१२ श्रावण २०८१, शनिबार

नालापानी युद्धकाे सम्झना



नालापानी (देहरादून, भारत) । नेपाली भूमी बचाउन गोर्खाली सेनाले अंग्रेज सेनाका विरुद्ध नालापानीमा गरेको भिषण युद्धको यहाँ सम्झना गरिएको छ ।


गोर्खाली सेनाले धेरै ठाउँमा अंग्रेज विरुद्ध युद्ध लडेको भए पनि नेपाल भित्र कुनै पनि युद्धको सम्झना गरिदैन । तर भारतियभूमी देहरादून नालापानीमा हरेक वर्ष नेपालीहरुले विभिन्न ढंगले युद्धको सम्झना गर्छन् ।
‘नेपालीलाई संसारमा वीर भनेर चिन्छन्, नालापानीमा जस्तो युद्ध कही भएन त्यसैले हरेक वर्ष गोर्खालीको विरता र नालापानी युद्धलाई सम्झाउने गरेर कार्यक्रम गर्दछौ,’ गोर्खा डेमोक्रयाट फन्ट देहरादूनका अध्यक्ष सूर्यविक्रम शाही भन्छन्, ‘नालापानीमा मात्रै उपल्लो तहको जनरल जिलेस्पी मारिएको र अंगेजले आफ्नो सत्रु गोर्खाली सेनाको सम्मानमा स्मारक बनाएको छ ।’
हुन पनि अंग्रेज सेनाले नालापानी युद्धपछि देहरादूनमा जिलेस्पी र वलभद्रको स्मारक बनाएर वीर दुस्मन भन्दै युद्ध कौशलको सम्मान गरेको भेटिन्छ । ती स्मारक अहिले पनि देहरादूनमा हेर्न सकिन्छ । भारत सरकारले दुईवटा स्मारक भएका क्षेत्र वरीपरी घेरवार लगाएर संरक्षण गरेर राखेको छ ।
नालापानी युद्धको सम्झनामा आइतवार देहरादूनको खलङ्गाद्धारबाट नालापानी किल्लासम्म झण्डै तीन सय जनाले पदयात्रा गरेका छन् । नालापानीमा सन् १८१४ देखि १८१६ सम्म पटकपटक गोर्खाली र अंंग्रेजबीच युद्ध भएको थियो । अन्तिम पटक अक्टोवर, नोभेम्वरमा युद्ध भएको थियो त्यसैले देहरादूनका नेपाली समूदायले नोभेम्वर महिनामा विभिन्न कार्यक्रम गर्ने गर्छन । आइतबार नै ऐतिहासिक नालापानी युद्धको अवसरमा ४५ औ पटक खलंगा मेला पनि भएको छ । मेलामा नालापानी युद्धको वारेमा चर्चा गरिनुका साथै, विभिन्न साँस्कृतिक कार्यक्रम भएका थिए । सो अवसरमा नेपाली समूदायका विभिन्न परिकार बनाएर विक्री वितरण पनि गरिएको छ ।
देहरादूनका नेपालीहरुले गोर्खाली सेनाले हारेको थिएन तर सुगौली सन्धीले गर्दा युद्ध रोकिएको बताउछन् । वीर गोर्खा कल्याण समितिका महासचिव विशाल थापा नालापानी युद्धका कमाण्डर वलभद्र कुँवरले नालापानी किल्ला छोड्दै हामीले हारेका छैनौ, किल्ला छोडेर जान्छौ भनेको बताउछन् ।
वलभद्र सँधै अंग्रेजसँग लड्नुपर्छ भन्दै पञ्जावका राजा रणजीत सिंहको तर्फबाट लड्ने क्रममा अफगानिस्तानमा मारिएको बताइन्छ ।

संरक्षण हुँदै नालापानी किल्ला

दुई सय वर्ष अघि युद्ध भएको नालापानी किल्ला क्षेत्रको संरक्षण हुन थालेको छ । उतिवेलाको किल्लाको अवषेश त छैन तर नजिकै हामीले वलभद्र खलंगा युद्ध स्मारक बनाएर नालापानी क्षेत्रको संरक्षण गरेका छौ गोर्खा डमोक्रयाट फन्टका अध्यक्ष शाहीले बताए ।
फन्ट र नेपाली भाषीहरुको पहलमा झण्डै २५ लाख भारतिय रुपियाँ खर्च गरेर सन् २००७ र २००८ मा सो स्मारक बनेको हो । देहरादून शहरको मुख्य भागबाट नौ किलोमिटर उत्तरमा अग्लो पहाडमा जंगलकाबीचमा नालापानी किल्ला रहेको छ ।
पहिले किल्ला जाने राम्रो सडक थिएन सन् २००८ र २००९ मा ८० लाख भारतिय रुपियाँ खर्च गरेर पाँच किलोटिर पक्की सडक पनि बनाइएको छ ।
यस्तै गरेर त्यतिवेला गोर्खाली सेनाले पूजा गर्ने मन्दिर र अंग्रेजको तोपको गोलाले फुटाएको ठूलो ढुंगा पनि संरक्षण गरिएको छ । देहरादूनमा रहेका नेपाली भाषीको पहलमा नालापानी क्षेत्र संरक्षण गरिएपछि नालापानी क्षेत्र हेर्ने आउनेको संख्या निरन्तर बढेको पदयात्राको आयोजक संस्था शान्ती फाउन्डेसन सोसाइटीका महासचिव पूर्वा सिंहले बताए । वन क्षेत्र भएकोले अझै पनि सोचेजस्तो गरेर नालापानी क्षेत्रको संरक्षण हुन नसकेको डेमोक्रयाटिक फन्टका अध्यक्ष शाहीले बताए । हामीले वन विभाग र उत्तराखण्ड सरकारसँग सहज वातावरण बनाउन आग्रह गरेका छौ उनले भने । उनले नालापानीमा म्यूजियम बनाउने र कतिपय पुरातात्विक सामाग्री वेलायतबाट समेत ल्याउने प्रयास भएको बताए ।
सडक र स्मारक बनाउन उत्तराखण्ड सरकारले आर्थिक सहयोग गरेको हो । देहरादूनको १८ लाख जनसंख्या रहेकोमा नेपाली भाषीको संख्या पाँच लाख रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार