दोस्रो पटक १५०० यूरो तिराइन्छ । यो क्रम चौथो वा पाँचौ पटकसम्म दोहोरिदै गएमा पाँच हजार यूरो जरिवाना र छ महिनासम्म जेल सजाय हुन सक्छ । फ्रान्समा अहिलेसम्म झण्डै चार लाख बढीले माथि उल्लेखित विभिन्न खालका सजाय भोगिसकेको तथ्यांक छ ।

–फ्रान्स सहित अधिकांश युरोपमा नागरिकले स्वास्थ्य उपचारमा दुःख भोग्नु पर्देन । युरोपमा स्वास्थ्य, शिक्षा, रोजगारीको ग्यारेन्टी राज्यले लिन्छ । त्यसैले यहाँका नागरिक कोरोना संक्रमण भएपनि राम्रो उपचार पाउँछौ र बाच्ने छौ भन्नेमा ढुक्क छन् ।

म सन् १९९५ देखि प्यारीसमा बस्दै छु । नेपालमा मेरो घर नुवाकोट जिल्लामा हो । यहाँ म नेपाल बारे विभिन्न खालका कार्यक्रम आयोजना गर्ने, ट्रेकिङ, भाषा अध्यापन, अनुबाद, खानेकुरा लगायतका क्षेत्रमा काम गर्छु । म स्कुल पढ्दादेखि नै कुनै दिन फ्रान्सको राजधानी पुगेर नेपालको लागि केही गर्न चाहन्थे। त्यसैले प्यारीस आएपछिका अढाई दशक मैले फ्रान्सको इतिहासका साथसाथै भाषा, साहित्य र संस्कृति, कला, कूटनीति र राजनीति लगायत विभिन्न विषयको गहिराइमा पुगेर ढुकढुकी छाम्ने प्रयास गरेँ । यति लामो बसाईमा मैलै मानव जीवनले आजको जस्तो संकट भोग्नु परेको देखेको थिइन ।

यहाँ अहिलेसम्म एक लाख ६० हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएकोमा २१ हजार बढीको ज्यान गइसकेको छ । फ्रान्सका छिमेकी देशहरु इटाली र स्पेनभन्दा यहाँ कम भयावहको स्थिति छ । इटालीमा प्रभावितको संख्या झण्डै एक लाख ९० हजार पुग्न थालेकोमा २५ हजार बढीको ज्यान गइसकेको छ । स्पेनमा पनि प्रभावितको संख्या दुई लाख नघिसक्यो र मृत्यु हुनको संख्या २१ हजार भन्दा बढी छ ।

फ्रान्सका अरु छिमेकी जर्मनी, स्वीजरल्याण्ड र बेल्जियममा पनि कोरोनाको कहर नै छ । जर्मनीमा फ्रान्सभन्दा प्रभावितको संख्या थोरै छ र मृतकहरुको संख्या करीव चार गुणा कम छ । त्यहाँ डेढ लाख प्रभावित भएकोमा पाँच हजार जतिको ज्यान गएको छ । वेल्जियममा ४१ हजार प्रभावित छन भने छ हजारको ज्यान गइसकेको छ । स्वीजरल्याडमा पनि करिब ३० हजार प्रभावित भएर एक हजार पाँच सय जनाको मृत्यु भइसकेको तथ्यांक छ ।

जनवरीको तेस्रो हप्तामा फ्रान्सको लियोँ शहरमा युरोपकै पहिलो कोरोना संक्रमित बिरामी फेला परेको थिए। आज संक्रमण दर दिनानुदिन बढीरहेको छ । यदि यो क्रम यसरी नै बढ्दै जाने हो भने संसारभर अमेरिकापछि फ्रान्स अर्को बढी संक्रमित मुलुक नहोला भन्न सकिदैन ।

फ्रान्समा विद्यालय, विश्वविद्यालय, चलचित्र हल, व्यापारिक मल, नाचघर, सांस्कृतिक गतिविधीहरु र रेष्टुरेन्टहरु पालैपालो वन्द गर्दे विस्तारै पूर्णरुपमा ‘लकडाउन’ गरिएको हो । एक महिना अघि शुरु भएको लकडाउन निक्कै कडारुपमा अझै जारी रहेको अवस्था छ ।

गत मार्च १५ मा यहाँको स्थानीय चुनाव थियो । त्यति बेलासम्म यति धेरै गाह्रो होला भन्ने अनुमान गरिएन । त्यस्तो अनुमान हुन्थ्यो भने सायद चुनाव नै हुदैन थियो होला । पछि त्यो अवस्था बढेपछि १६ मार्चमा घोषणा गरेर १७ मार्च दिउँसो १२ बजेबाट लागू हुने गरी लकडाउन शुरु गरियो । यहाँ ३४,९६८ मेयरहरु चुनिन्छन् । कोरोनाकै कारण पहिलो चरणमा ५० प्रतिशत भोट ल्याउन नसेकेका करिब पाँच हजार मेयर छान्नका लागि फेरि चुनाव हुन सकेको छैन ।

चुनावअघि फेब्रुबरी १७ देखि २४ सम्म फ्रान्स र स्वीजरल्याडको सीमा क्षेत्रको म्युलुज शहरमा भएको एक धार्मिक कार्यक्रमपछि यहाँ धेरै संक्रमित बढेका हुन । त्यो कार्यक्रममा फ्रान्सको सबै जिल्लाबाट अनि इटाली, बेल्जियम, जर्मनी र स्वीजरल्याडबाट समेत आएका गरेर झन्डै तीन हजार भक्तजन र धर्म गुरुहरु जम्मा भएका थिए । त्यहाँ सहभागी भएका सीमा क्षेत्रका फ्रान्सेली र स्वीस नागरिकहरुमा कोरोना निक्कै वढी देखिएको छ ।

औषधि र मास्क अभाव

लकडाउनले आकाश र सडकमार्ग पुरै बन्द जस्तै छ । यद्यपी पेरिसको एउटा बिमानस्थल अत्यावश्यक उडान लगायत चीन र अन्य देशबाट मास्क, औषधि लगायत अस्पतालहरुलाई आवश्यक पर्ने बिबिध सामाग्रीहरु ल्याउनका लागि बेलाबेला खोल्ने गरिन्छ भने दोस्रो बिमानस्थल ६ अप्रिलदेखि अर्को निर्णय नभएसम्म्मका लागि पुरै बन्द गरिएको छ । यहाँ बिभिन्न औषधि, मास्क आदि उत्पादन गर्न छोडियो र चीनकै भर पर्ने गरिएको थियो । ‘सिटामोल’ र प्यारासिटामोलको पनि अभाव नै छ । त्यो औषधि कसैलाई चाहिए पछि पनि थोरै थोरै दिने गरिन्छ ।

अहिले मास्क यही पनि उत्पादन हुन थालेको छ तर हप्तामा झन्डै ६० लाखको संख्यामा उत्पादन हुने ती मास्क एक दिनलाई पनि पुग्दैनन् । यो उत्पादन दरलाई एक महिना भित्र छ गुणा बढाउने सरकारको योजना छ । महँङ्गा अत्तर, कडा रक्सी, झोला आदी बनाउले यहाँका थुप्रै कम्पनीहरु अहिले ‘सेनिटाइजर’, ‘भेण्टीलेटर’ र ‘मास्क’ बनाउन थालेका छन् । दुई वर्षअघि ‘मास्क’ तयार पार्ने ठूलै कारखाना चीन लगिएकोले पनि यस्तो समस्या आएको हो ।

यहाँ ‘मास्क’ खासगरी औषधि पसलहरुमा किन्ने गरिन्छ । अहिले चिकित्सकको सिफारिस भएका विमारी वा कोरोना लक्षण पुष्टि भएकाले मात्रै औषधी पसलहरुमा मास्क किन्न पाउछन् । ति औषधी पसलहरुले चिकित्सकको पत्र बिना सामान्य मान्छेलाई भने मास्क बेच्न पाउँदैनन् । बेचेमा उनीहरुलाई सजाय हुन्छ ।

फ्रान्स सरकारले सँधै तीन थरीको डेढ अरब मास्क भण्डारमा राखिरहथ्यो तर वर्षौंसम्म त्यसको आवश्यक्ता नपरेपछि पुरानो हुनलागेकोले धेरै जसो केहीवर्ष अघि मात्रै नष्ट गरिएको रहेछ ।

त्यसपछि सबैतिर बजेट कटौती गर्ने योजना अनुरुप पहिलेको मात्रामा नयाँ ‘मास्क’ सरकार आफैले भण्डारमा नराख्ने निर्णय लिइएको रहेछ । त्यसको सट्टा सरकारी, गैरसरकारी र निजी क्षेत्रका संम्बन्धित निकायहरुसंग छलफल गरी, आआफ्नो आवस्यकता अनुरुपको मास्क आफैले भण्डार गर्ने सहमति भएको रहेछ। तर अधिकांशले यस्तो बिपद आइपर्न सक्छ भन्ने अड्कल नगरेर होला आवश्यक मात्रामा मास्क भण्डार गरेर नसकेको अवस्था रहेछ ।

कडा लकडाउनमा जरिवाना पनि कडा

यहाँ एकदमै कडा लकडाउन छ । व्यायाम गर्न, कुकुरलाई हिडाउन, अत्यावश्यक सामाग्री किन्न र उपचार गर्न लगायत सात वटा विशेष अवस्थामा आफू बसेको ठाउँबाट एक किलोमिटर सम्म वरपर जान पाइन्छ । त्यसका लागि पनि इन्टरनेट्मा आफू बाहिर जानु पर्ने कारण सहितको विवरण भर्नुपर्छ ।

ती बाहेकको अवस्थामा वा अनुमति विना बाहिर निस्किहाले पनि नेपाल र भारतमा जस्तो नागरिकले सुरक्षा अधिकारीको कुटपीट र दुव्यवहार भने भोग्नु पर्देन । तर उनीहरुले हाँसीहाँसी कोभिड १९ को माहामारी र लकडाउनको आवश्यक्ता बारे सम्झाउँछन् र जरिवाना तिराउछन् र घर फर्काउछन् । पहिलो पटक ‘ लकडाउन उलंघन गर्नेलाई १३५, दोस्रो पटक १५०० यूरो तिराइन्छ । यो क्रम चौथो वा पाँचौ पटकसम्म दोहोरिदै गएमा पाँच हजार यूरो जरिवाना र छ महिनासम्म जेल सजाँय हुन सक्छ । फ्रान्समा अहिलेसम्म करिब पाँच लाख नागरिकहरुले माथि उल्लेखित विभिन्न खालका सजाय भोगिसकेको तथ्यांक छ ।

सजाय पनि गज्जवको छ । तत्काल जरिवाना नतिरे पनि हुन्छ । तर त्यो नतिर्दासम्म जरिवाना रकम बढ्दै जान्छ । निश्चित समयसम्म तिरेन भने बैक खाताबाट नै काटेर, मुद्दा चलाएर वा घर आएरै सजाय रकम असुल गरिन्छ । कर असुलीको लागि पत्र पठाउदा लागेको, खाम, टिकटको खर्च र म्याद नाघेकोमा थप दस्तुर सहित एकमुष्ट रकम तिर्नै पर्छ ।

नेपालीको अवस्था र राजदूताबास

फ्रान्समा झण्डै सात हजारको संख्यामा नेपालीहरु रहेको अनुमान छ । तर अहिलेसम्म कोही पनि कोरोनाको विमारी भएको जानकारी छैन् । हो यहाँको नागरिकसंग विवाह गरेकी प्यारीस बाहिरकी एक नेपाली महिला सहितको परिवारलाई सुरुको समयमै कोरोना भएको खवर थियो तर अहिले उनीहरुलाई ठिक भइसकेको छ ।

नेपालीहरुले फ्रान्सका नेपाली राजदूत दीपक अधिकारीसंग जुनसुकै बेलामा पनि सम्पर्क गर्न र बिभिन्न कुराहरु सोधपुछ गर्न पाइरहेका छन् । यूरोपेली समुदायका मुलुकमा फ्रान्स भन्दा पोर्चुगल, स्पेन, वेल्जियम र जर्मनीमा नेपालीको बसाई बढी छ । उता वेलायतमा भने डेढ लाख वढी नेपाली रहेको अनुमान छ ।

लकडाउन हट्ने सम्भावना र रोजगारी

११ में पछि विस्तारै लकडाउन खोल्ने भन्ने कुरा रास्ट्रपति एमान्नुएल माख्रोँले घोषणा गरेका छन । वालवालिका र युवाहरु कम प्रभावित हुने र आमाबुबाहरु काममा जान सजिलो पर्ने विश्वासमा सबैभन्दा पहिले सुरुको कक्षाहरु चलाउने अनि मात्र माध्यामिक विद्यालय खोल्ने कुरा चलेको छ । विश्वविद्यालय तह भने तत्काल खुल्ने सम्भावना छैन । विद्यालयका साथै अत्यावश्यक महत्वका पसलहरु पनि खोल्ने भन्ने छ । यद्यपी अवस्था अझ विग्रेमा ति सबै संस्थाहरु नखुल्न सक्छन् । लकडाउनको सुरुमै बन्द भएका रेस्टोरेन्टु, नाचघर, चलचित्र हल र रंगशालाहरु भने सबैभन्दापछि मात्र खुलाइने भनिएको छ ।

कोरोनाको कहर सामान्य भएपछि आर्थिक मन्दीले धेरैको रोजगारी के हुन्छ भन्ने प्रश्न नेपालमा बस्ने साथीहरुले गरेको पाउछु । फ्रान्समा रोजगारीमा रहेकालाई सामान्यतया हटाउन मिल्दैन । त्यसैले रोजगारीमा रहेका फ्रान्सेली हुन वा नेपाली वा अन्यत्रबाट आएका नागरिकहरु उनीहरु सबैले ढुक्कले काम गर्नेछन् । केही गरेर जागिर रहेन भने पनि सरकारले तलव दिने भनेको छ । पछिल्लो समयमा लगातार छ महिना भन्दा बढि काम गरेकाहरुले त उसैपनि बेरोजगार भत्ता पाउने नियम नै छ ।

लकडाउनले निम्त्याएका पारिवारिक समस्या

लकडाउनले गर्दा पारिवारिक समस्या सृजना हुन थालेका छन् । सँधै घुमेर, खाएर, रमाएर बस्ने फ्रान्सेलीहरु पहिलो पटक घरमै थुनिएका छन् । त्यसैले लामो समयसम्म घरमै बस्दा श्रीमान श्रीमतीबीच, बालबालिका बिचमा झैझगडा हुने दर बढेको छ । झगडाले ठूलो समस्या नहोस भनेर पहिलेको जस्तो लामो कानुनी प्रकृयालाई छोट्याई अभियुक्तलाई अदालत चलान गरी दुई दिनमै दण्ड, जरिवाना वा कैदमा पठाउने व्यवस्था गरिएको छ ।

कोरानाबाट आतंकित छैनन् फ्रान्सेली नागरिक

फ्रान्स सहितको धेरै जस्तो युरोपका देशमा शिक्षा, स्वास्थ्यको जिम्मा सरकारको हुन्छ । क्षमता अनुसार नागरिकलाई उचित रोजगारीको व्यवस्था गर्न, आवश्य तालिम दिन, बेरोजगार हुनुपर्दा पनि बाँच्न सक्ने गरेर भत्ता दिने व्यवस्था मिलाउन बिषेस निकाय बनाइएको हुन्छ । हो बेरोजगार भत्ता दिनका लागि विभिन्न खालका करहरु पनि मज्जाले लिइन्छ र गाह्रो पर्दा त्यही करबाट उठाइएको रकमले नै आफ्ना नागरिकलाई सुविधा दिइन्छ ।

अधिकांश युरोपमा नागरिकले स्वास्थ्य उपचारमा दुःख भोग्नु पर्देन । जस्तो अहिले कोरोना लागेपछि पनि संसारका धेरै देशमा मानिसले आफैले आफ्नो उपचार खर्च व्यहोर्र्नुपर्छ । त्यो भन्दा पहिले पनि त्यहाँ अरु खालका स्वास्थ्य सेवा लिन आफ्नो खल्ती बलियो बनाउनु पर्दथ्यो । कोरोना बाहेकका रोगमा नेपाल र हाम्रो छिमेकी मुलुकहरुमा पनि त्यस्तै हालत हो ।

तर फ्रान्स सहित अधिकांश युरोपमा स्वास्थोपचारको ग्यारेन्टी राज्यले लिन्छ । त्यसैले यहाँका नागरिक कोरोना संक्रमण भएपनि सरकारबाट उपचार पाउछौ र बाँच्ने छौ भन्नेमा ढुक्क छन् । कोरोनाबाट मृत्युवरण गरेकाहरु मध्ये अधिकांस ६५ वर्ष भन्दा माथिका र विभिन्न रोगले थलिएकाहरु छन् ।

गज्जव त के भने यहाँ प्रायः सबै सरकारी अस्पताल छन् । संसारमै राम्रो उपचार हुनेमा फ्रान्स पनि पर्छ । बिरामी हुँदा उपचार पाउनुलाई फ्रान्सेलीहरु २३१ वर्षअघि राज्य क्रान्तिले स्थापित गरेको मानव अधिकारको रुममा हेर्दो रहेछन। अस्पताल आएकालाई आज पनि यहाँ धनी, गरिव, ठूलो, सानो, सज्जन वा अपराध नै गरेका किन नहुन वा गैरकानूनी रुपमा बसेका बिदेशी हुन केही नहेरि, सबैलाई बरावर मानेर उपचार गरिने रहेछ । यहाँ बैङ्कले दिने क्रेडिट कार्ड जस्तै हरेक बिरामीको आफ्नो स्वास्थ सम्बन्धी कार्ड हुन्छ ।

त्यो कार्ड अस्पतालको कम्युटरसंग जोड्ने बित्तिकै बिरामीको स्वाथ सम्वधी सबै सूचना देख्न सकिन्छ । तर पनि डाक्टहरहरुले हँसिलो र नम्र भएर बिरामीको रोगवारे सबै कुरा सोध्ने गर्छन । नेपालमा जस्तो छिट्टै औषधि लेखिदिएर पठाउन हतार गर्दैनन । यहाँका स्वास्थ्यकर्मीले हरेक बिरामीलाई आफू असल मान्छेको फेला परेछु, अब राम्रो उपचार हुन्छ भन्ने महसुस गराउन मज्जाले जानेको हुँदो रहेछन् ।

शिक्षा आर्जन गर्न पनि फ्रान्समा सजिलो छ । कम्तिमा १६ वर्षसम्म विद्यालय अनिवार्य जानै पर्छ । त्यस भन्दामाथि जति पढ्छु भने पनि पढ्ने सुविधा दिइन्छ । यदि कुनै तालिम लिएर छिट्टै काम गर्ने इच्छा भए संम्वन्धित सरकारी निकायहरुले व्वस्था मिलाउँछन ।

सानैमा गाडी चलाउन सिक्न चाहे खर्चको लागि अधिकांश नगरपालिकाहरुले आफ्ना युवा नगरवासीलाई स्वावलम्बी बनाउन भन्दै चेक काटेर दिन्छन। त्यसैगरि यातायात, चलचित्र हल, नाचघर, खेलकुँद र साँस्कृतिक क्षेत्रमा पनि विद्यार्थीलाई भारी छुट छ । विद्यार्थीलाई कोठा भाडा तिर्न भनेर मासिक तीन सय यूरोसम्म सरकारले दिन्छ । त्यस्ता छुट र सुविधाहरु पाउन स्वदेशी वा विदेशी भनेर पक्षपात गरिँदैन । अन्य देशबाट पढ्न आएकाहरुले पनि सजिलै त्यो सुविधा पाउछन् । थुप्रै नेपाली विद्यार्थीहरु पनि यसबाट लाभान्वित भएका छन।

अन्तमा

हरेक समस्याले समाधान खोज्छ । कोरोनाको पनि उचित समाधान अवश्य आउने छ । के पृथ्वी केवल मानव जातिको लागी मात्र बनेको हो त । यो धर्तीमा सबैकुराहरु उसकै फाइदा, आवश्यक्ता वा इच्छा अनुरुप चल्नुपर्छ । बेला बखतमा यस्ता प्रश्नहरु उठाउँदै समायनुसार हुनुपर्ने परिवर्तन र प्रगतिका मार्गमा अघि बढ्न कोरोना जस्ता जटिल समस्याहरुले संसारलाई नयाँ कुरा सिकाएर जान्छन ।

त्यसैगरेर प्रकृतिले प्रवाह गरिरहेको सन्देशहरुतर्फ अझै बढि संवेदनशील बन्न हामी सबैलाई यदाकदा झकझकाई रहन्छन । कोरोना माहमारी जस्ता गम्भीर चुनौतीहरु वास्तवमा मानिसलाई नयाँ ढंगले सोच्न र होसियारीपूर्वक जीवन चलाउनका लागि ठूलो पाठ सिद्ध हुने मेरो विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार