६ कार्तिक २०८१, मंगलवार

प्रदेश सभाको पहिलो बैठक : संसद बैठकको कार्यसूची तय हुँदै



धनगढी । आगामी २१ गते बस्ने ७ नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठकका लागि कार्यसूची तय हुँदैछ । प्रदेश संसदमा प्रतिनिधित्व गर्ने चार राजनीतिक दलको नेतृत्त्वसँगको छलफलबाट बैठकको कार्यसूची तय हुने जनाइएको छ ।
प्रदेश नम्बर ७, प्रदेश सभा (संसद) का सचिव मुरारी महतले प्रदेश संसदमा प्रतिनिधित्त्व गर्ने चार राजनीतिक दलका नेताहरूसँग छलफल गरेर कार्यसूची तय गर्ने जानकारी दिए । उनले प्रदेश सभाको पहिलो बैठक ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्ने बताए ।
‘प्रदेश संसदको पहिलो बैठकमा प्रदेश प्रमुखले प्रदेश सभा बैठक आव्हान सम्बन्धी जानकारी सुनाइने छ’ संसद सचिव महतले भने– ‘त्यसपछि बैठक सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधी तयार गर्नेछ ।’
उनले प्रदेश प्रमुख सहित बिहीबार धनगढीमा बैठक बसेको र शुक्रबार कार्यसूची तयार गर्नका लागि चार दलका नेताहरूसँग छलफल गर्ने निर्णय भएको बताए । बिहीबारको बैठकमा ७ नम्बर प्रदेशका प्रमुख मोहनराज मल्ल, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, संसद सचिव मुरारी महत, शहरी विकास तथा भवन डिभिजन कार्यालय प्रमुख रवीन्द्र बोहरा लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश संसद सचिव महतका अनुसार प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचनको मिति तय गर्ने र कार्य व्यवस्था परामर्श समितिको गठन गर्न सक्नेछ । समितिमा आवश्यक पर्ने संख्यामा सदस्य रहने छन् ।
संसदले प्रदेशको स्थायी राजधानी सम्बन्धी छलफल सभामुख चयनपछि सहमतिमा गर्न सक्ने बताइएको छ । संसद बैठक व्यवस्थित गर्न ३० जना मर्यादापालकको तालिम पनि भइरहेको संसद सचिव महतले बताए ।
पहिलो बैठक कसरी बस्ने ? भन्ने छलफल चलिरहँदा संसद भवनको मर्मत, सम्भार तथा पूनर्निर्माण कार्य पनि तीब्र बनाइएको छ । संसद सभाहलमा सभामुखको ड्यास, सांसदहरू बोल्ने रोस्टम निर्माण हुँदैछ । त्यस्तै, प्रदेश सरकारमा मन्त्री, सत्तापक्ष र प्रतिपक्षका सांसद बस्ने कुर्सी, टेवल राख्ने तयारी हुँदैछ । कुर्सी, टेबल राखेपछि सार्न मिल्ने खालका माइकहरू जडान गरिने योजना रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीका प्रमुख रवीन्द्र बोहराले बताए ।
त्यस्तै, पत्रकार र दर्शकदीर्घा निर्माण कार्य पनि अन्तिम चरण पुगेको छ । पत्रकार र दर्शकदीर्घाको क्षमता ४० जना मात्र अटाउन सक्ने छ । जिल्ला समन्वय समिति कैलालीको परिसरमा रहेको संसद भवनलाई सुरक्षित बनाउन भवन बाहिर पर्खाल निर्माण कार्य पनि तीव्र बनाइएको छ । सभाहल भवनको रंगरोगन र सभाहल बाहिर फूल लगाउने बगैचा पनि निर्माण भइरहेको छ । संसदको बैठक कक्ष, पर्खाल, फूल लगाउने बगैचा, दलका कार्यालय मर्मत तथा पूनर्निर्माण गर्न गतसातादेखि दैनिक २० भन्दा बढी मजदूरहरू खटिएका छन् ।
संसदसँगै सभामुख तथा उपसभामुखका कार्यकक्ष, संसदीय दल सभाकक्ष र संसदीय दलका प्रमुखको कार्यकक्षको मर्मत सम्भार हुन थालेका छन् । कतिपय कोठाहरू तोडफोड गरेर कार्यकक्ष तथा दलका सभाहल बनाउन खोजिएको छ शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीका इन्जिनियर मोहनराज अवस्थीले बताए ।
उनका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका सभाहलका लागि जिल्ला समन्वय समितिका भवनले नपुगे जिल्ला कृषि कार्यालय समेत प्रयोग गरिने छ । कांग्रेस, माओवादी र राजपालाई समन्वय समितिमै सभाहल पुगेपनि २५ सदस्य रहेको सबैभन्दा ठूलो दल एमालेलाई हल नपुग्ने अनुमान गरिएको छ । सात नम्बर प्रदेशमा कांग्रेसका १२ माओवादीका १४ र राजपाका दुई जना सांसद रहेका छन् ।
संसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, दलका कार्यालयका मर्मत सम्भार र रंगरोगनका लागि सात करोड ५० लाख रुपैयाँ शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार