२१ बैशाख २०८१, शुक्रबार

प्रदेश राजधानी र नामबारे संसदमा वहस, बाहिर आन्दोलन



धनगढी । सात नम्बर प्रदेशको राजधानी राख्ने स्थान र नामबारे बुधबारदेखि प्रदेश सभामा वहस छलफल शुरु भएको छ । यससँगै धनगढी मै राजधानी हुनुपर्ने माग सहित सडक तातेको छ । बुधबार प्रदेश सभामा राजधानी र नामबारे सांसदहरूले छलफल गरिरहँदा संसद भवन बाहिर दिनभरी चर्को नाराबाजीसहित विरोध प्रदर्शन भएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड, स्थानीय जनप्रतिनिधिहरू र ठूलो संख्यामा आएका स्थानीयहरूले प्रदेश सभा घेराउसँगै नारावाजी गरे । सडकमा टायर बालेर विरोध गरे ।
प्रदर्शनकारीले प्रदेशको राजधानी धनगढी मै हुनुपर्ने एकसुत्रीय माग अघि सारेका छन् । मंगलबार प्रदेश ७ को नामांकन तथा राजधानीको टुंगो लगाउन गठित विशेष समितिले बुझाएको प्रतिवेदन बुधबारको प्रदेश सभा बैठकमा पेस भएको छ । विशेष समितिले बुझाएको प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम र प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्बर ४ तेघरीमा राख्ने उल्लेख छ ।
बुधबार संसदमा प्रतिवेदनबारे छलफल भइरहेका बेला धनगढी नगरका स्थानीय तथा जनप्रतिनिधिहरू गेटबाहिर राजधानी धनगढी हुनुपर्ने मागसहित नाराबाजी गरिरहेका थिए । उनीहरूले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, विशेष समितिका संयोजक तारा लामा तामाङविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
आन्दोलनकारीहरूले प्रदेश राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण भइसकेको र अरू सबै सुविधाका दृष्टिकोणबाट धनगढी नै राजधानीका लागि उपयुक्त भएको बताएका छन् ।
विरोध कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख वडले प्रदेशको राजधानी धनगढीबाट अन्यत्र सार्न खोजिए आन्दोलन उग्र बनाइने चेतावनी दिए ।
विरोध कार्यक्रममा नागरिक समाजका अध्यक्ष हरि रेग्मीले भुमाफिया र वन माफियाको खेलमा परेर प्रदेश सरकारले राजधानी गोदावरीको तेघरीमा राख्न खाजेको आरोप लगाए । उनले गोदावरी, तेघरीमा रहेको घना तथा बहुमूल्य वनजंगल विनाश गर्ने खेलमा राजधानी सार्ने प्रयास भइरहेको बताए ।
विरोध कार्यक्रममा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी, वडा नम्बर २ का वडाध्यक्ष नरबहादुर बम, ४ का वडा अध्यक्ष दीपक थापा, ८ नम्बरका वडा अध्यक्ष नारायण बराल, १३ का वडा अध्यक्ष विजय जोशी, वडा सदस्यहरू, विद्यार्थी, नागरिक अगुवा, व्यापारी, बुद्धिजीवी, युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
बाहिर विरोध भइरहँदा सरकारले प्रदेश सभा भवनभित्र र बाहिर कडा सुरक्षा व्यवस्था गरेको थियो । प्रदेश सभा भवनबाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ ।
यसअघिको प्रदेश सभामा बैठकको बेला सर्वसाधारणलाई सभा भवनको प्रांगणमा प्रवेश गर्न दिइन्थ्यो भने बुधबारको बैठकमा गेटभित्र सर्वासाधारणलाई छिर्न दिइएन ।
उता, ७ नम्बर प्रदेशको राजधानी र नामाकरणका लागि गठित सुझाव समितिले प्रदेशका जनताको भावना विपरित एकलौटी तवरले प्रदेश सभामा प्रतिवेदन पेस गरेको भन्दै डोटीमा पनि आन्दोलन चर्किएको छ ।
बुधबारको दिपायलका घरघरमा विरोध स्वरूप कालो झण्डा टाँगिएको छ । आज (बिहीबार) देखि विरोध र्‍याली सहित जिल्ला प्रशासनमा कोण सभा गर्ने, पिपल्ला बजारमा विरोध प्रदर्शन सहित कोणसभा गर्ने र असोज १२ गतेदेखि अनिश्चितकालीन डोटी बन्द गर्ने निर्णय भएको आन्दोलनका अगुवा तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए ।

राजधानी र नामांकनबारे संसदमा जुहारी

सात नम्बर प्रदेशको नामाकंन र स्थायी राजधानी राख्ने विषयमा बुधबारको प्रदेश सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच जुहारी चलेको छ ।
बुधबार प्रदेश सभामा भएको छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूका बीच प्रदेशको नाम र राजधानीका विषयमा साढे तीन घण्टासम्म चर्को जुहारी चलेको थियो ।
सात नम्बर प्रदेशको नामाकंन र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिले मंगलबार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरीको तेघरीमा राख्न सुझाव दिएको थियो । सो प्रस्तावमाथि भएको छलफलमा भाग लिदै सत्तापक्षका सांसदहरूले प्रदेशको नाम र राजधानी वैज्ञानिक ढंगले तय गरिएको तर्क गरे ।
प्रतिपक्षी सांसदहरूले प्रदेशको नाममा खासै विरोध नगरे पनि तेघरीमा राजधानी राख्ने प्रस्तावमा चर्को आलोचना गरे । प्रतिपक्ष सांसदहरूले तेघरी गोदावरीमा राजधानी बनाउँदा घना वनजंगल मासिने र भौतिक संरचना निर्माणमा अर्बौ रुपैयाँ अनावश्यक खर्च हुने तर्क गरे ।
छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले प्रदेशको नाम र राजधानी बारे सुझाव दिन गठित विशेष समितिले गहनता र गम्भीर नदेखाएको बताए । उनले सत्तापक्षले संसदमा आफ्नो बहुमत छ भन्ने दम्भ र अहंकार देखाएको आरोप लगाए । नेता रावलले साढे दुई वर्षको सम्पूर्ण खर्च लगाउँदा पनि प्रदेशका संरचना बन्न नसक्ने भएकोले पर्याप्त संरचना रहेको धनगढी वा दिपायलमा राजधानी राख्नु उचित हुने बताए ।
काँग्रेसकै सांसद भरतबहादुर खड्काले गोदावरी, तेघरीमा राजधानी राख्नु भनेको कैलाली र कञ्चनपुरको उर्वर उब्जाउ भूमि नाश गर्नुु भएको बताए ।
काँग्रेसका सांसद गोविन्द बोहराले बहुमूल्य वनजंगल काटेर पर्यावरण जोगाउन नसकिने भएकोले गोदावरी राजधानी हुन नसक्ने धारणा राखे ।
धनगढी क्षेत्रबाट निर्वाचित काँग्रेसका सांसद डिल्लीराज पन्तले धनगढीमा राजधानीका लागि पर्याप्त जग्गा तथा भौतिक संरचना भएको चर्चा गरे । उनले भने– “गोदावरीमा राजधानी बनाउनु भनेको वन माफिया, भूमाफिया र पप्पु कन्ट्रक्सन सलबलाउनु हो ।”
नेपाली काँग्रसका अम्बी थापा, कर्णबहादुर मल्ल लगायतका सांसदहरूले राजधानी होइन्, प्रदेश नमुना बनाउन आग्रह गरे ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसद कृष्णकुमार चौधरीले प्रदेशको नाम थोत्रो रहेको र राजधानी पनि अपराध गरेर भारत भाग्न सकिने भएकोले पहाडमा राख्न उपयुक्त हुने बताए ।
छलफलमा भाग लिँदै सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद लालबहादुर खड्काले विशेष समितिले ल्याएको प्रस्ताव भोलिको पुस्ताले सम्झने खालको भएको दावी गरे ।
सत्तापक्षकै सांसद प्रकाश रावलले सुदूरपश्चिमेलीको पहिचान बनिसकेकोले सुदूरपश्चिम प्रदेश उपयुक्त नाम भएको तर्क गरे । उनले नौ वटै जिल्लाको संगमस्थल भएकोले गोदावरी राजधानीका लागि उपयुक्त हुने बताए ।
सत्तापक्षकै सांसद पूर्णा जोशीले आफू व्यक्तिगतरूपमा दिपायल राजधानी हुनुपर्छ भन्ने मान्यता राख्ने भए पनि त्यहाँ रहेका निर्देशनालय, तालिम केन्द्र र डिभिजन कार्यालय यथावत राख्न प्रदेश सरकार तयार भएकोले आफू पनि विशेष समितिको सुझावमा मान्न सहमत भएको बताइन् ।
सत्तापक्षका सांसद रतन थापाले विशेष समितिको सुझाव सुन्दर र उपयुक्त रहेको दावी गरे । उनले भने– “चार लेन सडक बन्ने वित्तिकै धनगढीबाट गोदावरी पाँच मिनेटमा पुगिन्छ । फास्ट ट्रयाक बनेपछि डोटीबाट ४० मिनेटमा गोदावरी पुगिन्छ ।
सत्तापक्षका सांसदहरू लीलाधर भट्ट, बलबहादुर सोडारी, हर्क कुँवर, शान्ति नेपाली, दुर्गा कामी, मानबहादुर धामी र अक्कल रावलले प्रदेशको नाम र राजधानीका विषयमा एकमत भएर जान र एकताको सन्देश दिन प्रतिपक्ष पनि सकारात्मक हुन आग्रह गरे ।
सात नम्बर प्रदेशको नामाकंन र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिका संयोजक तारा लामा तामाङले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विदेशका समेत अनुभव समेटेर सर्वसम्मतरूपमा नाम र राजधानी बारे सुझाव दिएको चर्चा गरे ।
प्रदेशको नाम र राजधानी बारे टुंगो लगाउन शुक्रबार दिउँसो ११:३० बजे प्रदेशसभाको बैठक बस्ने भएको छ ।
नाम र राजधानीको निर्णय लिन दुई तिहाइ सांसदको समर्थन आवश्यक हुन्छ । ५३ सदस्यीय प्रदेश सभामा नेकपा (नेकपा) का ३९ जना सांसद रहेका छन् ।

काँग्रेसबाट संशोधन प्रस्ताव दर्ता

यसैबीच, नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिका वडा नम्बर १, धनगढी मै प्रदेश राजधानी रहनुपर्ने भन्दै प्रदेशसभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएको छ । सो प्रस्तावको प्रस्तावक सांसद डिल्लीराज पन्त र समर्थक नन्दाकुमारी बम रहेका छन् ।
त्यस्तै प्रदेशसभामा छलफलमा रहेको प्रस्तावलाई कानूनी प्रक्रिया पुरा गर्न नेकपा (नेकपा) ले पनि प्रस्ताव दर्ता गराएको छ । सो प्रस्तावमा नेकपा (नेकपा) का प्रमुख सचेतक तारा लामा तामाङ प्रस्तावक, वीरमान चौधरी र शान्ति नेपाली सर्मथक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार