३ जेष्ठ २०८१, बिहीबार

कैलालीसहित तीन जिल्लामा लगभग सकियो, छमा अझैं एक तिहाई बढी रोपाई बाँकी



धनगढी । सात नम्बर प्रदेश (साविकको सुदूरपश्चिम) का कैलाली र बझाङमा यस वर्षको रोपाई लगभग अन्तिम चरणमा पुगेको छ । तर, प्रदेशका बाँकी सात जिल्लामा अझैं एक तिहाई जग्गामा अझैं रोपाई बाँकी रहेको छ ।
क्षेत्री कृषि निर्देशनालय, दिपायलका अनुसार सात नम्बर प्रदेशमा कुल एक लाख ८० हजार दुई सय ९१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ ।

फाइल तस्बिर

क्षेत्रीय कृषि निर्देशनालयका अनुसार असारको तेस्रो सातासम्म कैलालीमा ९५ प्रतिशत रोपाई भइसकेको छ । कैलालीमा ७१ हजार पाँच सय हेक्टर जग्गामा धानखेती हुने गरेको छ । असारको तेस्रो सातासम्म कैलालीमा ६७ हजार नौ सय २५ हेक्टरमा धान रोपाई भइसकेको छ ।
त्यस्तै, बझाङ जिल्लामा हालसम्म ९२ प्रतिशत रोपाई भइसकेको छ । क्षेत्रीय कृषि निर्देशनालयका अनुसार बझाङमा सात हजार एक सय १० हेक्टरमा धान खेती हुने गरेको छ । हालसम्म बझाङमा छ हजार पाँच सय ४१ हेक्टरमा धान रोपाई भइसकेको छ ।
त्यस्तै, बाजुरामा हालसम्म ८७ प्रतिशत रोपाई भइसकेको छ । क्षेत्रीय निर्देशनालयका अनुसार बाजुरामा सात हजार दुई सय ३० हेक्टरमा धान खेती हुने गरेकोमा हालसम्म छ हजार दुई सय ९० हेक्टरमा धान रोपाई भइसकेको छ ।
तर, प्रदेश सातका बाँकी छ जिल्लामा अझैं एक तिहाई जग्गामा रोपाई हुनसकेको छैन । सात नम्बर प्रदेशका अछाम र दार्चुला जिल्लामा अझैं ५० प्रतिशत जग्गामा धान रोपाई हुन बाँकी रहेको छ ।
त्यस्तै, डडेल्धुरामा ४५ प्रतिशत रोपाई हुन बाँकी रहेको छ भने बैतडीमा ४४ र डोटीमा ३५ र कञ्चनपुरमा २० प्रतिशत रोपाई हुन बाँकी रहेको छ ।
क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक सहायक सरिता पन्तले यस वर्ष राम्ररी वर्षा नभएको र पहाडी जिल्लाका अधिकांस जग्गामा सिंचाईं सुविधा नभएका कारण धेरैजसो पहाडी जिल्लामा अझैं रोपाई पुरा हुनसकेको छैन ।
निर्देशनालयका अनुसार कञ्चनपुरमा ४७ हजार पाँच सय ६७ हेक्टर जग्गामा धान खेती हुने गरेकोमा हालसम्म ३८ हजार ५३ हेक्टरमा रोपाई भइसकेको छ ।
त्यस्तै, दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा धान खेती हुँदै आएकोमा यस वर्ष हालसम्म दुई हजार दुई सय ४० हेक्टरमा रोपाई भएको छ । त्यस्तै, अछाममा १६ हजार पाँच सय आठ हेक्टर जग्गामा धान खेती हुने गरेकोमा अहिलेसम्म आठ सय दुई ५४ हेक्टर (५० प्रतिशत) मा रोपाई पुरा भएको छ ।
त्यस्तै, डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमा धान खेती हुँदै आएकोमा यस वर्ष हालसम्म तीन हजार चार सय २४ हेक्टर (५५ प्रतिशत) जग्गामा रोपाई भएको छ भने बैतडीमा नौ हजार हेक्टर धानखेती हुने जग्गामध्ये पाँच हजार ४० हेक्टर (५६ प्रतिशत) मा धान रोपाई भइसकेको छ ।
त्यस्तै, डोटीमा १० हजार छ सय ७० हेक्टर जग्गामा धान खेती हुने गरेकोमा यस वर्ष हालसम्म छ हजार नौ सय ३५ हेक्टर (६५ प्रतिशत) जग्गामा रोपाई भइसकेको छ ।

अन्नभण्डारका दुई जिल्लामा अझै ११ प्रतिशत रोपाई बाँकी
प्रदेश नम्बर सातका अन्न भण्डारका रुपमा रहेका तराईका दुई कैलाली र कञ्चनपुर जिल्लामा असार महिना सकिन लाग्दा अझैं ११ प्रतिशत जमिनमा धान रोपाई हुन सकेको छैन ।
प्राय: असारको दोस्रो सातासम्म रोपाई लगभग सकिनु पर्नेमा यस वर्ष पनि राम्ररी वर्षा नभएका कारण अझैं रोपाई पुरा भएको छैन ।
अझैं पनि कैलाली र कञ्चनपुरका सबै खेतीयोग्य जमिनमा बाह्रै महिना सिंचाईं सुविधा नपुगेका कारण रोपाईं पुरा हुनसकेको छैन । क्षेत्रीय कृषि निर्देशनालय, दिपायलका अनुसार कैलालीमा ७१ हजार पाँच सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने कञ्चनपुरमा ४७ हजार पाँच सय ६७ हेक्टर जग्गामा धान खेती हुने गरेको छ । यस वर्ष हालसम्म एक लाख पाँच हजार नौ सय ७८ हेक्टर (८९ प्रतिशत) जग्गामा धान रोपाईं भइसकेको छ ।
सात नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास महाशाखा प्रमुख यज्ञराज जोशीले यस वर्ष धान रोपाईका लागि पर्याप्त वर्षा नभएको बताए । ‘कैलालीका धेरै क्षेत्रमा अझै वैकल्पिक सिंचाईको सुविधा छैन’ महाशाखा प्रमुख जोशीले अनुमोदनसंग भने– जिल्लामा अझैं पनि धेरै किसानले आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ ।
उनले धान रोपाईका लागि अझैं पनि समय बाँकी रहेको बताए । उनले साउन महिनाभरी पनि रोपाई हुनसक्ने बताए ।
महाशाखा प्रमुख जोशीका अनुसार कैलालीको भजनी, टीकापुर, हसुलिया, तथा मध्य क्षेत्रमा धान रोपाई कार्य लगभग पुरा भए पनि धनगढी उपमहानगरपालिका लगायतका क्षेत्रमा कम रोपाई भएको छ । कैलालीमा धनगढी उपमहानगरपालिकामा सबैभन्दा कम रोपाई भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार