११ श्रावण २०८१, शुक्रबार

खप्तड गोल्डकपपछिका सम्भावना



खेलकुदको केन्द्रका रुपमा स्थापित हुदै गएको पश्चिम नेपालको शहर धनगढी अहिले खप्तड गोल्डकपमय बनेको छ । चौथो संस्करणसम्म आइपुग्दा खप्तड गोल्डकपमा पुरस्कार राशीमा उल्लेख्य बृद्धि मात्रै भएको छैन, मुलुकका स्थापित फुटवल टिम तथा खेलाडीहरूका लागि आकर्षक खुलकुद आयोजना समेत बन्दै गएको छ । क्लवस्तरबाट आयोजना भएको यो फुटवल कपमा मुलकका ठूला व्यापारिक, औद्योगिक प्रतिष्ठानका साथै विभिन्न संघसंस्था प्रायोजनका लागि लालायित देखिनु पनि यसको आकर्षणको केन्द्र हो भन्नेमा विमति रहदैन । धनगढी प्रिमियर लिग अर्थात् डिपिएल क्रिकेट, खप्तड गोल्डकप फुटवल लगायतका स्तरीय खेलकुद प्रतियोगिताका कारण अहिले धनगढी खेलकुद नगरका रुपमा स्थापित भइरहेको छ । स्थानीय क्लव, विभिन्न विद्यालय लगायतले आयोजन ागर्ने ठूला साना खेलकुद प्रतियोगिताका साथै खेलकुद परिषद तथा जिल्ला खेलकुद विकास समितिले आयोजना गर्ने विभिन्न खेलकुद प्रतियोगिताले वर्षभरी नै धनगढीलाई खेलकुदमय बनाउदै आएको छ । पछिल्लो पटक प्रदेश सरकारले मुख्यमन्त्री कप आयोजना गरेको थियो । त्यस्तै, धनगढी उपमहानगरपालिकाको प्रत्यक्ष तथा परोक्ष सहभागितामा विभिन्न स्तरका खेलकुद आयोजना हुदै आएका छन् । यी सबै खेलकुद आयोजनाहरूले वास्तवमै धनगढीलाई खेलकु्द शहरका रुपमा स्थापित गर्दै जानेमा शंका रहदैन ।
डेढ करोड रुपैया बढि लगानीको खप्तड गोल्डकपले धनगढीमा व्यावसायिक फुटवल विकासको सम्भावना पनि बढाएको मान्न सकिन्छ । यद्दपि अहिलेसम्म धनगढी वा सुदूरपश्चिम प्रदेशमा ए डिभिजनका फुटवल टिम बन्न सकेका छैनन्, तर पछिल्ला केही वर्षयता खप्तड गोल्डकपको आकर्षण बढ्दै गएको छ, त्यसले केही वर्षभित्रै धनगढीमा व्यवसायिक फुटवलले आकार लिने अपेक्षा गर्न सकिन्छ । त्यसका लागि सरकारी तथा निजी स्तरबाट फुटवल खेल र खेलाडीलाई लक्षित गरेर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणदेखि विद्यालयस्तरदेखि स्थानीय तह, जिल्ला र प्रदेश स्तरका फुटवल प्रतियोगिता सञ्चालन गर्ने लगायतका कार्यक्रम अघि बढाउनु जरुरी हुन्छ । धनगढी सहित सुदूरपश्चिम प्रदेशमा बढि सम्भावना भएका क्रिकेट, फुटवल जस्ता खेलमा राज्य तथा निजी क्षेत्रको लगानी बढाउनेदेखि भौतिक संरचना निर्माण, प्रशिक्षण, अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माणमा ठोस योजनावद्ध ढंगले काम अघि बढाउनेतर्फ ध्यान दिनु आवशयक हुन्छ ।
खप्तड गोल्डकप चौथो संस्करणसम्म आइपुग्दा मुलुकभरीका स्थापित फुटवल टिम तथा खेलाडीको आकर्षणको प्रतियोगिता बनिसकेको सन्दर्भमा स्थानीय, प्रदेश तथा संघीय सरकार तथा खेलकुदका प्रत्येक निकायले यो प्रतियोगितालाई अझ स्तरीय तथा व्यवस्थित बनाउनेतर्फ ध्यान दिनु पर्दछ । आयोजनाका नाममा कुनै पनि खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भन्दा पनि बढि सम्भावना रहेका खेलमा लगानी बृद्धिका लागि स्थानीयदेखि प्रदेश सरकारले पहल गर्नु आवश्यक हुन्छ । स्थानीय वा प्रदेश सरकार आफैंले कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गरेर बजेटको नाश मात्रै गर्ने प्रवृत्तिको अन्त्य गरेर सम्बन्धित खेलकुद निकाय तथा स्थानीय क्लवहरूमार्फत नै हरेक खेलकुद कार्यक्रम आयोजना गर्नेतर्फ ध्यान दिनु पर्दछ । पछिल्लो पटक सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कपबारे उठेका व्यापक आलोचनालाई ध्यानमा राखेर आगामी दिनका लागि खेलकुद क्षेत्रका कार्यक्रम तय गनुृ उचित हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार