१२ पुष २०८१, शुक्रबार

समावेशी विद्यालयको रूप फेरिदै



धनगढी । पहाडरोड अत्तरियास्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा गाई फार्म, छानासहितको करेसावारी, फलफूलको बगैचा, कुखुराको खोर बन्दैछ । शारीरिक रूपमा असक्त बालबालबालिकालाई आवासीय शिक्षा दिइरहेको विद्यालयमा नयाँ बेडहरू, खानेपानी, वाथरूम तयार भइसकेका छन् । यो बनाउनका अष्ट्रिया र अमेरिकाका ज्येष्ठ नागरिक र उनका विद्यार्थीहरू अहोरात्र खटेर काम गरिरहेका छन् ।
‘हामी रिटायर्ड शिक्षक हौं । यहाँका बालबालिकालाई समस्या रहेछ त्यसैले सहयोग गर्न छाया नेपाल मार्फत आएका छौं’ करेसाबारीको ब्याड तयार गरिरहेकी छाया अष्ट्रियाकी पूर्व शिक्षिका क्लोत्ज भेर्निकोले भनिन्, ‘शौचालय, वाथरूम, खानेपानी, बेडहरू तयार भइसके, अब गाईगोठ, कुखुराको खोर, छतसहितको करेसाबारी र घेरबार बाँकी छ ।’
उनीहरूले झण्डै एक कठ्ठा जग्गामा करेसाबारी बनाइरहेका छन् । ‘यहाँ बादर धेरै छ । तरकारी खाइदेला भनेर बारीमाथि छत र वरिपरी जाली लगाउनुपरेको छ,’ छाया अमेरिकाका पूर्व शिक्षक बील केलेनले भने, ‘बालबालिकामा कुपोषण भएकाले उनीहरूका लागि गाईको दूध आवश्यक छ त्यसका लागि गोठ बनाउँदैछौं ।’ उनीहरूले बाँकी जग्गामा आप, लिची, मेवा, अम्वा रोप्ने पनि योजना बनाएका छन् ।
२०६३ सालमा खुलेको विद्यालयमा शारीरिक रूपमा अशक्त बालबालिका पढिरहेका छन् भने उनीहरूलाई स्थानीय दान चन्दा र स्वयंसेवी शिक्षकमार्फत अध्यापन गरिदै आएको थियो । भाडाको घरमा विद्यालय चलिरहेको थियो । अहिले विद्यालयको स्वरूप फेरिदैछ । पछि स्थानीय बनको जग्गामा जिल्ला शिक्षा कार्यालयले भवन बनाई दिएपछि सञ्चालनमा सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनी साउँद बताउँछन् । ‘मेरो सोच पनि यस्तै बनाउने थियो’, साउदले भने, ‘सबै क्षेत्र र छाया नेपालको सहयोगले सपना पूरा हुँदैछ ।’
छापा अष्ट्रिया, छाया अमेरिकाको सहयोगमा छाया नेपाल मार्फत यहा सहयोग भइरहेको छ । शुरुमा दश लाख नेपाली रुपैयाँ खर्चको अनुमान गरेको छाया अमेरिकाका बील केलनले बताए । भर्निको र केलेनसँगै हर्वर्ट क्लोज छन् भने विद्यार्थीहरू पाउलिन पेटेर्नो, सरेह सिंक्लेन पनि विद्यालयमा भइरहेका काममा सहभागी छिन् । निर्माण कार्यका लागि केही स्थानीय मजदूर पनि लगाएका छन् ।
छायाका स्वयंसेवकको योजना सफल भए यहाँ अध्ययनरत बालबालिका आरामदायी आवास, पोषणयुक्त खाना पाउनेछन् । तर, त्यसको निरन्तर सञ्चालनका लागि स्थानीय व्यक्तिको चासो, आवश्यक साधन र स्रोतको व्यवस्था जरुरी छ । हाल यस विद्यालयमा ४५ जना बालबालिकाले अवासीय शिक्षा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार