१२ श्रावण २०८१, शनिबार

प्रत्येक नागरिकले न्यायको अनुभूति गर्न पाउनु पर्छ– मुख्यमन्त्री भट्ट



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रत्येक नागरिकलाई संविधान र राज्यले आफूलाई न्याय गरेको अनुभूति गर्न पाउनुपर्ने बताएका छन् । मुख्यमन्त्री भट्टले संविधानले व्यवस्था गरेका हकअधिकारको कार्यान्वयन सबैको प्रमुख कार्यभार रहेको चर्चा गरे ।


“संविधानले व्यवस्था गरेका नागरिक हकअधिकार आफैं प्रयोगमा आउने होइनन्” नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) को प्रथम सुदूरपश्चिम प्रादेशिक महाधिवेशनको बिहीबार धनगढीमा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भने– त्यसैले कोहीकसैले पनि आफू अधिकारबाट बञ्चित भए भन्ने महसुस गर्न नपाउन् भन्नका लागि संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन मुख्य कार्यभार हो ।
उनले परिवर्तनलाई संस्थागत गर्ने अहम् भूमिका मिडियाको रहेको चर्चा गरे । भने– मिडियाले परिवर्तित शासकीय संरचनाको स्पष्ट र सकारात्मक विश्लेषण सहित प्रस्तुत हुन आवश्यक छ । उनले प्रदेश सरकारले सबै सरोकारवालाको प्रतिनिधित्व र स्वामित्व सहितको प्रादेशिक सञ्चार नीति तथा कानुन तर्जुमा प्रक्रिया अघि बढाइएको बताए ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले मिडियाले “जस्तो दृष्टि त्यस्तै श्रृष्टि नभएर जस्तो श्रृष्टि त्यस्तै दृष्टि” को भूमिका निर्वाह गर्न आग्रह गरे । उनले मिडिया राज्यको “बाचडग” भएकाले निकै सजग र संवेदनशील भएर भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मन्त्री शाहले प्रदेश सरकारले पत्रकार महासंघ सहितका सञ्चार आवद्ध संघसंस्था तथा सञ्चारकर्मी र समग्र सञ्चार क्षेत्रको विकासका लागि भौतिक, आर्थिक, कानूनी सहायतालाई निरन्तरता दिने बताए ।
कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले फोनिजले शुरु गरेको नेपाली पत्रकारितामा समावेशीताको मुद्दा अन्ततः संविधानले स्वीकार गरेर लिपिवद्ध गरेको स्मरण गरे ।
अध्यक्ष गुरुङले समावेशी मिडिया, समावेशी समाचार सामग्रीले नै नेपाली मिडियालाई सबैको साझा तथा व्यवसायिक मिडिया बनाउने चर्चा गरे । उनले भने– समावेशी कन्टेन्ट सहितको मिडिया नै व्यवसायिकताको उच्चतम रुप हो । एकल भाषा तथा समाचार सामग्रीले मियिालाई सबैको साझा बनाउन सक्दैन ।
सु्दूरपश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले कुनै पनि पेसा, वर्ग, समुदाय तथा जातजातिलाई पछाडी पारेर आफु अघि बढ्छु भन्ने सोच सर्वथा गलत भएको चर्चा गरे ।

फोनिजको प्रदेश समिति गठन


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशको बिहीबार धनगढीमा भएको प्रथम महाधिबेशनले भिम चौधरीको नेतृत्वमा प्रदेश कार्यसमिति गठन गरेको छ ।
प्रादेशिक महाधिवेशनले सर्वसम्मत रुपमा गठन गरेको प्रदेश कार्यसमितिको उपाध्यक्षमा किशोर तामाङ र चन्द्रिका चौधरी, महासचिवमा धनबहादुर कुस्मी, सचिवमा रञ्जित लामा, र सुधराम दहित तथा कोषाध्यक्षमा बलराम चौधरी चयन भएका छन् ।
त्यस्तै, सदस्यमा दिनेश चौधरी, सुमिरन चौधरी, हरि चौधरी र नरेन्द्र चौधरी चयन भएका छन् ।
प्रादेशिक महाधिवेशनमा ३७ जना पार्षदको उपस्थिति रहेको थियो ।

प्रमुख सचेतक तामाङले आदिवासी जनतातिको मौलिक सीपज्ञान, कलाको स्वाभाविक रुपमा विकास हुन दिनुपर्ने बताए ।
प्रदेश सभा सदस्य वीरभान चौधरीले पुराना नीति तथा ऐनकानूनले अहिलेका मुद्दा र सवालको सम्बोधन गर्न नसक्ने चर्चा गरे । उनले भने– त्यसैले उत्पीडित वर्ग समुदायका सवाललाई अझ प्रभावकारी ढंगले उठाउनेतर्फ मिडियाले भूमिका निर्वाह गर्नुपर्दछ ।
प्रदेश सभा सदस्य चौधरीले नियमित समाचार सामग्रीले पछाडी पारिएका वर्ग, समुदाय, क्षेत्र तथा समुहकोे आवाजलाई उजागर गर्न नसक्ने भएकाले मिडियाले बढी गम्भीर र संवेदनशील भएर काम गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले मिडियाको विकासका लागि प्रदेश सरकारले ठोस योजना र कार्यक्रम बनाउनु पर्ने बताइन् ।
कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले कतिपय मिडिया र सञ्चारकर्मीले जथाभावी र पूर्वाग्रही ढंगले सम्प्रेषण गर्ने समाचारका कारण हैरान हुनुपरेको गुनासो गरे ।
कार्यक्रममा फोनिजका उपाध्यक्ष लक्की चौधरी, नेपाल आदिवासी जनजाति महासंघका सु्दूरपश्चिम प्रदेश अध्यक्ष दलबहादुर घर्ती, फोनिज कर्णाली प्रदेश अध्यक्ष अशोक राजी, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाह र कैलाली जिल्ला अध्यक्ष जगत साउदे शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम फोनिजका सुदूरपश्चिम इन्चार्ज रामचन्द्र कुश्मीको अध्यक्षतामा भएको थियो । फोनिज कैलालीका अध्यक्ष लखन चौधरीले सञ्चालन गरेको कार्यक्रममा हेमन्ती चौधरीले स्वागत गरेकी थिइन् ।
महाधिवेशन उदघाटन समारोहमा थारु पत्रकार संघ, कञ्चनपुरका अध्यक्ष तथा पहिचान पत्रिकाका सम्पादक धनबहादुर कुश्मीलाई दश हजार एक सय एक रुपैया पुरस्कार राशीको जगत स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो ।

नौ बुँदे घोषणापत्र जारी

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को बिहीबार धनगढीमा भएको प्रथम सुदूरपश्चिम प्रादेशिक महाधिवेसनले नौ बुँदे धनगढी घोषणापत्र जारी गरेको छ ।
महाधिवेशनले घोषणापत्रमार्फत टीकापुरको फूलबारी एफएमका सञ्चालक तथा सञ्चारकर्मी रेशमलाल चौधरीलाई विना शर्त रिहा गर्न माग गरेको छ ।
घोषणापत्रमा आम सञ्चारलाई पूर्ण समावेशी बनाउन प्रदेश सरकारले बनाउने सञ्चारसंग सम्बन्धित ऐन कानून पूर्ण समावेशी सिद्धान्तका आधारमा बनाउनु पर्ने उल्लेख छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कार्यरत आदिवासी जनजाति पत्रकारहरूको विवरण संलकन गरी शाखा विस्तार गरिने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा मातृभाषाका सञ्चार माध्यमको वृत्ति विकासको लागि प्रदेश सरकार तथा स्थानीय सरकारको तर्फबाट आवश्यक आर्थिक सहयोग माग गर्ने, स्थानीय तह तथा प्रदेश सरकारसंग समन्वय गरी आदिवासी जनजाति पत्रकारहरूको क्षमता अभिबृद्धिका कार्यक्रम तथा गतिविधि सञ्चालन गर्ने, हालसम्म आदिवासी जनजाति पत्रकार महिलाहरूको संख्या अति न्यून भएकोले उनिहरूको संख्यात्मक र गुणात्मक स्तर बृद्धिमा विशेष जोड दिने, मूलधारको सञ्चार माध्यममा आदिवासी जनजाति पत्रकारहरूको पहु“च बृद्धि गर्ने तथा आदिवासी जनजातिका व्यक्तिबाट सञ्चालित सञ्चार माध्यमको स्तर बृद्धिको लागि पैरवी गर्ने घोषणापत्रमा उल्ल्ेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार