१२ श्रावण २०८१, शनिबार

आपूर्ति व्यवस्थामा ध्यान देऊ



विश्वव्यापी महामारीको रुप धारण गरेको कोरोना भाइरसका कारण अहिले विश्व नै सन्त्रासको अवस्थामा पुगेको वेला स्थिति अनियिन्त्रत हुननदिन सरकारहरूले निरन्तर प्रयास गरिरहेका छन् । उपप्रधानमन्त्री तथा ईश्वर पोख्रेलको संयोजकत्वमा गठन भएको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पछिल्लो पटक बुधबार महत्वपूर्ण निर्णयहरू गरेको छ । मानिसको भीडाभाड हुने कुनै पनि कार्यक्रम, समारोह रोक्नेदेखि सिनेमा हल, क्लव, डान्स रेष्टुरेन्ट लगायतका स्थल बन्द गर्नेदेखि हाललाई ५५ मुलुकसंगको हवाई उडान सेवा रोक्ने निर्णय गरेको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरसको एउटा मात्रै केस भेटिएको र उपचारपछि निको भइसकेको आधिकारिक तथ्यांक छ । तर, भारतसंगेको खुला सिमानाका साथै अवस्थित बसोबास, शहरी क्षेत्रमा व्याप्त वातावरणीय प्रदूषण, सबै स्वास्थ्य चौकीमा कोरोना भाइरस संक्रमण चेकजाचका लागि आवश्यक उपकरण, जनशक्तिको अभाव लगायतका कारणले यसप्रति उच्च सतर्कता अपनाउनै पर्ने हुन्छ । त्यसैमा पछिल्लो पटक शहरी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गर्ने क्रम बढेको छ । खाना पकाउने ग्यास, खाद्यान्न तथा बाहिरबाट आयात हुने मालसामनको अभाव सिर्जना गर्ने दुस्प्रयास भइरहेका छन् ।
अहिले अवस्था निकै सन्त्रासपूर्ण छ । त्यसैमा अनेकथरी भ्रामक समाचार फैलाएर स्थितिलाई अझ भयावह बनाउनेहरुको कमी देखिदैन । संत्रासको यो स्थितिलाई धन कमाउने अवसर बनाउने व्यक्तिहरु पनि देखिएका छन् । त्यसैले हरेक स्थानीय सरकारले आआफ्नो क्षेत्रमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि तत्काल ठोस पाइला चाल्नु आवश्यक भइसकेको छ । बजारमा खाना पकाउने ग्यास, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने जस्ता कार्यको कडाईका साथ नियन्त्रण गर्न बजार अनुगमनलाई व्यापक बनाइनु पर्दछ । गोदाममा छापा मार्ने, छड्के बजार अनुगमन गर्ने र कुनै पनि किसिमको गलत कार्य गरेको भेटिएमा तत्काल हदैसम्मको कानूनी कारबाही गर्ने कार्यलाई निरन्तरता दिनु आवश्यक छ । अहिले बजारमा मुखमा लगाउने मास्क तथा गामनको निकै माग भएको र यसैका आडमा कैयौं गुणा बढि मूल्य बृद्धि गरिएको अवस्था छ । त्यसैले मास्क, गामनको उत्पादनमा बृद्धिका लागि उद्योगहरुलाई प्रोत्साहन गर्नेतर्फ पनि ध्यान दिनु आवश्यक छ ।
त्यस्तै, बढि भीडभाड हुने कुनै पनि कार्यक्रममा अहिले रोक लगाइएको छ । विद्यालय, हाट बजार लगायतका स्थान बन्द गरिएका छन् । धनगढीमा लाग्ने त्रिनगर हाटबजार हाललाई बन्द गर्ने निर्णय उचित छ । तर, तत्काल सबै वडा अथवा आवश्यक पर्ने टोलमा सानो सानो समुहमा तरकारी हाटबजारको व्यवस्था गर्न ध्यान दिनु पर्दछ । कोरोना भाइरसका कारण प्रत्येक मानिस त्रसित भएको सन्दर्भमा स्थानीयदेखि प्रदेश तथा संघीय सरकारले जनतालाई आश्वस्त बनाउने हरसम्भव प्रयास गरेकै हुनुपर्दछ । यसका लागि कोरोना भाइरस संक्रमण भित्रिन नदिन गरिएका सबै प्रयासहरुलाई निरन्तरता दिदै प्रत्येक जिल्लाका मुख्य अन्तर सिमा नाकामा समेत तत्काल हेल्थ डेस्क राख्ने र आवश्यक उपकरण तथा जनशक्ति खटाउने, प्रत्येक जिल्ला अस्पतालमा आइसोलेशन वार्डको व्यवस्था गर्ने कार्यलाई अझ तीब्र बनाउनु आवश्यक भइसकेका कार्यलाई अझ तीब्र बनाउनु आवश्यक भइसकेको छ । र, यससंगै दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि प्रत्येक जिल्ला तथा स्थानीय तहमा ठोस प्रयास गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार