१२ श्रावण २०८१, शनिबार

विभाजित नागरिक समाजले नागरिक अधिकारको रक्षा गर्न सक्दैन– मन्त्री शाह



धनगढी । पत्रकारहरूविरुद्धका अपराधका लागि दण्डहीनताको अन्त्य सम्बन्धी अन्तराष्ट्रिय दिवसको सन्दर्भमा बिहीबार धनगढीमा पत्रकार सुरक्षा तथा दण्डहीनता विषयक छलफल भएको छ ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेश सहित नेपालमा पत्रकारहरू विरुद्ध भए गरेका आक्रमण, हत्या, असुरक्षा लगायतका विषयमा गहन छलफल भएको थियो ।
फ्रिडम फोरम, नेपाल तथा सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी, उच्च सुरक्षा अधिकारी, राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघका पदाधिकारी, नागरिक अधिकारकर्मी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले विभाजित, बाटो विराएको, मनोवल गिरेको तथा निर्देशित नागरिक संगठनहरूले नागरिक अधिकारको संरक्षण तथा रक्षा गर्न नसक्ने चर्चा गरे ।
उनले भने– अग्रस्थानका नागरिक अधिकारकर्मीका रुपमा रहेका पत्रकारहरू जुनदिन दलगत राजनीतिक पक्षधरताबाट मुक्त हुन्छन्, त्यो दिनदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बलियो बन्दैन जाने छ ।
मन्त्री शाहले दण्डहीनताको अन्त्य सरकार वा कुनै एक निकाय अथवा व्यक्ति÷संस्थाबाट सम्भव नहुने बताए । भने– हरेक ठाउ“मा अपराधिक मनोवृत्तिका मान्छे छन् । त्यस्ता व्यक्ति वा समुह सधैं पत्रकार तथा प्रेस स्वतन्त्रताका लागि “थ्रेट” हुन्छन्, त्यसैले दण्डहीनता समाप्त पार्नका लागि सबै पक्ष एकजुट हुनु जरुरी हुन्छ ।
उनले अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणको अवस्थाको अन्त्य सरकार, नागरिक संगठन सबैको साझा चासो र सरोकारको विषय भएको चर्चा गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जुनसुकै स्तरको अपराध वा गल्ती भए पनि दोषिले सजाय भोगेकै हुनुपर्ने बताए । उनले भने– विगतको माओवादी द्वन्द्व होस् वा अन्य कुनै कालखण्डमा भएका घटना हुन्, अपराध÷गल्ती गरेको पक्ष वा व्यक्तिले कम्तिमा आफूले गरेको गल्ती स्वीकार गरेको सम्बन्धित पीडितले महसुस गर्न पाउनु पर्दछ ।
प्रमुख सचेतक तामाङले कसैलाई सिध्याउने वा कसैलाई जोगाउनका लागि गरिने पत्रकारिताको अन्त्य आवश्यक रहेको बताए । उनले भने– पत्रकार स्वयंले नै आफ्ना आन्तरिक कमीकमजोरीबारे गम्भीरतापूर्वक मनन् गर्नु पनि आवश्यक छ ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी यत्रराज बोहराले पत्रकारहरूको सुद्ध तथा सन्तुलित आचरण तथा आचार संहिताको पूर्ण पालनाले आन्तरिक रुपमा सुरक्षामा सुधार ल्याउन सकिने चर्चा गरे ।
प्रजिअ बोहराले स्थानीय प्रशासन सधैं पत्रकारहरूको भौतिक सुरक्षाप्रति गम्भीर रहेको बताए । भने– स्थानीय प्रशासन अपराधिक गतिविधिप्रति सून्य सहनशीलताको नीति दृढतापूर्वक पालना गरिरहेको छ ।
प्रहरी नायव महानिरीक्षक तारिणीप्रसाद लम्सालले सुरक्षाका लागि आन्त्रिक र बाह्य दुवै चुनौति रहेको चर्चा गरे । उनले पत्रकारमा पक्षधरता तथा विभाजनको स्थितिले आन्त्रिक रुपमा सुरक्षा चु्नौति बढाउने बताए । भने– नीति तथा सुरक्षामा हुने कमीकमजोरीका कारण हुने सुरक्षा चुनौतिका साथै आचार संहिताको उल्लंघन र आदर्श तथा व्यवहारमा हुने अन्तरले पनि असुरक्षा बृद्धि हुने गर्दछ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख झंकरबहादुर रावलले सञ्चारकर्मी पहिलो पंक्तिका मानव अधिकार रक्षक रहेकोले अधिकार उल्लंघनकर्ता व्यक्ति, निकाय वा समुहबाट सधैं असुरक्षित रहने गरेको चर्चा गरे ।
उनले पत्रकारको सुरक्षा र दण्डहीनताको न्युनिकरण सबैको साझा सरोकार र चासो भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले नेपालमा पत्रकारहरुविरुद्ध भए गरेका आक्रमण, हत्या तथा असुरक्षाका साथै दण्डहीनताको अवस्थाबारे प्रस्तुति गरेका थिए । उनले पत्रकार विरुद्ध हुने आक्रमणको दृष्टिले सुदूरपश्चिम प्रदेश पनि अगाडी रहेको बताए ।
कार्यक्रम सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष मनमोहन स्वारको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, पूर्व केन्द्रीय उपसभापति उमीदप्रसाद बागचन्द, महासंघका कैलाली जिल्ला अ्रध्यक्ष जगत साउद, महासंघका पूर्व क्षेत्रीय संयोजक कर्ण शाह, इन्सेकका कार्यक्रम अधिकृत कृष्ण विक, पत्रकारहरू वीरेन्द्र रावल, शिवराज भट्ट, अमिता कुवर, प्रेम चौधरी, भावना जोशी लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार