१४ बैशाख २०८१, शुक्रबार

शाहरुखका छोरा र सैफ अलीकी छोरी एकसाथ डेब्यु गर्दै



बलिउड स्टारका सन्तानहरुले बाबुआमाको पदचिन्ह पछ्याउनु नौलो होइन । पछिल्लो समय अभिनेता शाहरुख खानका छोरा र सैफ अलि खानकी छोरी एकैसाथ फिल्म इन्डस्ट्रीमा कदम राख्दैछन् । उनीहरुलाई निर्देशन गर्नेछन् निर्देशक करण जौहरले ।

सैफ अली खानकी छोरी सारा अली खानलाई लिएर फिल्म बनाउने तयारी जौहरले पहिल्यै गरेका थिए । सो फिल्ममा ऋतिक रोशन नायक हुने चर्चा चलेको थियो । तर अहिले शाहरुख खानका छोरा आर्यन उनको जोडी बन्ने लगभग पक्का भएको छ ।

त्यसो त शाहरुख पुत्र आर्यन आफ्नो पढाईका सिलसिलामा लस एञ् जेलसमा छन् । उनी पढाई सकेर फर्केपछि मात्रै फिल्मको सुटिङ सुरु हुने छ । त्यसो त आर्यनले फिल्म खेल्नका लागि आफ्नो तयारी सुरु गरिसकेका छन् । उनले बिहिबार अचानक आफ्नो इन्स्टाग्राम अकाउन्ट डिलिट गरेर पूर्णरुपमा आफ्नो करिअरमा ध्यान दिन चाहेको संकेत गरेका छन् ।

शाहरुले केही दिनअघि आफ्नो छोरालाई फिल्ममा इन्ट्री गराउन लागेको इशारा गरेका थिए । उनले भनेका थिए, ‘म आर्यनलाई धेरैभन्दा धेरै फिल्म देखाइरहेको छु किनकी उसले चाँडै नै फिल्म स्कुल ज्वाइन गर्दैछ । मैले हालै राम्रा राम्रा अंग्रेजी र हिन्दी फिल्मको कलेक्सन पनि गरेको छु । ती सबै फिल्महरु आर्यनलाई देखाउनेछु जसमा केही फिल्म मेरा पनि हुनेछन् ।’

सैफ अलिकी छोरी सारा पनि बलिउडमा डेब्यूका लागि अभिनयको क्लास लिन थालेकी छिन् । उनकी आमा अमृताले आफ्नी छोरी अभिनय सिकेपछि फिल्ममा कदम राख्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार