६ कार्तिक २०८१, मंगलवार

जलवायु परिवर्तन प्रभाव सर्वेक्षण नतिजा सार्वजनिक



धनगढी । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जलवायु परिवर्तन प्रभाव सर्वेक्षणको नतिजा मंगलबार धनगढीमा सार्वजनिक गरेको छ ।
केनद्रीय तथ्यांक विभागले तथ्यांकीय जलवायु परिवर्तनका विषयमा गरिएको सर्वेक्षणको प्रतिवेदन पहिलो पटक सार्वजनिक गरेको जनाएको छ ।
सर्वेक्षणमा जलवायु परिवर्तनका प्रभावका विभिन्न आयाम सम्बन्धी तथ्यांक प्रस्तुत गरिएको छ । सर्वेक्षणमा जलवायु परिवर्तनबाट वन, जैविक विविधता तथा स्वास्थ्य क्षेत्रमा पारेका प्रभाव तथा त्यस्ता प्रभाव न्यूनीकरणमा स्थानीयले अपनाएका विभिन्न अभ्यास समेटिएका छन् ।
केन्द्रीय तथ्यांक विभाग अन्तर्गतको वातावरण शाखाले तयार पारेको तथ्यांकीय प्रतिवेदन अनुसार विगत २५ वर्षको तुलनामा ८६.०१ प्रतिशत उत्तरदाताले खडेरीको अनुभव गरेको उल्लेख छ ।
वातावरण शाखाका निर्देशक सुशील शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा तापक्रम परिवर्तन, हिउद तथा वर्षायामको समय परिवर्तन, पानीका मुहान सुक्दै गएको, खाद्यबालीका कीराको प्रकोप बढ्दै गएको, सुख्खा खडेरीले विभिन्न समस्या निम्त्याएको तथा पानीजन्य रोग बढेको उल्लेख छ ।
निर्देशक शर्माका अनुसार यस प्रकारको सर्वेक्षण नेपालमै पहिलो पटक गरिएको हो । सन् २०१६ मा गरिएको सो सर्वेक्षणको नतिजा मंगलबार मात्रै धनगढीमा सार्वजनिक गरिएको हो ।
सर्वेक्षणमा मुख्यतया जलवायु परिवर्तनसंग सम्बन्धित आठ वटा विषयमा केन्द्रित रहेर अध्ययन गरिएको जनाइएको छ ।
वातावरण शाखाले तयार पारेको प्रतिवेदन अनुसार ८ वटा क्षेत्रहरू पानी, स्वास्थ्य, वनजंगल, कृषि, विपद् घटना, पर्यटन, लैंगिक, शहरीमा केन्द्रित रहेर सर्वेक्षण गरेको वातावरण शाखाका ढुण्डीराज लामिछानेले बताए ।
सर्वेक्षणमा पाँच हजार ६० घरधुरीलाई समेटिएको छ । अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनले पारेको असरका कारण कतिपय किसानले मिश्रित बाली लगाउने गरेका छन् भने कतिपयले कृषि पेसा नै त्यागेर अरु पेसा अँगालेका छन् ।
वातावरण शाखा अधिकृत तुलसी पौडेलले विश्वव्यापी रूपमा देखा परेको जलवायु परिवर्तनको असर नेपालमा पनि परेकोले त्यसबाट अनुकुलित हुने कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताए ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सर्वेक्षण प्रतिवेदनले आगामी दिनमा जलवायु परिवर्तनका प्रभावमा अनुकुलनसम्बन्धी काम गर्ने संघसंस्थालाई सजिलो हुने बताए ।
स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले जलवायु परिवर्तनका असर कम गर्न राज्यले समयसापेक्षा नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा क्षेत्रीय वन निर्देशक सुशील कोइराला, जिल्ला वन अधिकृत डाक्टर राजेन्द्र केसी लगायतको सहभागिता रहेको थियो ।

भदाै २१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार