१२ श्रावण २०८१, शनिबार

राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुख नियुक्त, सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त (त्रिपाठी)



काठामाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सातवटै प्रदेश प्रमुख नियुक्ति गरेकी छन् । संघीय मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले सोमबार नै प्रदेश प्रमुखहरुलाई नियुक्त गरेकी हुन् ।


राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा काठमाडौंका शर्मिलाकुमारी पन्त (त्रिपाठी) लाई सिफारिस गरेको छ । त्यस्तै, प्रदेश १ मा कास्कीका सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा बाँकेका तिलक परियार, प्रदेश ३ मा झापाका बिष्णु प्रसाई, प्रदेश गण्डकीमा चितवनका अमिक शेरचन, प्रदेश ५ मा सिरहाका धर्मनाथ यादव र कर्णालीको प्रमुखमा डडेल्धुराका गोविन्दप्रसाद कलौनीलाई प्रदेश प्रमुख नियुक्त गरिएको हो ।
नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरूको आज (मंगलबार) सपथग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूलाई सपथ ग्रहण गराउने तयारी भइरहेको जनाइएको छ ।
संघीय कानुन वमोजिम प्रदेश प्रमुखहरूले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमखहरूलाई पदमुक्त गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले नया“ प्रदेश प्रमुखको टुंगो लगाएको थियो ।
नवनियुक्त प्रदेश प्रमुख मध्ये चार जना तत्कालीन नेकपा एमालेबाट र तीन जना तत्कालीन माअ‍ोवादी केन्द्रको भागमा परेका छन् ।
प्रसाई, प्यासी, यादव र कलौनी पूर्व एमाले निकट हुन् भने शेरचन, परियार र त्रिपाठी माओवादी हुन् । तत्कालीन एमालेको भागमा परेका मध्ये तीन जना पार्टी अध्यक्ष तचथा प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् भने एक जना नेता बामदेव गौतम निकट मानिन्छन् । पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव गरेका कोही पनि प्रदेश प्रमुखमा परेनन् ।
सत्ता साझेदार संघीय समाजवादीले पनि एकजना प्रदेश प्रमुखको दावी गरे पनि नेकपाले उसलाई भाग दिएन ।

को हुन् शर्मिला त्रिपाठी ?

शर्मिला त्रिपाठी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी नेता ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती हुन् । ज्ञानेन्द्रलाई २००३ मा पक्राउ गरिएको थियो । उनी २६ सेप्टेम्बर २००३ मा बेपत्ता पारिएका थिए । माओवादी सशस्त्र युद्धताका ज्ञानेन्द्रलाई तत्कालीन शाही नेपाली सेनाले वेपत्ता पारेको आरोप रहेको छ ।
शर्मिलाले २९ सेप्टेम्बर २००३ मा आफ्ना श्रीमान् ज्ञानेन्द्र पक्राउ परेको सम्बन्धमा प्रहरीसमक्ष उजुरी दायर गर्ने प्रयास गरे पनि असफल भएपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
उनले सोही वर्षको अक्टोबरमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकि थिइन् ।
नवनियुक्त प्रदेश प्रमुख शर्मिला तत्कालीन एकीकृत माओवादी निकट राज्यद्वारा बेपत्ता योद्धा समाजको अध्यक्ष पनि भएकी थिइन् । अहिले उनी सो संस्थाको सल्लाहकार छिन् ।
बुवा नरेन्द्रराज पन्त र आमा सिता पन्तको कोखबाट २०२५ साल पुस १८ गते जन्मिएकी उनले। स्नातक तहसम्मको अध्ययन गरेकी छिन् । उनका एक छोरी छिन् ।
२०५७ सालमा तत्कालीन नेकपा (माओवादी) को सदस्यता लिएर राजनीतिक शुरु गरेकी त्रिपाठीले २०६५ सालमा नेपाल वायुसेवा निगमको बोर्ड सदस्यको जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार