२२ बैशाख २०८१, शनिबार

वैदेशिक रोजगारका समस्या : मृतकको बिमा रकम पनि छोडेनन् दलालले



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११, ऐंठाका राजेशकुमार चौधरी २०७१ मंसिरमा वैदेशिक रोजगारीका लागि मलेसिया गए । उनी कञ्चनपुर, कृष्णपुरका विष्णुप्रसाद चौधरी र कैलाली मसुरियाका चन्द्रबहादुर चौधरी मार्फत् मलेसिया गएका थिए ।
राजेशले मलेसियामा चार महिनासम्म राम्रैसँग काम गरे । अचानक २०७२ बैशाख ७ गते उनको मृत्यु भयो । उनको शव घरमा आयो । परिवारले काजकृया गरेपछि वैदेशिक रोजगार विभागमा पाउने आर्थिक सहायता र बिमा रकमको लागि निवेदन दिए ।
राजेशकी श्रीमती पुष्पाकुमारी चौधरीले बिमा कम्पनीबाट पाँच लाख रुपैयाँ र वैदेशिक रोजगार विभागबाट तीन लाख रुपैयाँ पाउने भइन् । तर, त्यो रकमममा राजेशलाई मलेसिया पठाउने बिष्णु र चन्द्रको आँखा गाडियो । उनीहरू त्यो रकम हात पार्ने युक्तिमा लागे । चन्द्रले पुष्पालाई डेढ कठ्ठा जमीन पास गरिदिने भनेर छ लाख ६५ हजार रुपैयाँ फुत्काउन सफल भए । अर्कोतिर विष्णुले मासिक तीन प्रतिशत ब्याज दिने भनेर पुष्पासँग एक लाख ५० हजार रुपैयाँ हात पारे ।
तर, दुवै जनाले ‘आजभोलि’ भन्दै तीन वर्षसम्म न त पुष्पालाई जमिन पास गरिदिए न रकम फिर्ता दिए न त व्याज ।
युवावस्थाका श्रीमानको अकालमा मृत्यु भएको असह्य पीडा सहेर बाचिरहेकी पुष्पालाई उनकै नामबाट प्राप्त भएको बिमा रकम र वैदेशिक रोजगार विभागको क्षतिपूर्ति रकम समेत गुमेपछि मरु न बाचु हुन थाल्यो । न्यायका लागि कहाँ जाऊ ? के गरुँ ? भन्ने छटपटी भइरहेको थियो ।
यही छटपटीमा रहेकी पुष्पाले २०७४ साल चैतको एक दिन रमेश विकलाई भेटिन् । रमेश सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका रिटर्नी स्वयंसेवक थिए । उनी घरभेटका लागि पुष्पाको घर गएका थिए । त्यहाँ पुष्पाले रिटर्नी स्वयंसेवक रमेशसँग आफ्नो पीडा सुनाइन् । रमेशले उनको समस्या सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र र आप्रवासी कामदार हकहित संरक्षण केन्द्रमा पुर्‍याए ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको पहलमा गौरीगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मिलन सापकाेटाको रोहवरमा दलालहरू विष्णु र चन्द्रसँग पुष्पाको छलफल भयो । पहिलो बैठकमा कुरा मिलेन । दोस्रो पटकको छलफलमा दुबै जना दलालले आफ्नो प्रतिवद्धता पुरा गर्ने वचन दिए । विष्णुले एक महिनाभित्रै व्याज सहित रकम फिर्ता दिने प्रतिवद्धता गरे । चन्द्रले डेढ कठ्ठा जमीन पुष्पाको नाममा पास गर्ने प्रतिवद्धता जनाए । नगरपालिकाले सो छलफलको माइनुट बनायो ।
पुष्पाले बिष्णुबाट २०७५ असार १३ गते साँवा र व्याज गरी दुई लाख एकानब्बे हजार दुई सय रुपैयाँ फिर्ता पाइन् । अर्को दलाल चन्द्रले आउदो मंसिरमा डेढ कठ्ठा जमीन पास गरिदिने भनेका छन् । यसले गर्दा आफ्नो जीवनका राहत महसुस भएको पुष्पाले बताइन् ।
कैलाली जिल्लामा काम गर्न थालेपछि सुरक्षित आप्रवासन परियोजनाले हालसम्म स्थानीयस्तरमा ४२ जनालाई ६२ लाख २८ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । भने राष्ट्रियस्तरबाट (वैदशिक रोजगार विभागमार्फत् न्यायाधिकरणमा मुद्दा जिताएर) २२ जनालाई एक करोड २९ लाख ८२ हजार एक सय आठ रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । जम्मा ६४ जनालाई एक करोड ९२ लाख १० हजार तीन सय आठ रुपैयाँ क्षतिपूर्ति दिलाएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रले जनाएको छ ।
सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गतको सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता लक्ष्मी चौधरीले वैदेशिक रोजगारमा लगाई दिने बहानामा रकम लिई विदेश नपठाएको, विदेश जान भनि भारतका विभिन्न ठाउँ घुमाएर फर्काएको, विदेश पुगेपछि काम र तलब नपाएको, विदेशमा गरिने स्वास्थ्य परीक्षण फेल भई फर्केको, वैदेशिक रोजगारको शिलशिलामा विरामी भएर फर्केको, दुर्घटना परी घाइते अशक्त भएका व्यक्ति र वैदेशिक रोजगरको क्रममा मृत्यु भए परिवारलाई क्षतिपूर्ति दिलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार