१७ बैशाख २०८१, सोमबार

सम्पादकीय– राजकाँडा : महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सम्भावना



सूर्यादय दृश्यावलोकनका लागि सहज स्थानका लागि चिनिएको तर, विभिन्न कारणले अहिलेसम्म ओझेलमा परेको कैलालीको राजकाँडा केवलकार निर्माण प्रक्रियाको शुरुवातसँगै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सम्भावना प्रबल भएको छ । जाल्पादेवी केवलकार कम्पनीले कर्णालीको चिसापानीदेखि राजकाँडा जोड्ने तीन किलोमिटर लामो केवलकार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन लगायतका कार्य अघि बढाएको छ । यो करिब अढाई अर्ब रुपैयाँको परियोजना हो र जाल्पादेवी केवलकार कम्पनीले चन्द्रागिरी केवलकार कम्पनीसँगको साझेदारीमा यो परियोजना निर्माण गर्ने जनाएको छ । र, यो परियोजना पुरा भएपछि निश्चित रूपमा राजकाँडा कैलालीको मात्रै नभएर सुदूरपश्चिम प्रदेशकै प्रमुख मध्येको एक पर्यटकीय गन्तव्य बन्नेमा विमति रहँदैन । राजकाँडाबारे धेरै अघिदेखि निकै चर्चा भइरहेका छन् । कर्णाली चिसापानीबाट जम्मा छ किलोमिटर टाढा रहेको भए पनि कठिन भौगोगिक अवस्थिति र दुरुह बाटोका कारण चाहेर पनि पर्यटकहरू त्यहाँ पुग्न सक्दैनन् । अथवा त्यहाँ पुगे पनि होटल, लज, खाना, शुद्ध खानेपानी आदिको अभावका कारण पर्यटकहरूले फेरि त्यहाँ आउने आँट गर्न सकिरहेका हुँदैनन् । केवलकार निर्माणपछि चिसापानीबाट राजकाँडासम्मको यात्रा करिब २० मिनेटको मात्रै हुने छ र स्वाभाविक रूपमा केवलकार निर्माण पछि राजकाँडा भ्रमणमा जाने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।
तर, यत्तिले मात्रै राजकाँडा पर्यटन विकास सम्भव हुँदैन भन्ने पनि अहिलेदेखि नै मनन् गर्नु आवश्यक छ । त्यसै पनि पर्यटन विकासका लागि निकै उर्बर भएर पनि अहिलेसम्म कैलालीसहित सुदूरपश्चिमको पर्यटनको अवस्था दयनीय रहेको छ । सुदूरपश्चिमको प्रमुख पर्यटन गन्तव्यका रूपमा रहेको मानिएको खप्तड, बडिमालिका, शुक्लाफाँटा तथा अपि, सैपाल हिमालका साथै वैद्यनाथ, उग्रतारा, सैलेश्वरी लगायतका धार्मिक स्थल र अन्य पर्यटकीय स्थलमा पर्यटक आगमनको स्थिति अझै पनि दयनीय नै रहेको छ । प्रशस्त पर्यटन गन्तव्य भएर पनि आन्तरिक तथा बाह्य पर्यटकको आमगनमा बृद्धि नहुनुका पछाडि एउटै कारण भनेको आवश्यक भौतिक पूर्वाधारको अभाव नै हो । त्यसैले सुदूरपश्चिम प्रदेशमा पर्यटन अझैं पनि समृद्धिको ठोस आधार बन्न सकेको देखिदैन । न त स्थानीय, प्रदेश तथा संघीय सरकारका तर्फबाट अझैं पनि सुदूरपश्चिममा पर्यटन विकासका लागि ठोस दीर्घकालीन योजना र कार्यक्रम नै तर्जुमा गरिएको अवस्था छ ।
कर्णाली चिसापानीसम्म राम्रो सडक यातायात सुविधा रहेकोले राजकाँडासम्म केवलकार सञ्चालनले कम्तिमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, अछाम, डोटी सहितका जिल्ला तथा नजिकका भारतीय शहरबाट पर्यटकको आगमन बृद्धि हुने अपेक्षा गर्न सकिन्छ । अहिले राजकाँडामा निजी क्षेत्रले केवलकार निर्माण प्रक्रिया अघि बढाएको छ । यससँगै, तीनै तहका सरकारले राजकाँडासम्म सुविधाजनक पैदल मार्ग, खानेपानी, पर्यटन सूचना केन्द्र, स्वास्थ्य उपचार सुविधा, सुरक्षाका साथै सूर्योदय दृश्यावलोकनका लागि आधुनिक भ्यू टावर निर्माणमा समन्वयात्मक ढंगले ठोस योजना अघि बढाउनु आवश्यक छ । त्यसैगरी, निजी क्षेत्रलाई कर्णाली चिसापानी वा नजिकका स्थानका साथै राजकाँडामा सुविधासम्पन्न होटल खोल्नका लागि आकर्षित गर्न कर तथा ऋणमा अनुदानको व्यवस्था समेत गर्नु आवश्यक छ । राजकाँडा केवलकार निर्माण प्रक्रिया निजी कम्पनीले अघि बढाइरहेको भए पनि राजकाँडालाई प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार