२० बैशाख २०८१, बिहीबार

बालीनालीमा जथाभावी विषादी प्रयोग



धनगढी । तरकारी तथा अन्न बालीमा जथाभावी विषादी छर्ने गरिएबाट उपभोक्ताको स्वास्थ्यमा जोखिम बढ्दै गएको छ ।
किसानहरूले खुला हातले विषादी छर्ने, आवश्यक मात्रामा भन्दा बढी विषादी प्रयोग गर्ने तथा विषादी छरेको लगत्तै बजारमा तरकारी पुर्‍याउने गरेबाट उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।
सन २०१५ र २०१६ मा मात्रै नेपालमा ६९ करोड रुपैयाँ विषादीमा खर्च भएको कृषि विभागको तथ्यांकमा उल्लेख छ । तर, विषादीमा लगाएको लगानीको प्रतिफल भन्दा पनि उल्टो किसान त्यसको मारमा परिरहेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर १ गेटामा तरकारी खेती गरिरहेका मुक्तियार हुसेन अहिलेसम्म तरकारीमा विषादी छर्ने तालिम समेत नपाएको बताए । तरकारीमा किरा लागेमा अन्दाजको भरमा विषादी ल्याउने र अन्दाजकै भरमा विषादी हाल्ने उनले बताए ।
तरकारी तथा फलफुल व्यापारीहरूले केरा आँप लगायतका फलफुलमा विषादी प्रयोग गरेका हुन्छन् । सो फलफुलमा विषादी प्रयोग गरेलगत्तै उपभोक्ता कहाँ पुर्‍याउने गरेकाले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरेको छ ।
विषादी कती हाल्नुपर्छ कसरी हाल्नु पर्छ भन्ने कुराको कुनै ज्ञान नहुँदा अन्दाजकै भरमा विषादी हालेर बिक्री गर्ने गरेको धनगढीमा तरकारी तथा फलफुलको व्यापार गरिरहेका शम्भु शाह बताउँछन् । खाद्य प्रयोगशालामा आफै गएर बुझ्दा समेत स्पस्ट जानकारी नदिएको र उल्टो चेकजाँचका बेला जरिवाना समेत तिर्नुपरेको उनले बताए ।
नेपालमा आयात भएको विषादीमध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्रै प्रयोग हुने गरेको कृषि विभागको तत्थ्यांकमा छ । बाह्य देशहरूको तुलनामा नेपालले १५ देखि २० प्रतिशत मात्रै विषादी प्रयोग गरेपनि यसको उपयोगका बारेमा ज्ञान नभएकाले विषादीको असर बढी परेको कृषि विभागका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए ।
बिगतमा सरकारले कृषिको क्षेत्रमा पर्याप्त बजेट नछुट्याएकाले प्रभावकारी काम गर्न नसकिएको उनले बताए । अवका दिनमा विभिन्न तालिम गोष्ठी लगायत सूचना, पम्प्लेटका माध्यमबाट विषादीको बारेमा सबै कृषक तथा व्यापारी समक्ष जानकारी पुर्‍याउने उद्देश्य रहेको बरिष्ठ बाली संरक्षण अधिकृत सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार