३ जेष्ठ २०८१, बिहीबार

कृषि आधुनिकीकरण परियोजनाको अनुगमन



जानकी । कैलालीको जानकी गाउँपालिकामा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुगमन गरिएको छ ।
गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाको पकेटको रूपमा शिवशक्ति मौरीपालन कृषक समूहको मौरीपालन, जवलपुर मिश्रित बहुउद्देश्यीय कृषक समूहको तरकारीबाली, कोशेली कृषक समूहको तरकारीबाली, इभरग्रीन कृषक समूहको धान खेती, ग्वाल कृषक समूहको धान खेती र फूलदेवी कृषक समूहको माछापालन कार्यक्रमको अनुगमन भएको जनाइएको छ ।
अनुगमनका क्रममा स्थानीय कृषकहरूले आयोजनाको काम समयमा सञ्चालन हुनुपर्ने बताएका छन् । उनीहरूले जेठ १८ गते निर्णय भएर असार १० गतेसम्म पुरा गर्नुपर्ने भएकाले हतारमा कार्यक्रम सञ्चालन भएको बताएका थिए । स्थानीय किसानहरूले वर्षायाममा तरकारी खेती, पोखरी निर्माण तथा बेमौसममा मौरीघार खरिद कार्य भएकोले ढिलो गरी र हतारमा कार्यक्रम भएको बताएका थिए ।
कोशेली कृषक समूहका अध्यक्ष सुगान्ती चौधरीले नयाँ प्रविधि सहित टनेलमा तरकारी खेती भएकोले आम्दानी हुने अपेक्षा गरिए पनि ढिलो गरी कार्यक्रम आएकोले लक्ष्य अनुसार काम गर्न नसकेको र अहिले रोगको प्रकोप देखा पर्दै गएको बताए ।
इभरग्रीन कृषक समूहका उपाध्यक्ष जगत चौधरीले आयोजनाको काम राम्रो भए पनि यान्त्रीकरणको प्रयोग नहुँदा श्रमको लागत बढेको बताए । उनले लाइनमा धान खेती गर्ने भनिए पनि श्रम लागत धेरै चाहिने भएकोले गर्न नसकेको बताए ।
फूलदेवी माछापालन समूहका लालजी दहितले बर्खाको समयमा कार्यक्रम सम्झौता भएकाले अहिले माछा पोखरीको कुनै कार्य गर्न नसकेको बताए । उनले ६ हेक्टरमा माछा पोखरी बनाउनुपर्ने भए पनि अहिलेसम्म बोरिङ किन्ने बाहेक अरू काम हुन नसकेको बताए ।
शिवशक्ति मौरीपालन समूहका अध्यक्ष कृपाराम विनाडीले बेमौसममा मौरीपालनको लागि घार खरिद गर्नुपर्ने भएकोले समस्या रहेको बताए । मौरीपालन सम्बन्धि जानकारी नभएकोले अहिले समूहमा धेरै सदस्य रहे पनि सात जनाले मात्र जिम्मेवारी लिएर मौरीपालन गरिएको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत २२ लाख रुपैयाँको बजेटमा जानकी गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा गरी ३० हेक्टर धान खेती सञ्चालनमा छ ।
त्यस्तै, वडा नम्बर ३ र ८ मा गरी २० हेक्टरमा तरकारी खेती, वडा नम्बर ५ मा छ हेक्टरमा माछापालन र वडा नम्बर ४ मा ७५ घार मौरीपालन कार्यक्रम सञ्चालनमा रहेको छ ।
गाउँपालिकाको विभिन्न योजनाको अनुगमनका क्रममा अनुगमन संयोजक तथा गाउँपालिका उपाध्यक्ष उमा महतोले आयोजनाको सहयोगले किसानले कामको थालनी गरिसकेकोले राम्रो प्रतिफल आउने अपेक्षा रहेको बताइन् । उनले अहिले किसान सिकाई र सहयोगमा काम गरिरहेकोले राम्रो हुँदै जाने बताइन् ।
अनुगमनको क्रममा परियोजनाको सहयोगमा विभिन्न योजनामा काम भए पनि सन्तोषजनक नभएको कृषि शाखाको भनाई रहेको छ । कृषि शाखाले आयोजनाको कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि किसानलाई निरन्तर तालिम, गोष्ठी सहितका कार्यक्रम शुरुवात गरे पनि लक्ष्य र उद्देश्य अनुसार काम हुननसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार