११ श्रावण २०८१, शुक्रबार

भुल्दै गएको प्रजातन्त्र दिवस



आज प्रजातन्त्र दिवस । नेपालमा एक सय चार वर्षसम्मको जहानिया राणाशासनको समाप्तीका साथै प्रजातन्त्रको स्थापनाका लागि भएको जनक्रान्ति सफल भएको दिन । नेपालीहरू रैतीबाट नागरिक भएको दिन । एउटा परिवारको शासनबाट नेपाल र नेपाली जनताले मुक्ति पाएको दिन । शासन गर्न भाग्य बलियो हुनुपर्छ भन्ने सामन्ती सोचको अन्त्य भएको दिन र जनताले आफ्ना लागि आफैंले शासन गर्ने शासन व्यवस्था स्थापना भएको दिन । र, नेपाल आधुनिक राज्य प्रणालीमा प्रवेश गरेको दिन । त्यसैले नेपाल र नेपालीका लागि यो ऐतिहासिक दिन हो । पछिल्लो पटक भएको जनआन्दोलनको सफलतापछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेपछि प्रजातन्त्रको ठाउ लोकतन्त्रले लिएको छ । र, यससंगै प्रजातन्त्र स्थापना भएको दिन ओझेलमा पारिएको छ । तर, जेसुकै भए पनि प्रजातन्त्र स्थापना भएको दिन नेपाल र नेपाली जनताले भुल्न सक्दैनन् र भुल्नु पनि हुदैन । नेपालमा प्रजातन्त्र अथवा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका लागि भएका हरेक क्रान्ति, आन्दोलन र संघर्ष हरेकको महत्व छ र यो शृंखलालाई कुनै पनि नाममा बिछृंखल बनाउदा लोकतान्त्रिक आन्दोलनको गरिमा कमजोर हुनेछ ।
कुनै पनि नाममा प्रजातान्त्रिक वा लोकतान्त्रिक आन्दोलनका कुनै पनि चरण र घटनालाई कम आंक्ने प्रवृत्ति गलत हो । इतिहासका हरेक अध्याय र कालखण्डको महत्व हुन्छ । आजभन्दा सात दशकअघिको नेपाली समाजमा एक सय चार वर्ष पुरानो जहानिया शासनको अन्त्य तथा जनताको शासन स्थापनाका लागि निर्णायक जनक्रान्तिको इतिहासको गौरवगाथा सधैं ताजा रहनु पर्दछ, आम नेपाली जनतामा । यसले नै प्रत्येक नेपाली जनतालाई नेपालमा नागरिक शासन, प्रजातन्त्र÷लोकतन्त्र, विधिको शासन, मानवअधिकारका लागि भएका यावत क्रान्ति, आन्दोलन तथा संघर्षको मर्म आत्मबोध गर्न सजग गराइराख्ने छ । नेपालमा सात दशक अघि आजकै दिन जनक्रान्ति सफल भएर प्रजातन्त्रको स्थपना भयो । तर, त्यसपछिका सात दशकको अधिकांस समय प्रजातन्त्रलाई समाप्त वा कमजोर बनाउने मुलुकभित्र र बाहिरको षडयन्त्र भइरह्यो । फलस्वरुप सात पटकपटकको घातप्रतिघातले नेपालमा राजनीतिक अस्थिरता, अन्योलको अवस्था रहिरह्यो । प्रजातन्त्र स्थापना भएपछि बल्लतल्ल आठ वर्षपछि आम निर्वाचन भयो । पहिलो जननिर्वाचित सरकार गठन भयो । तर, डेढ वर्ष पनि नपुग्दै जननिर्वाचित सरकार मात्रै बलपुर्वक अपदस्थ गरिएन, प्रजातान्त्रिक संसदीय व्यवस्था नै खारेज गरियो र त्यसपछिको तीन दशक एकतन्त्रीय पञ्चायती शासन लादियो । त्यसपछि भएको जनआन्दोलनले पञ्चायती व्यवस्था अन्त्य ग¥यो र प्रजातन्त्रको पुनस्र्थापना ग¥यो । तर, राजनीतिक अस्थिरताको दुस्चक्र अन्त्य भएन । फलतः पुनः जनआन्दोलन भयो र अहिले नेपालमा संघीय लोकतन्त्र स्थापना भएको छ ।
अहिले प्रजातन्त्र दिवस भुलेको अवस्था छ । तर, नेपाली जनताको मनमष्तिष्कबाट प्रजातन्त्र स्थापनाका लागि भएका कुनै पनि संघर्ष र आन्दोलन भुल्नु हुदैन । नेपाली जनतालाई रैतीबाट नागरिकमा रुपान्तरण गरेको यो दिनको सधैं स्मरण भइराख्नु पर्दछ । यसले नै प्रजातन्त्र, स्वतन्त्रता तथा नागरिक अधिकारका लागि बलिदान गरेका नेपाली सपुतहरुको योगदानको वास्तविक सम्मान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार