१४ कार्तिक २०८१, बुधबार

समाजवाद : हाम्रो हो, राम्रो हो, तर हतारो नगरौं



क्रान्ति के हो ?
क्रान्ति कुनै घटना विशेष होइन् । यो समाज विकासका क्रममा नयाँ नयाँ उत्पादक शक्तिको विकाससँगै विकसित नयाँ उत्पादन सम्बन्धको विकास, विनास र थप नयाँमा हुने रूपान्तरणको एक निरन्तर प्रक्रिया हो । एउटा निश्चित अवस्थावाट क्रमिक रूपमा विकसित हुँदै गएर गुणात्मक रूपमा फड्को मार्दै अर्काे तर नयाँ अवस्थामा प्रवेश गर्नु, अनि त्यस नयाँ भनिएको पनि समयक्रममा पुन: नयाँ तिर प्रवेश हुँदै जानु क्रान्तिको प्रक्रिया हो । लोकतान्त्रिकरण पनि एउटा निरंतर क्रान्ति हो र लोकतान्त्रिकरणको प्रक्रिया पनि यहि हो । आम वोलीमा क्रान्तिकारी घटनालाई मात्र क्रान्ति भन्ने गरेको पाइन्छ तर त्यो सहि होइन् । यसलाई प्रक्रियाका रूपमा बुझेर मात्र क्रान्तिमा भाग लिन र त्यसलाई अर्काे चरणमा रूपान्तरण गर्ने दायित्व पुरा गर्न सकिन्छ ।

क्रान्तिको प्रक्रिया
क्रान्तिको प्रक्रियामा सामान्यतया तीन चरण हुन्छन् । पहिलो चरण हो क्रान्तिकारी गतिविधीहरूको चरण, दोस्रो हो क्रान्तिकारी घटना र तेस्रो हो क्रान्तिको कार्यक्रम कार्यान्वयनको चरण । तर यो तेस्रो चरण समाप्ती वा सम्पन्न हुने चरण होइन् । क्रान्तिको कार्यक्रम कार्यान्वयनका लागि क्रान्तिले ठूलो संघर्षमा भाग लिन्छ र फेरि एउटा क्रान्तिकारी घटना विशेषले उसलाई नयाँ परिणाम प्रदान गर्दछ । यसरी हेर्दा हामी क्रान्तिको जम्मा दुई चरण हुन्छ पनि भन्न सक्छौं । क्रान्तिकारी गतिविधि र क्रान्तिकारी घटना । क्रान्तिकारी कार्यक्रमको कार्यान्वयन आगामी क्रान्तिको लागि गरिने गतिविधि नै हुन्छन् जो नयाँ क्रन्तिको आधार बन्दछन् । क्रान्ति कसैले गर्न चाहेर हुने वा रोक्न चाहेर रोकिने होइन् । यति मात्रै हो कि यो एउटा प्रक्रिया हुनुको कारणले यसलाई छिटो वा ढिलो पार्न सकिन्छ । क्रान्तिमा सचेत प्रयत्नको अर्थ र महत्त्व त्यही हो । नेतृत्वको आवश्यकता त्यही गतिलाई छिटो पार्नका लागि हो ।

क्रान्तिको लक्ष्य
विकसित भएको नयाँ उत्पादक शक्ति (औजार, साधन, मान्छे र श्रम सीप) सँग पुरानो उत्पादन सम्बन्धको वेमेल एउटा शत्रुतापूर्ण संघर्षको उच्च विन्दुमा पुगेपछि त्यसले पुरानो उत्पादन सम्बन्ध ध्वस्त पार्छ र विकसित नयाँ उत्पादक शक्ति अनुरूपको नयाँ उत्पादन सम्बन्ध कायम गर्छ । क्रान्तिको लक्ष्य हो, त्यस प्रकारको नयाँ उत्पादन सम्बन्ध सिर्जना गर्नु अर्थात् त्यो सिर्जना गर्ने वस्तुगत अवस्थाको निर्माण गर्नु । प्रष्ट रूपमा उत्पादक शक्तिको विकासमा योगदान पुर्‍याउनु । पछौटे औजारहरूको ठाउँमा विकसित औजारहरू, पिछडिएका मानिसहरूका ठाउँमा चेतना विकास भएका मान्छेहरू र परम्परागत अनुभव र सीप भएका वा त्यो पनि नभएकाहरूको सट्टामा उन्नत उत्पादन अनुभव र श्रम सीप भएकाहरूको प्रतिस्थापन गर्न प्रयत्न गर्नु क्रान्तिको तत्कालीन लक्ष्य हुन्छ भने विकसित नयाँ उत्पादक शक्तिलाई पुरानो उत्पादन सम्बन्धले न्याय गर्न नसक्ने हुँदा त्यस्तो न्याय गर्न नसक्ने (अन्यायी) उत्पादन सम्बन्धलाई ध्वस्त पारेर नयाँ विकसित भएको उत्पादक शक्तिसँग मेलखाने (ऋयmउबतष्दभि) न्यायपूर्ण नयाँ उत्पादन सम्बन्ध कायम गर्नु यसको वास्तविक लक्ष्य हुन्छ ।

लोकतान्त्रिक (जनवादी) क्रान्ति
लोकतान्त्रिक (जनवादी) क्रान्ति अर्थात् लोकतान्त्रीकरण (जनवादीकरण) पनि एउटा निरन्तर प्रक्रिया भएकोले यस प्रक्रियामा पनि उपरोक्त चरणहरू आउने गर्छन् । सर्वप्रथम त समाजको विकासक्रमसँग मेल नखाने अलोकतान्त्रिक (गैरजनवादी) सत्ताको अन्त्यको लागि गरिने क्रान्तिकारी गतिविधिको कुरा आउछ । जब एउटा क्रान्तिकारी घटनामा पुरानो अलोकतान्त्रिक (गैरजनवादी) सत्ताको अन्त्य हुन्छ त्यसपछि नयाँ व्यवस्थाको सुदृढीकरणको चरण सुरु हुन्छ । अर्थात् लोकतान्त्रिकरणका कार्यक्रमहरूको कार्यान्वयनको चरण । जहाँ पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरू सवै क्षेत्रबाट अन्त्य गर्ने र स्थापित नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सवै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसावले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्नु पर्ने हन्छ । यी चरणहरू पुँजीवाद वा समाजवादोन्मुख जुनसुकै खाले जनवादी (लोकतान्त्रिक) क्रान्त्रिका अनिवार्य चरण हुन् । लोकतन्त्र (जनवाद) मा विश्वास राख्नेहरूले यी चरणहरूलाई अस्विकार गदैनन् ।

पुँजीवादी जनवाद र समाजवादोन्मुख जनवादबीचको संघर्ष
एउटा गैरलोकतान्त्रिक (गैरजनवादी) सत्ताको अन्त्य पुँजीवादी जनवादका पक्षधरदेखि समाजवादोन्मुख जनवादका पक्षधरहरूसम्म सबै लोकतान्त्रिक (जनवादी) शक्तिहरूको चाहनाको विषय हुनाले अलोकतान्त्रिक व्यवस्थाका विरुद्धको सघर्षमा परिस्थितिले सबै जनवादी शक्ति र तत्वहरूलाई एकै ठाउँमा ल्याएर अभूतपूर्व एकता कायम गरेको हुन्छ । तर जसै गैर जनवादी व्यवस्था समाप्त हुन्छ, पुराना अवषेशहरू समाप्त गर्न सम्म त एकखालको एकता देखिन्छ तर जव सुदृढीकरणको चरण सुरु हुन्छ जनवादी शक्तिहरूकै विच क्रान्तिको कार्यक्रम कार्यान्वयनको सवालमा आन्तरिक संघर्ष पनि सुरु हुन्छ । यहिनेर पुँजीवादी जनवाद (लोकतन्त्र) को विकासक्रम रोकिन्छ र थप नयाँ चरणमा प्रवेश गर्न पाउदैन, सक्दैन । यसले परिवर्तनको ज्वारलाई भित्रभित्रै रुमल्याउँछ र निकासबिहिन अवस्थामा यो विकृत वन्दै जान्छ । अन्तत: यसले सामाजिक–सांस्कृतिक रूपमा नितान्त व्यक्तिवाद, आर्थिक रूपमा नवउदारवाद र राजनैतिकरूपमा साम्राज्यवादको हिस्साको रूपमा आफूलाई पतन गर्छ ।

समाजवादोन्मुख जनवादका सन्दर्भमा यो दोस्रो चरणको उत्तराद्र्ध आफैमा समाजवादी चरण होइन वरु यसले समाजवादमा प्रवेश गर्नका लागि आधार तयार पार्न प्रयत्न गरिरहेको हुन्छ ।

अर्कोतर्फ सुढृढीकरणको चरणको उत्तराद्र्धमा समाजवादोन्मुख जनवाद (लोकतन्त्र) ले समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर थप आवश्यक भौतिक तथा सांस्कृतिक तयारी गर्ने काममा आफूलाई लगाउँछ । यसरी यो कार्यान्वयनको चरण पनि दुई भागमा विभक्त हुन्छ । पहिलो भाग अवषेशहरूको अन्त्य गर्दै जनवादी (लोकतान्त्रिक) सुदृढीकरण गर्ने भाग हुन्छ भने अर्काे भाग समाजवाद तर्फको संक्रमणको भौतिक तथा साँस्कृतिक तयारी गर्ने वा व्यक्तिवाद, नवउदारवाद र साम्राज्यवादको हिस्साको रूपमा अर्थात् प्रतिक्रियावादमा पतन हुने भाग हुन्छ । समाजवादोन्मुख जनवादका सन्दर्भमा यो दोस्रो चरणको उत्तराद्र्ध आफैमा समाजवादी चरण होइन वरु यसले समाजवादमा प्रवेश गर्नका लागि आधार तयार पार्न प्रयत्न गरिरहेको हुन्छ । सुदृढीकरणको चरणमा पुँजिवादी जनवाद र समाजवादोन्मुख जनवादका बीच संघर्षको मुख्य कारण क्रान्तिकारी कार्यक्रमको कार्यान्वयन नै हो । क्रान्तिको कार्यक्रम कार्यन्वयन कै अवस्थालाई हेरेर त्या अवस्था अग्रगामी छ की प्रतिक्रियावादी छ भन्ने पहिचान हुन्छ ।
पुरानो व्यवस्था सम्पूर्ण रूपमा समाप्त भइसकेको रहेछ भने त्यसबेला यो संघर्ष द्विपक्षीय हुनजान्छ तर पुरानो व्यवस्थाका अवषेशहरू ज्यूदै रहेछन् भने पुँजीवादी जनवाद र समाजवादोन्मुख जनवादका बीचमा यसखालको संघर्षवाट तिनीहरूले फाइदा लिएर फर्कने चेष्टा पनि गर्दछन् । त्यस्तो अवस्थामा यो संघर्ष त्रिपक्षीय हुन सक्छ । त्यसैले लोकतान्त्रिक क्रान्तिको दोस्रो अर्थात् लोकतान्त्रिक सुदृढीकरणको अर्थात् क्रान्तिको कार्यक्रम कार्यान्वयनको चरण अपेक्षाकृत अत्यन्त जटिल, जोखिमपूर्ण र लामो चरण हो ।

समाजवाद मात्र कामदार वर्गको–जनताको–वास्तविक लोकतन्त्र
अहिले नेपाल लोकतान्त्रिक सुदृढीकरणको चरणमा छ । लोकतान्त्रिक सुदृढीकरणको चरण भनिए पनि यो सबैभन्दा बढी संघर्षमय चरण हुन्छ, भ्रमित पार्ने चरण हुन्छ, सावधानी अपनाउनुपर्ने चरण हुन्छ र अपेक्षाकृत लामो चरण हुन्छ । यहि अर्थात् पुरानो अलोकतान्त्रिक (गैर जनवादी) व्यवस्थाको अन्त्यपछि समाजवादमा प्रवेश गर्नु पूर्वको संक्रमणकालीन चरणलाई जनताको जनवादी चरण भनिन्छ र यसै चरणमा कार्यान्वयन गर्नुपर्ने क्रान्तिको कार्यक्रम जनताको जनवाद हो । आज जनताको, कामदार वर्गको, कांधमा एकातर्फ साम्राज्यवाद पोषित दलाल वर्ग र सम्राज्यवादले सम्झौता गरी जीवनदान दिएको सामन्तवर्ग संग जुधेर क्रान्तिद्वारा समाजलाई कम्तिमा पनि पुँजीवादी नयाँ जनवाद (नयाँ लोकतन्त्र) तर्फ रूपान्तरण गर्ने र अर्को तर्फ त्यही पुँजीवादी नयाँ जनवादलाई थप लोकतान्त्रिकरण (निरन्तर क्रान्ति) का माध्यमबाट समाजवादमा पुर्‍याउने दोहोरो जिम्मेवारी आइलागेको छ । किनभने समाजवादमा मात्र कामदार वर्ग, जनता, शासक हो र समाजवाद मात्र कामदार वर्गको– जनताको– वास्तविक डेमोक्रेसी हो ।

समाजवादोन्मुख जनवादका पक्षधरहरूबीच अन्तरद्वन्द
माथि उल्लेखित सवै खाले संक्रमण र संघर्षहरू श्याम–स्वेत भने हुने गर्दैनन् । संघर्षको अवधि र स्वरुप, अनि संक्रमणको पनि अवधि र स्वरूप दुवैमा कैयौ पटक ग्रेलाईनको अवस्थाहरू देखा पर्दछन् । त्यसप्रकारको ग्रेलाईनले कतिपय बेलामा दिग्भ्रमित पनि पार्दछन् । यो कुन अवस्था हो त भन्नेमा भ्रम सृजना हुने खतरा रहन्छ । कतिपय चरित्र र विम्वले पुरानै अवस्था हो कि लाग्ने र कतिपय चरित्र वा विम्वले नयाँ हो कि लाग्ने हुन्छ । यस्तो भ्रम पार्ने अवस्थामा क्रान्तिकारी लोकतन्त्र (समाजवादोन्मुख जनवाद) का पक्षधरहरूबीच पनि अन्तरद्वन्द सुरुवात हुने गर्छ । पुरानै चरित्र र विम्व बढी देख्ने र परिवर्तित अवस्थालाई कम मूल्यांकन गर्नेहरू लोकतन्त्रको सुदृढीकरणका लागि केन्द्रित भएर आवस्यक भौतिक तथा सांस्कृतिक तयारी गर्ने क्रान्तिकारी कार्यक्रम लागू गर्ने कुरालाई अस्विकार गर्न पुग्छन् र बेला भई नसकेको कुरालाई नै बढाईचढाई प्रस्तुत गर्छन । यसो हुनु यथास्थितिमा रमाउने संस्कृतिवाट उनीहरू मुक्त हुन नसकेको कारणले नै हुने गर्छ । खासगरी अलोकतान्त्रिक व्यवस्थाका विरुद्ध गर्नुपरेको कठिन र आपेक्षाकृत लामो अवधिको संघर्षवाट थाकेर उनीहरूमा उत्साहको कमी आएको हुन्छ । यिनीहरू थप चरणको क्रान्तिको तयारीको झण्झटले क्रान्ति भइनसकेको राग अलाप्न थाल्छन् ।
त्यसको ठिक विपरित नयाँ र परिवर्तित चरित्र र विम्व बढी देख्ने र परिवर्तित अवस्थालाई अति मूल्यांकन गर्नेहरू लोकतन्त्रको सुदृढीकरणका लागि केन्द्रित हुँदै त्यसको सफलता पछि समाजवाद तर्फ प्रवेश गर्ने आवस्यक भौतिक तथा सांस्कृतिक तयारी गर्ने क्रान्तिकारी कार्यक्रम लागुगर्नुको सट्टा समाजवादमा प्रवेश गर्ने हतारो भइसकेको कुरा र व्यवहार गर्न थाल्छन् । समाजवादतर्फ संक्रमणको अपेक्षाकृत लामो अवधीलाई मनोगत रूपमा छोटो पार्न खोज्दछन् । उनीहरू कतिपय बेलामा समाजवाद ‘निमार्ण’ गर्ने हास्यास्पद कुरा गर्छन् भने कतिपय अवस्थामा समाजवादका नाममा अत्यन्त गैर लोकतान्त्रिक (गैर जनवादी) बाटो अख्तियार गर्न पनि पछि हट्दैनन् । यस्तै प्रकारका अति मूल्यांकनहरूका कारण लोकतन्त्रको उन्नत र उच्च स्तरका रूपमा प्रकट हुनुपर्ने समाजवाद तानाशाही वा अधिनायकवादी ‘राज्य समाजवाद’ मा पतन हुन पुगेको इतिहास साक्षी छ ।
समाजवाद : हाम्रो हो, राम्रो हो तर हतारो नगरौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार