६ कार्तिक २०८१, मंगलवार

प्रदेश नम्बर ७ : को बन्ला मुख्यमन्त्री ?



धनगढी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतगणना पुरा भएसँगै विभिन्न प्रदेशमा मुख्यमन्त्रीको चर्चा पनि चुलिएको छ ।
सात वटा प्रदेशमध्ये छ मा बाम गठबन्धनको पूर्ण बहुमत प्राप्त गरेको छ । प्रदेश नम्बर ७ मा बाम गठबन्धनले प्रत्यक्षतर्फ दुई तिहाई सिट प्राप्त गरेसँगै मुख्यमन्त्री को हुने भन्ने चर्चा पनि व्यापक बनेको छ ।
प्रत्यक्षतर्फको निर्वाचन नतिजाअनुसार प्रदेश नम्बर ७ मा नेकपा एमालेले सबैभन्दा बढि सिट प्राप्त गरेको छ । यससंगै नेकपा एमालेकै नेताहरूको नाममा भावी मुख्यमन्त्रीको आाकलन हुन थालेको छ ।
चुनाव आउनु धेरै अघिदेखि एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले आफूलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए । उनका समर्थकहरू अहिले उनलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् । खासगरी सामाजिक सञ्जालमा उनका समर्थकहरूले उनलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् ।
एमालेको प्रदेश सभा सदस्यको समानुपातिक बन्द सूचीमा थापा दोस्रो नम्बरमा रहेका छन् । नेपालको संविधान २०७२ अनुसार पदेश सभामा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुन्छ । यो प्रावधानले थापा प्रदेश सभा सदस्य बन्न पाउँछन् वा पाउँदैनन् भन्ने चर्चा चलेको छ ।
जानकारहरूका अनुसार एमालेले प्रदेश सभामा समानुपातिकतर्फ आठ जनासम्म सदस्य पठाउन पाउने अवस्था आएमा थापाको प्रदेश सभा सदस्य बन्ने सम्भावना कम हुने छ ।
प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १७ र समानूपातिकतर्फको आठ सहित प्रदेश नम्बर ७ मा एमालेका २५ प्रदेश सभा सदस्य बन्ने सम्भावना रहेको छ ।
२५ जना प्रदेश सभा सदस्यमा ३३ प्रतिशत महिलालाई राख्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सबै आठ सिटमा महिलालाई नै पठाउनुपर्ने हुन्छ ।
यदि प्रदेश सभाको समानुपातिकतर्फ एमालेले १० सिट प्राप्त गरेमा मात्र नेता थापालाई पिछडिएको क्षेत्रबाट प्रदेश सभा सदस्य बन्ने बाटो खुल्ने जानकारहरू बताउछन् ।
प्रदेश नम्बर ७ मा ५३ सदस्यीय प्रदेश सभा बन्ने छ । सो सभामा १७ जना महिला र तीन जना पिछडिएको क्षेत्रबाट प्रदेश सभा सदस्य बन्नेछन् ।
सामाजिक सञ्जालमा एमाले नेता थापा प्रदेश सभा सदस्य बन्छन् वा बन्दैनन् भन्ने जिज्ञासामा उनी निकट रामबहादुर बानियाले संबिधानको प्रावधान हेर्न भनेका छन् । नेता थापाले अाफु सांसद  बन्ने  विश्वास गरे । म मुख्य मन्त्रीकाे दावेदार हाे, अहिले अाएका अनेक हल्ला  निरर्थक, षडयन्त्रमुलक, अराजनितक र अमानविय छन्र इअनुमाेदनसंग उनले कुरा गर्दै भने ।    
प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेले एक जना पनि महिला उम्मेदवार दिएको थिएन ।
एमाले वैकल्पिक पोलिट ब्युरो सदस्य थापा प्रदेश सभा सदस्य बन्ने सम्भावना कम भएपछि यतिवेला एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह र कैलालीका अध्यक्ष दीर्घ सोडारीको दावेदारी आउन थालेको चर्चा सामाजिक सञ्जालमा व्याप्त छ ।
शाह बाजुरा प्रदेश ख र सोडारी कैलाली ४ को क बाट प्रदेश सभा सदस्य निर्वाचित भएका छन् ।
शाहले वैकल्पिक पोलिटब्युरो सदस्य थापाको सम्भावना नभएपछि आफू नै मुख्यमन्त्रीको दावेदार रहेको बताए ।
त्यस्तै, एमाले कैलालीका अध्यक्ष सोडारीले पनि पार्टीले जिम्मेवारी दिए आफू मुख्यमन्त्री हुन तयार रहेको बताएका छन् । उनको पक्षमा पनि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले प्रदेशको मुख्यमन्त्रीको भागवन्डा गर्दा प्रदेश नम्बर ७ माओवादीको भागमा जाने आँकलन पनि गरिएको छ ।
एमालेले आफ्नो अत्यधिक बहुमत रहेका प्रदेश नम्बर १, ३, ४ र ५ मा मुख्यमन्त्रीको दाबी गर्ने सम्भावना रहेको छ । ती क्षेत्रमा एमालेका शीर्ष नेताहरू नै मुख्यमन्त्रीको दौडमा रहेकोले पनि ती प्रदेश एमालेले नै लिने सम्भावना छ ।
त्यो अवस्थामा प्रदेश नम्बर ६ र ७ मा माओवादी केन्द्रले भाग पाउने सम्भावना पनि रहेको छ ।
प्रदेश नम्बर २ मा भने मधेसवादी दल आफैंले वा अरू दलसँग मिलेर सरकार बनाउने सम्भावना रहेको छ ।
माओवादी केन्द्रले ७ नम्बर प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा वीरमान चौधरीलाई भावी मूख्यमन्त्रीका रूपमा हेरिएको छ । तर, उनलाई माओवादीका प्रभावशाली नेता लेखराज भट्टको समर्थन हुन्छ वा हुँदैन भन्ने चर्चा चलेको छ ।
वीरमानको सम्भावना कम भएमा अछाम क्षेत्र नम्बर १ प्रदेश ख बाट निर्वाचित झपटबहादुर बोहरा मुख्यमन्त्री बन्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता भट्टको प्रीय पात्र मानिन्छ ।
माओवादीका नेता हरिराम चौधरी उत्सव पनि प्रदेश संसदको समानुपातिक सूचीमा छन् ।
माओवादीले बझाङबाट देवकी मल्ललाई प्रत्यक्षबाट प्रदेश सभा सदस्य बनाइसकेकोले एमालेका थापाको तुलनामा चौधरीलाई सांसद वन्न केही सजिलो हुने अनुमान गरिएको छ । उत्सव पनि प्रचण्ड र लेखराज दुवैका निकै नजिकका नेताका रूपमा परिचित छन् । त्यसैले चौधरी मुख्यमन्त्री बन्न सक्ने सम्भावना पनि आउन सक्छ । ७ नम्बरमा प्रत्यक्षका ३२ सीटमा एमालेले १७, माओवादीले १०, काँग्रेसले ४ र राजपाले १ सीट जितेका छन् ।

मंसिर २८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार