१२ श्रावण २०८१, शनिबार

कृष्ण जन्माष्टमी तथा अष्टिम्की भव्यताका साथ मनाइयो



धनगढी । हिन्दू धर्मावलम्वीले आइतबार भगवान श्रीकृष्ण जन्माष्टमी तथा थारू समुदायले ‘अष्टिम्की’ पर्व भव्यताका साथ मनाएका छन् ।
कृष्ण जन्माष्टमीका अवसरमा विभिन्न मठ मन्दिरमा पूजाआजा, प्रवचन, भजनकिर्तन लगायतका कार्यक्रमहरू आयोजना गरिएको छ ।
जनमोत्सवको अवसरमा ओम शान्ति धनगढीले आयोजना गरेको कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले आध्यात्म नै शान्तिका लागि उपयुक्त बाटो भएको चर्चा गरे ।
नगरप्रमुख वडले आध्यात्मिक विचारको प्रवद्र्धनले समाजमा अपराधिक घटनाहरूमा कमी आउने बताए । उनले भने– अहिले नैतिकता र आध्यात्मिक विचारको अभावले समाज बिग्रीदै गएको छ ।

फाइल तस्बिर

उनले समाजमा धर्म र संस्कार भुलेकाहरूका कारण नै हाल सामुदायिक पशुचौपया व्यवस्थापनमा ठूलो समस्या सिर्जना भइरहेको बताए । उनले दूध खाएर सडकमा गाई छोड्नेहरू नै ठूलाठूला कुरा गर्ने गरेको टिप्पणी गरे । “आफूलाई धर्मगुरु भन्नेहरूले समेत सडकमा छाडा गाई छोड्ने गरेका छन्” उनले सस्तो लोकप्रियताका लागि एकदुई रुपैयाँ चन्दा उठाएर गौरक्षा गर्छु भन्नेहरूबाट समस्या समाधान नहुने बताए ।
उता, कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ सुनाहाँफाँटामा आइतवार कृष्ण जन्माष्टमी पर्व धुमधामका साथ मनाइएको छ । स्थानीय राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको अगुवाइ तथा स्थानीयको सहयोगमा ६ सय जनालाई भण्डारा खुवाइएको छ ।
स्थानीय वासिन्दाले हिन्दू धर्मावलम्बीहरूको एक महान पर्व कृष्ण जन्माष्टमी पर्वलाई धुमधामका साथ मनाउन स्व:स्फूर्त रूपमा आफूसँग भएको आर्थिक तथा अनाज सहयोग गरेका व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद ढुंगानाले बताए ।
स्थानीय क्षेत्रमा पछिल्लो समय आध्यात्मिकतातर्फ मानिसहरूको चाँसो घट्दै जान थालेपछि आफूहरूले त्यसलाई अगाडि बढाउनुपर्ने सोचका साथ भव्य रूपमा श्री कृष्ण जन्माष्टमी पर्व मनाउने निर्णय गरेको अध्यक्ष ढुंगानाले बताए ।
‘धर्मले जोड्दछ, तोड्दैन’ भन्ने सन्देश प्रवाहका लागि समेत यस्ता खालका कार्यक्रमहरूको आयोजना हुनु जरुरी रहेको भन्दै भण्डारा व्यवस्थापन समितिका संयोजक कोकिला ढुंगानाले स्थानीय वासिन्दाहरूमा जागेको धार्मिक आस्थाको प्रशंसा गरिन ।
आध्यात्मिक ज्ञानले बालबालिका तथा युवा पिढीहरूमा सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले यस्ता खालका कार्यक्रमहरू समय समयमा आयोजना हुनु जरुरी रहेको जनकपुर प्रहरी चौकी सुनाहाँफाँटाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मानसिंह पन्तले बताए । सोही अवसरमा मन्दिरमा पूजाआज सहित मन्दिर परिसरमा भजन कृतन समेत गरिएको छ ।
भारतको वृन्दावनबाट आएका सन्त उमानन्द सरस्वती र धर्मदासको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । उपस्थित श्रद्धालुहरूलाई पण्डित रामप्रसाद उपाध्यायले धार्मिक ज्ञान प्रवचन सुनाएका थिए । राधाकृष्ण मन्दिर २ वर्षअघि स्थानीय नरबहादुर चन्दको अगुवाईमा निर्माण गरिएको थियो ।
यस्तै, सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बसोबास गरिरहेका थारू समुदायले अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाइरहेका छन् । तर, अष्टिम्की मनाउने तिथिमा अन्योल हुँदा थारू समुदायमा विभाजन पनि उत्तिकै देखिएको छ । बजारमा आएका विभिन्न खाले क्यालेन्डरमा पनि स्पष्टता नहुँदा एकथरिले आइतवार अष्टमीको ब्रत बसेका छन् भने अर्कोथरिले सोमबार ब्रत बस्ने तयारीमा छन् ।
ब्रतालु महिला आइतबार अष्टिमकीको पहिलो दिन बिहानै गाउँको भलमन्सा वा बडघरको घरको बहरी अर्थात् बैठक कोठाको उत्तरपट्टिको भागमा लिपपोत गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेष रूपमा सजाउँछन् ।
श्रीकृष्णको दाहिनेपट्टि सूर्य र बाँयापट्टि चन्द्रमाको चित्र बनाइन्छ भने दोस्रो लाइनमा सात भाइ कौरवको चित्र बनाउने गरिन्छ । तेस्रो भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जाँदा अवस्थाको ‘डोली’, दुलाहालाई पठाउन जाँदा अवस्थाको ‘डोला’, माछा, गंगटा, बाघ, हात्ती, मयुर, सर्प, बिच्छी, गाईलगायत विभिन्न चरा र जनावरको चित्र कोर्ने प्रचलन रहँदै आएको छ ।
यसरी श्रीकृष्ण भगवानको जीवनमा आधारित चित्र सजाइसकेपछि गाउँभरिका महिला तथा युवतीहरू नयाँ कपडा तथा परम्परागत लेहंगा, बिलाउज, चोलियालगायत पहिरनमा सजिएर लाइनबद्ध भएर अष्टिम्की टिक्न जाने बताउँछन् थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी । जुन अवस्था निकै रोचक र हेर्नलायक हुने बताउँदै संयोजक चौधरीले ब्रतालु महिलाले प्रसादको रूपमा काँक्रो, कुन्ढ्रु, आम्बालगायत फलफूल लैजाने गरेको बताए । जहाँ पूजा पश्चात् लगिएका फलफूल बाँडेर खाने गरिन्छ ।
रातभरि त्यही पूजा कोठामा पृथ्वीको उत्पत्ति, श्रीकृष्ण जन्म र लीला समेटिएको गीत गाउने समेत प्रचलन रहिआएको संयोजक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार