१४ बैशाख २०८१, शुक्रबार

करणको फिल्ममा करिना, आलिया र जान्भी पनि



बलिउड निर्देशक करण जोहरले नयाँ चलचित्रको घोषणा गरेका छन् । यो चलचित्र ‘मल्टिस्टारर’ हुनेछ । बिहिबार बिहान टि्वटरमार्फत जोहरले आफ्नो निर्देशनमा चलचित्र ‘तख्त’ निर्माण हुने जानकारी दिए । उनले चलचित्रको टिजर पोस्टर पनि जारी गरेका छन् ।
चलचित्रमा रणवीर सिंह, करिना कपुर, आलिया भट्ट, जान्भी कपुर, भिक्की कौशल, भूमि पड्नेकर, अनिल कपुर लगायतको अभिनय रहनेछ । कलाकारको सुचीमा अझै केही स्टार थपिन सक्ने बताइएको छ ।
करणले टि्वटरमा लेखेका छन्-‘तख्तको प्रमुख कलाकारहरुको घोषणा गर्न पाउँदा म एकदम उत्साहित छु ।’उनले इन्स्टाग्राममा चलचित्रको विषयमा केही रहस्यहरु चुहाएका छन् । ‘इतिहासको गर्तमा लुकेको एउटा सनसनीपूर्ण कथा…. मुगलको सत्ताको निम्ति अभूतपूर्व लडाई… एउटा परिवारको, महत्वाकांक्षाको, घमन्डको, धोकाको र प्रेमको कथा… तख्त प्रेम र यूद्धको बारेमा हो ।’
आलिया भट्ट र करिना कपुरले यसअघि फिल्म ‘उड्ता पञ्जाब’मा एकसाथ काम गरेका थिए । तर, उनीहरु पर्दामा एकैसाथ देखिएका भने थिएनन् ।
आफू एउटा ऐतिहासिक चलचित्रको हिस्सा हुन पाएको भन्दै आलियाले खुशी व्यक्त गरेकी छन् । ‘लभ यू करण । सेटमा जाने दिनको प्रतिक्षामा छु । यति शान्दार कास्टको एउटा हिस्सा बन्न पाउँदा गौरवान्वित छु,’ उनले लेखेकी छन् ।
‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ पछि रणवीर सिंहको यो तेस्रो ऐतिहासिक चलचित्र हुनेछ । उनले पनि यो चलचित्रको हिस्सा हुन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
श्रीदेवीकी छोरी जान्भी कपुरको यो दोस्रो चलचित्र हुने भएको छ । उनले यसअघि ‘धडक’ मा काम गरेकी थिइन्, जुन हालै प्रदर्शनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार