१२ श्रावण २०८१, शनिबार

हाकाहाकी भ्रष्टाचार !



एक पटक फेरि राज्यका उच्चाधिकारीको आर्थिक भ्रष्टाचारको घटना सार्वजनिक भएको छ । भ्रष्टाचार विरुद्ध सून्य सहनशीलताको रट लगाउने वर्तमान संघीय सरकारका प्रभावशाली मानिएका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले एउटा काममा सत्तरी करोड रुपैया कमिशन माग गरेको अडियो सार्वजनिक भएपछि मुलुकमा कमिशनतन्त्र तथा भ्रष्टाचार कति संस्थागत बन्दै गएको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । मन्त्री बास्कोटाले हाकाहाकी करोडौ रुपैया कमिशनको सेटिङ गरेको अडियो बिहीबार बिहान सार्वजनिक भएपछि स्वाभाविक रुपमा सर्वत्र तिखो आलोचना बढ्दै गयो । अडियोमा मन्त्री बास्कोटाले कमिशनका लागि गरेको सेटिङ स्पष्ट सुनिन्छ । फलतः बिहीबार दिउसो नै उनले राजिनामा गर्न बाध्य भएका छन् । यद्दपि उनले अहिले पनि आफूमाथि झुठा आरोप लगाइएको हास्यास्पद जिकिर गरेर थाकेका छैनन् । त्यसै पनि उनी वर्तमान संघीय सरकारका सबैभन्दा मुहफट मन्त्री हुन् । मिडियाप्रति अत्यन्त अनुदार रहेका उनी विरोधीमाथि हदैसम्मको लान्छना लगाउन खप्पिस रहेको उनका पटकपटकका अभिव्यक्तिमा झल्किन्छ ।
मन्त्रीमाथि भ्रष्टाचारको आरोप लागेको यो पहिलो पटक भने होइन । तर, यसरी हाकाहाकी कमिशनको सेटिङ गर्ने सम्भवतः उनी प्रथम व्यक्ति हुन् भन्नेमा विमति रहदैन । अहिले केन्द्रमा दुई तिहाईको “शक्तिशाली” सरकार रहेको छ । र, मन्त्री बास्कोटामाथि लागेको भ्रष्टाचारको यो आरोप भोली गएर नाटकीय रुपमा अर्कै मोडतर्फ मोडियो भने आश्चर्य हुने छैन । सत्ता, शक्ति, स्रोतसाधन तथा सम्पूर्ण राज्य संयन्त्रमाथि नियन्त्रण रहेका कारण घटनाक्रमलाई नाटकीय रुपमा अर्के रुप दिन सम्भव छ । तर, भोली घटनाक्रमलाई जस्तोसुकै रुप दिइए पनि मुलुकमा अहिले भ्रष्टाचार संस्थागत हुदै गएकोमा भने सर्वसाधारणले पनि महसुस गरिरहेको अवस्था छ । संघीय सरकारमा मात्रै नभएर प्रदेश तथा कतिपय स्थानीय सरकारहरुमा पनि आर्थिक अनियमिता तथा भ्रष्टाचार सामान्य बन्दै गएको एकपछि अर्को घटना दोहोरिदै गएको देखिन्छ । मन्त्री बास्कोटाले करोडौं रुपैयाको कमिशनको सेटिङ गरेको तथ्यपूर्ण आरोपछि बिहीबार संघीय संसदमा सभामुखले उनले राजिनामा गरेको जानकारी दिएका छन् । तर, यत्तिले मात्रै उनीमाथि लागेको गम्भीर आरोप खारेज हुदैन ।
स्थानीयदेखि प्रदेश र संघीय सरकार सबैतिर आर्थिक अनियमिता तथा भ्रष्टाचारको आरोप दोहोरिदै गएको सन्दर्भमा कुनै पनि घटनालाई ढाकछोप गर्ने, घटनाक्रमलाई नाटकीय ढंगले अन्यत्र मोड्ने दुस्प्रयास जारी राखियो भने केही समयका लागि सरकार तथा शासनमा रहेकाहरुले सन्चो महसुस गर्लान्, तर आम नेपाली जनतामा सरकारहरुप्रति बढ्दै गएको वितृष्णामा भने झन् बढोत्तरी हुदै जानेछ भन्ने बोध भएन भने दुर्भाग्य मात्रै हुने छ । बालुवाटार ललिता निवास काण्ड, तीस किलो सुनकाण्ड, वाइडबडी काण्ड सहित एकपछि अर्को भ्रष्टाचारका घटना दोहोरिरहेको र सरकार सबै घटनालाई बलपूर्वक ढाकछोप गर्ने प्रयासमा रहेको परिप्रेक्ष्यमा जनतामा बढ्दै गएको वितृष्णा आक्रोसमा परिणत हुने छ भन्नेतर्फ सरकारहरु अझैं पनि सजग नभएको देखिनु अर्को दुर्भाग्य हो । भ्रष्टाचारप्रतिको सून्य सहनशीलता गफको विषय मात्रै होइन भने अहिलेसम्मका भ्रष्टाचारका प्रत्येक घटनामा सरकारले ढाकछोप होइन, सत्यतथ्य सार्वजनिक गरेर दोषिमाथि हदैसम्मको कारबाही गर्न अग्रसर भएकै हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार