१० श्रावण २०८१, बिहीबार

कुहिरोले उडान सेवा लगातार प्रभावित



धनगढी । बाक्लो कुहिरोका कारण धनगढीमा लगातार तीन दिनदेखि हवाई उडान सेवा अवरुद्ध भएको छ ।
पुस महिना शुरु भएदेखि अहिलेसम्म सात दिन उडान सेवा अवरुद्ध भइसकेको छ । धनगढी विमानस्थल कार्यालयका अनुसार गत शनिबारदेखि सोमबारसम्म काठमाडौं–धनगढी रुटमा एउटा पनि एयरलाइन्सले उडान गर्न सकेको छैन ।

फाइल तस्बिर

धनगढी नागरिक उड्डयन कार्यालयका प्रमुख छवि ठकुल्लाले सोमबारसम्म पुस महिनामा सात दिन हवाई उडान सेवा अवरुद्ध भएको बताए । ‘पछिल्ला तीन दिन लगातार सबै एअरलाइन्सका उडान रद्द भएका छन्’ उनले एक हजार छ सय मिटर ग्राउन्ड भिजिविलिटी नपुग्दा उडान रद्द गर्नु परिरहेको बताए ।
कार्यालय प्रमुख ठकुल्लाले जेट इन्जिन भएका सौर्य र श्री एयरलाइन्सका विमान अवतरण हुन दुई हजार मिटर ग्राउन्ड भिजिविलिटी आवश्यक रहेको बताए ।
काठमाडौंदेखि धनगढीसम्म नेपाल एयर, वुद्ध र सौर्य एयरलाइन्सले दैनिक एक/एक उडान गर्दै आएका छन् भने श्री एयरले दैनिक दुई उडान भर्दै आएको छ ।
एयरलाइन्सहरूबीचको तीब्र प्रतिस्पर्धाका कारण पछिल्लो समयमा धनगढी–काठमाडौंसम्म हवाई टिकट भाडा तीन हजार एक सय रुपैयाँमा झरेको थियो । हवाई उडान भाडा निकै सस्तो भएका कारण प्राय: यात्रुले बसमा भन्दा विमानमा नै यात्रा गर्ने गरेका थिए । धनगढीदेखि काठमाडौंसम्म बसमा यात्रा गर्दा पनि कम्तिमा दुई हजार रुपैयाँ खर्च हुने गर्दछ । ‘जहाज आउँदैन, बन्द हडतालले बसमा काठमाडौ जान पनि कठिनाइ हुन्छ’ धनगढी–५ का ललित चन्द भन्छन्– बसबाट १८/२० घन्टा यात्रा गर्नुभन्दा पौने घन्टामा नै काठमाडौं पुग्न सकिने भएकोले पछिल्ला दिनमा यात्रीहरू विमानबाट नै जान रुचाउँछन् ।
धनगढी विमानस्थलमा दिशा निर्देश यन्त्र (भिओआर) तथा दूरी मापन उपकरण (डिएमआई) जडान नभएका कारण खराब मौसममा विमान अवतरण गर्न कठिनाई हुने गरेको बताइन्छ । धनगढीका होटल व्यावसायी कृष्णबहादुर महरा धनगढी विमानस्थलमा ती उपकरण ल्याउन कसैले पहल नगरेका कारण हवाई उडानमा बाधा भइरहेको बताउँछन् ।
नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता वीरेन्द्रबहादुर श्रेष्ठले धनगढी विमानस्थलको जग्गा अधिग्रहण कार्य पुरा नभएका कारण ती उपकरण जडान गर्न नसकिएको बताए । ‘धनगढी विमानस्थलको विस्तारका लागि आवश्यक पर्ने १७ बिघा चार कठ्ठा साढे आठ धुर जग्गा अधिग्रहणका लागि २३ करोड ११ लाख पाँच हजार रुपैयाँ निकासा गरिसकेका छौं’ सोमबार टेलिफोनमा अनुमोदनसंग कुरा गर्दै प्राधिकरणका प्रवक्ता श्रेष्ठले भने– भिओआर र डिएमआई उपकरण खरिदका लागि जापनिज अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) संग सम्झौता पनि गरिसकेका छौ ।
उनले पहिले धनगढी नागरिक उडड्यन कार्यालय नाममा जग्गाको स्वामित्व कायम हुनुपर्ने र त्यसको एक वर्षभित्र ती उपकरण जडान हुने बताए । उनले भने– ती उपकरणहरू जडान गर्नका लागि रनवेबाट आठ सय मिटरको दूरीमा एक सय गुणा एक सय मिटरको जग्गा आवश्यक हुन्छ ।
धनगढी विमानस्थल प्रमुख ठकुल्लाका अनुसार भिओआर/डिएमआई उपकरण जडान भएपछि खराब मौसममा दिन र सफा मौसममा रातीको समयमा पनि विमानले उडान गर्न सक्ने बताए । उनले मौसम निकै खराब भएको अवस्थामा मात्रै कहिलेकाही उडान अवरुद्ध हुने बताए ।
धनगढी विमानस्थल विस्तारका लागि लामो समयदेखि जग्गा अधिग्रहण प्रक्रिया जारी छ । तर, विमानस्थलले अधिग्रहण गरेको जग्गाको मुआब्जामा केही जग्गाधनीसंग विवाद भएका कारण सो कार्यमा अवरोध आएको बताइन्छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले केही जग्गाधनीले मुआब्जामा असन्तुष्टी व्यक्त गरेकाले अधिग्रहणमा उल्लेख सबै जग्गा नागरिक उडड्यन प्राधिकरणको नाममा हुन नसकेको बताए । ‘हामीले गृह मन्त्रालयलाई त्यस (असन्तुष्टी) बारे जानकारी गराएका छौ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने– मन्त्रालयबाट जवाफ आउने वित्तिकै नागरिक उडड्यन कार्यालयले जग्गाको लालपूर्जा पाउने छ ।

पुस २५ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार