१२ श्रावण २०८१, शनिबार

निर्मला बलात्कार र हत्या काण्ड : बल्झिँदै अनुसन्धान प्रकरण



धनगढी । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको दुई महिना नाघिसकेको छ । तर अहिलेसम्म प्रहरीले सो घटनाको सत्यतथ्य तथा वास्तविक दोषिको पत्ता लगाउन सकेको छैन । घटनाको अनुसन्धानका लागि एक पछि अर्को छानबिन समिति, टोली बनेका छन्, तर घटना झन् पेचिलो बन्दै गएको छ ।

निर्मला पन्त

बलात्कार हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरिएका मानसिक अवस्था कमजोर भएका दिलिपसिंह बिष्टको डिएनए जाँचमा निर्दोष ठहरिएपछि उनी रिहा भइसकेका छन् । स्थानीयको लगातारको आन्दोलन र दवावपछि कञ्चनपुरका तत्कालीन एसपी डिल्लिराज बिष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका आयुष बिष्टको डिएनए परीक्षण भयो । कञ्चनपुरका डिएसपी कृष्ण ओझाका अनुसार तीनै जनाको डिएनए परीक्षणको नतिजा निर्मलाको ‘भेजाइनल स्वाव’ मा भेटाइएको हत्याराको शुक्रकिटको डिएनएसँग ‘म्याच’ खाएको छैन ।
शंकाको घेराभित्र तानिएका व्यक्तिहरूको डिएनए मेल नखाएपछि अब अनुसान्धान कसरी अगाडि बढ्छ भन्नेमा प्रश्न उठ्न थालेको छ । अनुसन्धानमा खटिएका प्रहरीले नै गम्भीर त्रुटि गरेको भन्दै उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । अनुसन्धानका क्रममा गल्ती गरेको भनिएका व्यक्तिको डिएनए रिपोर्टका आधारमा प्रत्यक्ष रूपमा संलग्नता नदेखिएपछि अनुसन्धानको पाटो झनै पेचिलो बनको हो ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले अनुसन्धानका अन्य पाटाहरू बाँकी रहेको र अनुसन्धान पनि जारी रहेको बताए । उनले भने– “यो घटनाको अनुसन्धानका पाटो डिएनए मात्रै छैन, अरू पनि छन् । जसका आधारमा हामीले अनुसन्धान पनि गरिरहेका छौं । प्रहरी प्रधान कार्यालयले एसपी दुर्गा चन्दको नेतृत्वमा टोली पठाएको छ ।”
त्यस्तै, पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी ठाकुर ज्ञवालीको कमाण्डमा रहेको टोलले पनि घटनाको अनुसन्धान जारी राखेको छ । भने कञ्चनपुर जिल्ला प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा खटिएको प्रहरी टोलीले अहिले सुक्ष्म रूपमा अध्ययन गरिरहेको प्रहरीले जनाएको छ ।
घटनाको प्रमाण लुकाउने काम गरेको, अनुसन्धानमा लापरवाही गरेको लगायतका आरोप लागेका कञ्चनपुरका तत्कालीन एसपी बिष्ट निलम्बनमा रहेका छन् ।
अनुसन्धानमा प्रहरीले गम्भीर लापरवाही भएको देखिएपछि प्रहरी प्रधान कार्यालयले एआइजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले अनुसन्धानमा खटिएका प्रहरीलगायत अन्य प्रहरीसँग बयान लिइरहेको छ । केही प्रहरीको ‘पोलिग्राफ’ विवरण पनि समितिले लिएको छ । तर, ‘पोलिग्राफ रिपोर्ट’मा केही देखिएको छैन । घटनास्थलमा गएका प्रहरी र अनुसन्धानमा खटिएका प्रहरीको मोबाइल परीक्षण, कल डिटेललगायतका कुरा पनि जाँच गरिएको छ । त्यसमा कुनै तथ्य फेला परेको छैन ।
समितिले केही तथ्य फेला नपारेपछि एआइजी बस्न्यातको टोली घटनास्थल कञ्चनपुरसमेत जानेबारे छलफल भएको स्रोतले जानकारी दियो । एक–दुई दिनमा अनुसन्धानमा खटिएका प्रहरीको बयान लिइसकेपछि कञ्चनपुर जाने कुरा भएको स्रोतले जानकारी दियो । जाने/नजाने भन्नेबारे टुंगो भने लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार