१२ श्रावण २०८१, शनिबार

जिल्ला न्यायधिवक्ता र अनुसन्धान अधिकृत संँगसँगै अनुसन्धानमा




कञ्चनपुर ।
करिब २६ वर्षपछि अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ता अपराध घटनाको संयुक्त रूपमा अनुसन्धान गरेका छन् ।
२०४९ सालअघिसम्म कुनै पनि अपराध घटनामा जिल्ला न्यायधिवक्ता र अनुसन्धान अधिकृतले संयुक्त रूपमा अनुसन्धान गर्ने गरिए पनि त्यसपछिका दिनमा त्यस्तो अवसर आएको थिएन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२, का बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सोमबार जिल्ला न्यायधिवक्ता र अनुसन्धान अधिकृतले संयुक्त रुपमा अनुसन्धान गरेका थिए ।
कञ्चनपुर प्रहरी प्रमुख (एसपी) कुबेर कडायतले भने– २०४९ सालअघिसम्म कुनै पनि अपराध घटनामा अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ताले संयुक्त रुपमा घटनास्थल पुगेर अनुसन्धान गर्ने गरेका थिए, त्यसपछि यो नै पहिलो संयुक्त अनुसन्धान हो । प्रहरी उपरीक्षक कडायतका अनुसार सोमबार कञ्चनपुरका जिल्ला न्यायधिवक्ता खेमराज ओझा र अनुसन्धान अधिकृत पुष्प ओझाले संयुक्त रूपमा घटनास्थल पुगेर अनुसन्धान गरेका थिए ।
सरकारी मुद्दा सम्बन्धी ऐन २०१७ ले कुनै पनि अपराध अनुसन्धान गर्दा अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ता संयूक्त रुपमा जानुपर्ने उल्लेख गरेको थियो । २०४९ सालमा ऐन संशोधन भएपछि त्यो व्यवस्था खारेज भएको थियो । ‘अहिलेको मुलुकी ऐनमा पनि त्यो व्यवस्था छैन’ जिल्ला प्रहरी प्रमुख कडायतले भने– तर, हामीले अनुरोध गरेमा आवश्यकता अनुसार जानुहुन्छ । उनले गम्भिर प्रकृतिका अपराधको अनुसन्धानमा दुवै अधिकृत संयुक्त रूपमा जाने गरेको बताए ।
प्रहरी उपरीक्षक कडायतले बालिका निर्मलाको बलात्कार तथा हत्या आरोपमा पक्राउ गरिएका दिलीपसिंह बिष्टलाई काठमाडौं पठाईएको बताए । उनले डिएनए परिक्षण तथा थप स्वास्थ्य चेकजाँचका लागि मंगलबार काठमाडौं लगिएको बताए ।
प्रहरीले केही दिनअघि पक्राउ गरेका बिष्टले आफूले निर्मलाको बलात्कार र हत्या गरेको स्वीकारेको दाबी गरेको थियो । प्रहरी अधिकारीहरूले दिलिपको डिएनए परीक्षणपछि नै विस्तुत जानकारी हुने बताएका छन् ।
यसैबीच, निर्मलाको हत्या घटनाको अनुसन्धानका शिलशिलामा प्रहरी नियन्त्रणमा रहेका रोशनी बम र बबिता बमको बयान सुरु भएको प्रहरीले जनाएको छ । मंगलबारदेखि उनीहरूको लिखित बयान सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुर जिल्ला अदालतले सोमबार उनीहरूलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
रोशनी मृतक निर्मलाकी साथी हुन् । भने बबिता रोशनीकी दिदी हुन् । बबिताको केही हप्ताअघि मात्र बिहेको इंगेजमेन्ट भएको बताइएको छ ।
मृतक निर्मलाका परिवारजन, आफन्त तथा स्थानीयले बम दिदीबहिनीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनु पर्ने शुरुदेखि नै दबाव दिए पनि प्रहरीले आलटाल गर्दै आएका् थियो । स्थानीयको व्यापक दबाब तथा आन्दोलनपछि प्रहरीले शनिबार बम दिदीबहिनीलाई पक्राउ गरेको थियो ।
सरकारले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षक हेरफेर गरेर नयाँ कोणबाट अनुसन्धान अघि बढाइएको छ ।

आफन्त अझैं ढुक्क छैनन्
मृतक बालिका निर्मलाका परिवारजन तथा आफन्त अझैं पनि वास्तविक दोषिले उन्मुक्ति पाउने हुन् कि भन्नेमा आशंका गरिरहेका छन् । प्रहरीले अझैं पनि दिलिपस्हि बिष्ट झैं कोही अरुलाई दोषिका रुपमा उभ्याउने हुन् कि भन्नेमा उनीहरू आशंका गरिरहेका छन् ।
निर्मलाकी कान्छी आमा लक्ष्मीले भनिन्– अनुसन्धान टोलीले अझैं पनि वास्तविक दोषीको पहिचान गर्न सक्छ कि सक्दैन भन्ने आशंका रहेको छ ।
बालिका निर्मलाको बलात्कार र हत्या घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र कञ्चनपुर प्रहरीले घटनाको २४ दिनपछि मानसिक अवस्था बिग्रेको ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरि अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।
‘एउटा निर्दोष मान्छेलाई ल्याएर सार्वजनिक गरियो । भोली अरुलाई दोषी बनाउँदा निर्दोषलाई कसरी दोषी बनाईस् ? भन्ने प्रश्नचिन्ह खडा हुनेछ’ उनले भनिन्– त्यसैले हामीलाई अझ पनि प्रहरीले पहिल्यै नै दोषि भनेर सार्वजनिक गरेको दिलिपलाई नै घटनाको मुख्य दोषीका रुपमा राख्छ कि भन्ने लागेको छ ।
गृहमन्त्रालयले हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली खटाएको छ । कान्छीआमा लक्ष्मीले टोलीले निष्पक्ष छानविन गरि वास्तविक दोषीको पहिचान गनै आग्रह गरिन् । ‘घटनाको निष्पक्ष छानविन होस्, वास्तविक दोषी पहिचान गरि कारबाहीको दायरामा ल्याईयोस्’ उनले भनिन् ।
उनले ‘निर्मलालाई रोशनीको घरमा गएको देख्ने धेरै जना भए पनि फर्किएको देख्ने कोही पनि नभएको’ बताइन् । निर्मलाकी आमा दुर्गाले भनिन् ‘म छोरीलाई बोलाउन रोशनीको घर जाँदा दुई बजे नै गईसकेको प्रतिक्रिया दिएकी थिईन्, तर १० गते ११ बजे घरबाट गएकी छोरी अर्कोदिन बिहान उखुबारीमा मृत अवस्थामा फेला परिन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार