६ कार्तिक २०८१, मंगलवार

आसन्न निर्वाचन– २०७४ : कैलालीमा कडा प्रतिस्पर्धा



धनगढी । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा कैलालीमा प्रतिनिधि सभाका पाँच र प्रदेश सभा सदस्यका १० वटै क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर १ मा त्रिपक्षीय र २, ३, ४, ५ मा द्विपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
सबैभन्दा बढी चर्चामा रहेको कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसबाट डाक्टर आरजु राणा देउवा तथा बाम गठबन्धनका तर्फबाट नारदमुनी राना उम्मेदवार छन् । यो क्षेत्रमा काँग्रेस र बाम गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । गत स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकामा दोस्रो स्थानमा रहेका गोपाल हमालको पार्टी विवेकशील साझा पार्टीका दिनेशराज भण्डारी प्रतिनिधि सभा उम्मेदवार रहेका छन् ।
गत स्थानीय निर्वाचनमा नगर प्रमुखका उम्मेदवारले पाएको मतका आधार बाम गठबन्धनको मत काँग्रेसभन्दा बढी देखिन्छ । तर, स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा तात्वीक फरक रहने भएकाले गत स्थानीय निर्वाचनमा पाएको मतका आधारमा जीतहारको आँकलन गर्नु अर्थहीन हुने विश्लेषण गरिदैछ ।
धनगढी उपमहानगरपालिकामा कांग्रेसले स्थानीय तहको चुनावमा १४ हजार मत पाएको थियो । नेकपा माओवादीले १० हजार र नेकपा एमालेले ९ हजार मत पाएको थियो । त्यसबेलाका स्वतन्त्र उम्मेदवार तथा हाल विवेकशिल पार्टीका नेता गोपाल हमालले ११ हजार मत पाएका थिए । स्थानीय निर्वाचनमा माओवादीका नगर प्रमुखका उम्मेदवार रामसमझ राना हाल काँग्रेसमा प्रवेश गरिसकेका छन् । त्यसैले पनि यो निर्वाचनको परिणाम यस्तै होला भन्न गाह्रो छ । क्षेत्र नम्बर ५ मा ९१ हजार आठ सय १८ मतदाता छन् ।
कैलाली क्षेत्र नम्बर १ मा बाम गठनबन्धनका उम्मेदवार मदनकुमारी (गरिमा) शाह र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईश्वरी न्यौपानेबीच नै प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो । तर, पछिल्ला दिनमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार रेशम चौधरीलाई पनि कम आँकिएको छैन । २०७२ साल भदौ ७ गतेको टीकापुर घटनामा आरोपित र हाल फरार रहेका चौधरीले यी दुई गठबन्धनलाई कडा टक्कर दिनसक्ने अनुमान गरिएको छ । क्षेत्र नम्बर १ मा ९३ हजार छ सय ७२ मतदाता रहेका छन् ।
क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनले र क्षेत्र नम्बर ५ मा बाम गठबन्धनले स्थानीय तह निर्वाचनताको मतलाई मात्र सुरक्षित गर्नुपर्ने स्थिति छ । स्थानीय चुनावको मत हेर्दा क्षेत्र नम्बर १ मा कांग्रेस चार हजार पाँच सयले अघि छ । तर जातजाति सन्तुलन, टीकापुर घटनाका कारण स्थानीय चुनावभन्दा फरक परिणाम आउन सक्ने पनि अनुमान गरिदैछ ।
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य तथा पाका नेता सुनीलकुमार भण्डारीलाई उम्मेदवार बनाएको छ । बाम गठनबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य
लेखराज भट्ट उम्मेदवार छन् । यो क्षेत्रमा काँग्रेस र बाम गठबन्धनबीच नै सोझो प्रतिस्पर्धा हुने देखिएको छ ।
क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार गीता राणाले पाउने मतले पनि चुनावी परिणामलाई प्रभाव पार्ने आँकलन गरिदैछ । क्षेत्र नम्बर ४ मा ८६ हजार छ सय ८४ मतदाता रहेका छन् । विभिन्न जिल्ला तथा क्षेत्र र समुदायको बसोबास रहेको क्षेत्र नम्बर ४ मा कसको पक्षमा परिणाम आउँछ भन्ने अनुमान गर्नु कठिन भएको छ ।
कैलाली क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि बाम गठनबन्धन र लोकतान्त्रिक गठवन्धनका दुई पूर्वमन्त्रीबीच कडा प्रतिस्पर्धा रहेको देखिन्छ । बाम गठबन्धनका तर्फबाट माओवादीका गौरीशंकर चौधरी र लोकतान्त्रिक गठनबन्धनको तर्फबाट रामजनम चौधरी उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर ३ मा ९१ हजार आठ सय ३३ मतदाता रहेका छन् । थारू मतदाताको बाहुल्य रहेको क्षेत्र नम्बर ३ मा प्मुख प्रतिस्पर्धी पनि थारू समुदायका नै रहेकोले प्रतिस्पर्धा रोचक बनेको छ ।
क्षेत्र नम्बर २ मा पनि बाम गठनबन्धन र लोकतान्त्रिक गठनबन्धनका उम्मेदवारबीच नै सोझो र कडा प्रतिस्पर्धा देखिन्छ । बाम गठनबन्धनको तर्फबाट नेकपा एमालेका झपट रावल र लोकतान्त्रिक गठबन्धनका तर्फबाट मोहनसिंह राठौर उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा ८९ हजार आठ सय ७१ मतदाता रहेका छन् ।
कैलालीका अधिकांस क्षेत्रमा मुक्त कमैया, सुकुम्बासी र थारू समूदायका मतदाता नै निर्णायक रहेको पाइएको छ ।

मंसिर १८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार