१० श्रावण २०८१, बिहीबार

ग्रामीण क्षेत्रका बालबालिकामा ब्रस गर्ने ज्ञानको अभाव



शेरबहादुर ऐर/धनगढी । डोटी शिखर नगरपालिका वडा नम्बर १० स्थित सिद्देश्वर माध्यामिक विद्यालय । विद्यार्थीहरूको लामो लाईन । विद्यार्थीको लामो लाइनमा आफनो पालो कुरिरहेका थिए नौ वर्षीय टेकबहादुर बलायर । उनी डोटी स्वास्थ्य कार्यालयले सिद्देश्वर माविमा सञ्चालन गरेको कान, दाँत र आँखासम्बन्धी स्क्रीनिङ शिविरमा दाँतको उपचारमन लागि पालो कुरिरहेका थिए ।


टेकबहादुर मुस्कुराउँदा उनका पहेला दाँत देखिन्थे । शिविरमा खटिएका स्वास्थ्य कार्यालयका फोकलपर्सन सूर्य बिष्टले उनलाई देखेपछि प्रश्न गरे– बाबु तिमि ब्रस गर्दैनौं ?’ टेकबहादुरले ईशारामा ‘नाइ’ भने । टेकबहादुर सो विद्यालयका कक्षा ३ का विद्यार्थी हुन् ।
टेकबहादुरको छेउमा उभिएका नौ वर्षीय दिनेश ताम्राकारका दाँत पनि पहेला थिए । उनले पनि अहिलेसम्म आफूले ब्रस नदेखेको बताए ।
‘दा“तमा हुने संक्रमणबाट जोगिन हरेक दिन दुई पटक ब्रसले दाँत माझ्नु पर्छ’ फोकलपर्सन सूर्यले भने– यस वडाका अधिकांश बालबालिकालाई दा“त माझ्नुपर्छ भन्ने नै ज्ञान रहेनछ । उनले गरिवीका कारण नभई सचेतना अभावका कारण व्यवहारमा ब्रस प्रयोग गर्ने अभ्यासको अभाव रहेको आफूले अनुभव गरेको बताए ।
फोकलपर्सन सूर्यले बालबालिकालाई दाँत, आँखा, नाकमुखको हेरचाह र सरसफाईबारे जानकारी दिन स्थानीय तहले सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
शुक्रबार सञ्चालन गरिएको आँखा, दाँत र कानसम्बन्धी शिविरमा एक हजार नौ सय ९८ विद्यार्थीहरूले सेवा लिएका थिए । तीमध्ये तीन सय ७१ जनाले दाँतसम्बन्धी चेकजाँच गराएका थिए । दाँत चेकजाँच गराएका विद्यार्थीमध्ये एक सय ६९ जनाको दाँत किराले खाएको भेटिएको थियो भने १० जनाको दाँत नै निकाल्नु परेको थियो ।
त्यस्तै, शिविरमा तीन सय ७२ जना बालबालिकाले कान उपचार सेवा लिएका थिए । कानको चेकजाँच गराएकामध्ये ४३ जनामा कानमा संक्रमण देखिएको थियो ।
त्यस्तै, शिविरमा तीन सय ५५ जनाले आँखा सम्बन्धी सेवा लिएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयले कान, दाँत र आँखा सम्बन्धी समस्याहरू पहिचान गरि उपचारका साथै परामर्श र रोगको प्रकृति हेरी उपयूक्त ठाउँमा रेफर गर्न गत २७ गते अर्थात बुधबारदेखि सो शिविर शुरु गरेको थियो ।
स्वास्थ्य कार्यालयले डोटीको पुर्वीचौकी गाउँपालिकाको सरस्वती माध्यामिक विद्यालय, दिपायलसिलगढी नगरपालिकाको दुनादेवी माध्यामिक विद्यालय र शिखर नगरपालिकाको सिद्देश्वर माध्यमिक विद्यालयमा शिविर गरेको जनाइएको छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार शिविरमा दुई हजार छ सय दुई जनाले सेवा लिएका थिए । जसमा कानको संक्रमण एक सय ७३, दा“त किराले खाएको चार सय एक, दाँत निकालेको २६ र दृष्टि कमजोर सात जनामा देखिएको थियो ।
स्वास्थ्य कार्यालय डोटीले केही दिनमै गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कार्यालय प्रमुख मलासीले भने– डोटीका दुर्गम क्षेत्रमा अझै पनि मानिस विभिन्न रोग लुकाएर बस्न बाँध्य छन् । त्यसैले नियमित चेकजाँच गराउने लगायतका सचेतना कार्यक्रम फैलाउन विभिन्न शिविर तथा अन्य कार्यक्रम अघि बढाउने तयारी गरेका छौं ।’ डोटी स्वास्थ्य कार्यालयले मंसिर १ देखि ६ गतेसम्म गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार