१६ बैशाख २०८१, आईतवार

शिक्षामा राजनीति बढी, गुणस्तर कम



धनगढी । कैलालीका स्थानीय जनप्रतिनिधिहरुले संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिए पनि शिक्षक र कर्मचारीको राजनीतिले समस्या भएको बताएका छन् ।
बिहीबार धनगढीमा भएको राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रमबारे जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले स्थानीय तहमा विज्ञ कर्मचारीको खाचो भए पनि शिक्षाका अधिकृतहरु त्यहा नजाने र सुविधाभोगी भएको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्थानीय तहमा योजना बनाउन र कार्यान्वयन गर्न विज्ञहरुको अभाव रहेको बताए । उनले घोडाघोडी नगरपालिकाले शुरु गरेको शैक्षिक सुधार अभियानमा अवरोध भैरहेको र शिक्षकहरुले राजनीति गरिरहेको बताए ।
उनले सरकारी विद्यालयमा भवन, शिक्षक, राम्रो तलव भए पनि सानो लगानी रहेका निजी क्षेत्र जत्तिको सिकाइ उपलब्धि दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले भने– ‘कतिपय विद्यालयमा विद्यार्थी भन्दा धेरै शिक्षक छन् । स्थानीय सरकारले यस्ता विद्यालयहरुलाई मिलान गर्ने योजना बनाएको छ । आवश्यकतामा आधारित भन्दा पनि कसैलाई जागिर खुवाउनकै लागि पनि कतिपय विद्यालय खोलिएका छन् । अब पनि पुरानै ढर्राले चल्दैन ।’
कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले विद्यालय सञ्चालन कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको बताए । उनले भने– ‘शिक्षामा दुर्दसा छ, कतिपय विद्यालय छन्, बालबालिका जान्छन, तर विद्यालय चलेका छैनन् ।’ उनले विद्यार्थी संख्या, दूरी, भूगोल, शिक्षक, पूर्वाधार, गुणस्तरलाई मापन गरी विद्यालयका कक्षा घटुवा र मिलान गर्दा पनि विरोध भैरहेकोप्रति खिन्नता प्रकट गरे ।
नगर प्रमुख चौधरी २० वर्षे अराजकताको स्थितिमा शिक्षामा नकारात्मक धारणा मात्र बनेको बताए ।
धनगढी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले विद्यार्थीहरु विद्यालयसम्म पुगे पनि उनीहरु सबैलाई टिकाउन, सिकाउन र विकाउन पहल हुनुपर्ने बताए ।
शिक्षा विभागका निर्देशक गणेश पौडेलले नेपालको बालबालिकाको विद्यालयमा खुद भर्ना दर ९७.२ भएपनि कैलालीको ९७.७ रहेको जानकारी दिदै माथिल्ला कक्षामा चढ्दै जादा विद्यार्थीहरु घटदै जाने समस्या रहेको बताए ।
उनले शिक्षण सिकाइ उपलब्धि बढाउन शिक्षण सिकाई वातावरण र कक्षा कोठा व्यवस्थापन सुधार गर्नुपर्ने भएकाले राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रम लागू भएको बताए । कक्षा १ देखि ३ सम्मका बालबालिकालाई लेखिएको अक्षर पढने बनाउन शिक्षक र विद्यार्थीका लागि सिकाइ सामग्री कैलालीका सबै सामुदायिक विद्यालयमा पुगिसकेको बताए ।
जिल्ला शिक्षा समितिका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक चन्द्रकान्त भूषाल, प्रदेश नम्बर ७ को सामाजिक विकास मन्त्रालयका उपसचिव शंकरबहादुर विष्ट लगायतले बोलेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख विष्णुदत्त भट्टले स्वागत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रमको प्रगति विवरण र हरेक स्थानीय तहको शैक्षिक अवस्थाका बारेमा छलफल गरिएको छ । कार्यक्रममा कैलालीको १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समितिका सदस्य, शिक्षा अधिकारीहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार