१८ बैशाख २०८१, मंगलवार

दर भन्दा बढि तिरेर सुनचाँदी किन्न परेको व्यवसायीको गुनासो



धनगढी । सुनचाँदी व्यवसायीले नियमन गर्ने कानुन नहुँदा व्यवसाय गर्न समस्या भएको बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशले शनिबार धनगढीमा आयोजना गरेको सुनचाँदी सचेतना, अन्तरक्रिया तथा प्रदेश समिति गठन कार्यक्रममा सहभागीहरुले कानुन नहुँदा नियमन गर्ने निकाय पनि निश्चित नभएको बताएका छन् । उनीहरुले कर तिरेर पनि व्यवसाय गर्न कठिन भएको बताएका छन् ।

संघका बरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्यले व्यवसायीले सरकारको रेट भन्दा महंगोमा सुन किन्नु परेको बताए । उनले महंगोमा किनको सुन सरकारले तोकेको दरमा बेच्नु पर्दा व्यवसायीलाई नोक्सान भइरहेको बताए । उनले सरकारले प्रत्येक स्थानीय तहमा रहेका बैंकबाट सहुलियत दरमा व्यवसायीले किन्न सक्ने वातावरण मिलाउन माग गरे ।
सुनचाँदी व्यवसायी मोहन काजीले सरकारलाई कर तिरेर पनि काम गर्न नपाएको गुनासो गरे । उनले कर तिरेरक काम गर्ने वातावरण बनाइदिन सरकारलाई आग्रह गरे । सरकारले विलासिताको सामान भनेर सुनचाँदीमा बढि कर लिने गरेको बताउँदै उनले सुन आवश्यकताको सामान रहेको बताए । बैंकबाट प्रति तोला एक हजार पाँच सय रुपैयाँ बढि तिरेर व्यवसायीहरुले सुन किन्न बाध्य रहेको बताउँदै उनले त्यो सुन तोकेको दर भन्दा एक हजार पाँच सय नै बढि लिन खोजेपछि व्यवसायीले कालो बजारी गरेको अभियोगमा जेल जानुपर्ने बाध्याता रहेको बताए । उनले व्यवसाय सहज ढंगबाट गर्न नपाएमा व्यवसायको प्रमाण पत्र सरकारलाई बुझाउन व्यवसायीहरु बाध्य हुने चेतावनी दिए ।
प्रतिनिधि सभा सदस्य प्रकाश स्नेहीले सिल्पीहरुलाई सम्मान गर्न नसकेको कारण मुलुकमा समृद्धि आउन नसकेको बताए । उनले पनि एकद्वार प्रणालीबाट व्यवसायीहरुलाई प्रत्येक स्थानीय तहबाट सुन खरिद गरी कारोबार गर्ने वातावरण मिलाउनुपर्ने बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले कर्मचारीहरुले बनाएको कानुन जनप्रतिनिधिहरुले मान्न नहुने बताए । उनले जनप्रतिनिधिहरु आफैले सम्बन्धित विषयका विज्ञ र लाभान्वित पक्षको सुझाव लिएर कानुन बनाउनुपर्ने बताए । कर्मचारीहरुले आफैले पनि भ्रष्टाचार गर्न र जनप्रतिनिधिहरुलाई पनि भ्रष्टाचारी बनाउन असार मसान्तमा आर्थिक वर्ष सकिने व्यवस्था गरेको आरोप लगाउँदै मेयर वडले जनप्रतिनिधिहरुले बैशाखबाट नयाँ आर्थिक वर्ष शुरु हुने व्यवस्था गर्नुपर्ने बताए । उनले वर्ष र आर्थिक वर्षको छुट्टा छुट्टै प्रतिवेदन तथा तथ्यांक राख्निुपर्दा झन्झटिलो भएको बताए ।
संघका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदे संयोजक विपेन्द्र रामुदामुले दैनिक सय तोलाको सुन पसलमा ग्राहकले आफैले सुन लिएर आउने गरेको र त्यसले गर्दा कहिले काँही पसलमा सुनको मौज्दात दुई सय तोलासम्म हुने गरेको बताए । उनले अनुगमनको बेला ग्राहकले ल्याएको सुन समेत गरेर दुई सय तोला सुन देखिएमा व्यवासयीले सजायको भागेदार हुनु परेको बताए ।
सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले सुनचाँदी व्यवसायीको समस्या प्रदेश सरकार समक्ष सहजीकरणका लागि राखिदिने प्रतिवद्धता जनाए । संयोजक रामुदामुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य आशा विक, प्रदेश सभा सदस्य दुर्गा कामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संघको सुदूरपश्चिम प्रदेश समिति शनिबार नै चयन हुने संयोजक रामुदामुले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार