६ जेष्ठ २०८१, आईतवार

भ्रमण वर्षको शुभारम्भ



?

अन्ततः नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भइसकेको छ । एक वर्षसम्म सञ्चालन हुने भ्रमण वर्ष कार्यक्रमबाट नेपालको पर्यटन विकासको क्षेत्रमा प्राप्त हुने उपलब्धीबारे पछि नै चर्चा होला नै, अहिलेका लागि नेपाल भ्रमण वर्ष २०२० ले निर्धारण गरेको लक्ष्य तथा उद्देश्यहरु प्राप्त गर्नका लागि के कस्तो तयारी भयो र के कस्ता कार्यक्रम सञ्चालन गरिदै छन् भन्ने प्रमुख चासो र सरोकारको विषय हो । खासगरी पर्यटनका क्षेत्रमा अझसम्म पनि “भर्जिन” मानिएको सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासका सन्दर्भमा नेपाल भ्रमण वर्षले के कस्तो उपलब्धी दिन्छ ? भन्ने सबैको चासोको विषय हो । सुदूरपश्चिम प्रदेशका मुख्य पर्यटन गन्तव्यका रुपमा रहेका खप्तड, शुक्लाफाटा, अपिसैपाल, रामारोसन, बडिमालिका तथा प्रशिद्ध धार्मिक क्षेत्रमा पर्यटकको आगमन बृद्धि तथा बसाई लम्ब्याउने तर्फ अझैं पनि ठोस योजना बन्न नसकेको सन्दर्भमा प्रदेश सरकार तथा पर्यटन व्यवसायीहरूले भारतीय पर्यटकलाई बढि लक्षित गरेर कार्यक्रम अघि बढाउने तयारी गरेको देखिदैछ । सरकार तथा निजी क्षेत्रले विभिन्न प्याकेजमार्फत भारतीय पर्यटकलाई भित्राउने तयारी गरिरहदा संख्याका साथै स्तरीय पर्यटकको आमगन बृद्धिमा ध्यान दिनु आवश्यक हुन्छ ।
नेपालमा भारतीय नागरिकको आवागमन सामान्य कुरा हो । धनगढी, कञ्चनपुर वा नजिकका साना पहाड चुरेमा गर्मीयाममा घुमफेर गर्न आउनेदेखि विशेष धार्मिक मेला, चाडपर्वका अवसरमा भारतीय दर्शनार्थी आउने कुरा पनि सामान्य हो । त्यसैले भारतीय पर्यटकको हकमा संख्या मात्रैले खासै उपलब्धी दिन सक्दैन भन्ने बोध गरेर यहा“को आर्थिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने खालका स्तरीय पर्यटकको आगमन बृद्धि तथा बसाई लम्ब्याउनेतर्फ विशेष ध्यान दिनु पर्दछ । त्यस्तै, यो भ्रमण वर्षलाई सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासको माइलस्टोनका रुपमा उपयोग गर्नेतर्फ सरकार, पर्यटन व्यवसायी सहित सबै सरोकारवालाहरूको ठोस पहल आवश्यक छ । जतिसुकै चर्को रुपमा कुरा गरे पनि अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रले प्रदेशको कुल ग्राहर््स्थ उत्पादनमा सामान्य पनि योगदान दिन सकेको देखिदैन । न त यहाका महत्वपूर्ण तथा पर्यटकका लागि आकर्षक मानिने पर्यटन गन्तव्यसम्म पर्यटकका लागि सुविधायुक्त तथा सुरक्षित यातायात, उचित खानेबस्ने व्यवस्था, सुरक्षा लगायतका सुविधा नै उपलब्ध गर्न सकिएको अवस्था छ । त्यसैले पनि नेपाल भ्रमण वर्ष २०२० लाई सुदूरपश्चिम प्रदेशले आगामी दिनका लागि प्रस्थान बिन्दूका रुपमा ग्रहण गरेर तदनुरुपका कार्यक्रम अघि बढाउनु आवश्यक छ । एक वर्षसम्म सञ्चालन हुने भएकाले पनि सुदूरपश्चिम प्रदेशले बाह्र वटै महिनाको पर्यटन क्यालेन्डर बनाएर यस पटक प्रयोगका रुपमा कार्यक्रम सञ्चालन गरियो भने आगामी दिनका लागि योजना र कार्यक्रम उपलब्धीमुलक ढंगले सञ्चालन गर्न सहज हुने छ ।
नेपाल भ्रमण वर्षलाई सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा स्मरणीय बनाउन प्रदेश सरकार, सबै स्थानीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी सबैबीच समन्वय र सहकार्य सहित उपलब्धीमूलक कार्यक्रम अघि बढाइनु पर्दछ । खासगरी यो भ्रमण वर्षमा सुदूरपश्चिम प्रदेशमा पर्यटनका लक्ष्य निर्धारण गरेर प्रभावकारी कार्यक्रम अघि बढाइनु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार