१७ बैशाख २०८१, सोमबार

विद्यालयको मिलान तथा कक्षातह घटाइयो



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले १६ वटा विद्यालयको मिलान तथा कक्षा र तह घटाएको छ ।
घोडाघोडी नगरपालिका आधारभूत तथा माध्यमिक शिक्षा कार्यविधि, २०७४ बनाएर विद्यालयहरूको मिलान तथा कक्षा र तह घटाउने काम अगाडि बढाएको जनाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम आधारभूत तथा माध्यमिक शिक्षालाई गुणस्तर बनाउन सामुदायक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति व्यवस्थापन तथा अनुगमन गर्ने उल्लेख छ ।
विद्यालयको गुणस्तर, भौतिक पूर्वाधार, शिक्षाको सिकाई, विद्यार्थीहरूको सहभागिता लगायत विभिन्न पक्ष समेत नगरपालिकाले सात वटा विद्यालय र नौ वटा तह मिलान गर्न लागेको घोडाघोडी नगरपालिकाले जनाएको छ ।
घोडाघोडी नगरपालिकामा रहेका ५७ वटा सामुदायिक विद्यालयमध्ये सात वटा विद्यालय समायोजन भएपछि अहिले सामुदायक विद्यालयको संख्या ५० मा झरेको छ । सबै सामुदायिक विद्यालयमा स्थलगत अनुगमन गरेपछि असार ४ गते बसेको नगर कार्यपालिकाको बैठकले विद्यालयहरूको मिलान तथा कक्षा/तह घटाउने निर्णय गरेको जनाइएको छ ।
सात वटा विद्यालय र नौ वटा तह मिलान गर्दा दुई हजार ६२ जना विद्यार्थी र ५४ जना निजी शिक्षक प्रभावित हुने भएका छन् ।
यता, घोडाघोडी नगरपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा कार्यविधि, २०७४ बनाएर काम अगाडी बढाउने प्रक्रिया अघि बढाएपछि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, शिक्षिकाहरू आन्दोलित हुने देखिएको छ ।
शिक्षक, शिक्षिकाले नगरपालिकाले अघि सारेको विद्यालय तह मिलान तथा विद्यालय मिलान प्रक्रिया खारेज गर्नुपर्ने, निजी स्रोतका शिक्षकहरूलाई नगर शिक्षक घोषणा गरी सेवासुविधा र पेसाको ग्यारेन्टी गरिनुपर्ने मागका साथ आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
निजी श्रोत शिक्षक संगठन कैलालीकी अध्यक्ष तथा मेलघट्टी माध्यामिक विद्यालयका शिक्षिका लखनी चौधरीले नगरपालिकाको यो निर्णयले रोजगारी युवालाई वेरोजगार वनाउने, बालबालिकाहरूलाई शिक्षाबाट बञ्चित गराउने आरोप लगाए ।
आन्दोलित शिक्षक, शिक्षिकाले नगरपालिकाले निजी श्रोतमा कार्यरत शिक्षक, शिक्षिकाहरूको व्यवस्थापन गर्ने आश्वासन दिलाए पनि अहिले आँखामा छारो हाल्न मात्रै काम गरेको आरोप लगाए । उनीहरूले नगरपालिकाले विद्यालयका, शिक्षक, शिक्षिका तथा सरोकारकारवाला कसैसँग पनि कुनै छलफल नै नगरी एकतर्फी तथा अवैधानिक रूपमा मिलान गर्न खोजेको आरोप लगाए ।
शिक्षक चेतबहादुर बोहराले नगरपालिकाले हचुवाको भरमा गरेको यस्तो निर्णयका कारण शिक्षक, विद्यार्थी मारमा परेको र सामुदायिक विद्यालयलाई मिलान गरी आफूहरूको पेटमा लात हान्न खोजेको गुनासो गरे ।
घोडाघोडी नगरपालिका वडा नम्बर ४, जनकपुरमा रहेको मेलघट्टी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र प्रकाश भण्डारीले आफुले पढ्ने विद्यालयको तह घट्ने बारेमा आफुले सुनेको र तह घटुवा हुँदा आम विद्यार्थी दु:खी भएको बताए ।
त्यस्तै, वडा नम्बर ८, तिलकनगरस्थित मोहनी आधारभूत विद्यालयमा कक्षा ८ का छात्रा दीपा विकले घर नजिकै स्कुलमा पढ्न पाइरहेकोमा नगरपालिकाले राष्ट्रिय माध्यामिक विद्यालय तारानगरमा समायोजन गर्दा आफूलाई नराम्रो लागेको बताइन् । उनले नयाँ स्कुल र नयाँ ठाउँमा कसरी पढ्ने भन्ने चिन्ता लागेको बताइन् ।
विद्यार्थीहरूले नगरपालिकालाई विद्यालयको तह नघटाउन पनि आग्रह गरेका छन् ।
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले सामुदायिक विद्यालयको शिक्षालाई बैज्ञानिक र गुणस्तरीय बनाउनुको लागि विद्यालयको मिलान गर्नु आवश्यक रहेको बताए ।
नगर प्रमुख चौधरीले निजी श्रोतका शिक्षक र शिक्षिकाहरूको व्यवस्थापनका लागि पनि पहल भइरहेको बताए । उनले विद्यालय मिलान तथा तह मिलान हँुदा कार्यरत विद्यालयका शिक्षक र शिक्षिकलाई छुट्टै व्यवस्था गर्न लागेको हुनाले नआत्तिन पनि आग्रह गरे ।

कुन विद्यालय कहाँ समायोजन हुँदैछन् ?
घोडाघोडी नगरपालिका वडा नम्बर २ चितलपुरमा रहेको मसानी आधारभूत विद्यालयलाई दशरथ माध्यामिक विद्यालय साडेपानीमा समायोजन गरिएको छ । त्यस्तै, वडा नम्बर ४ जनकपुरको मेलघट्टी माध्यामिक विद्यालयको ९ र १० कक्षा तह घटाएर गणेशपुरस्थित सीताकुण्ड माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ ।
घोडाघोडी नगरपालिकाका अनुसार वडा नम्बर ४ माघीमा रहेको नवप्रभात प्राथमिक विद्यालय र राष्ट्रिय लालीगुँरास प्राथमिक विद्यालय, गैडाखेडालाई राष्ट्रिय लालीगुँरास प्राविमा कक्षा पाँचसम्म सञ्चालन गरिएको छ ।
त्यस्तै, वडा नम्बर ४ शितलपुरमा रहेको कालिका आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ तह घटाएर वडा नम्बर १०, पहलमानपुरमा रहेको कान्ति राज्यलक्ष्मी माविमा व्यवस्थापन गरिने जनाइएको छ ।
वडा नम्बर ८ तिलकनगरमा रहेको मोहनी आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ तह घटाएर तारानगरमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ ।
त्यस्तै, वडा नम्बर ८ आमफाटा रहेको अनग्रह प्राथमिक विद्यालय कक्षा ४ र ५ तह घटाएर राष्ट्रिय माध्यामिक विद्यालय तारानगरमा व्यवस्थापन गरिएको छ । भने वडा नम्बर ६ कल्जुकीमा रहेको दीपज्योति प्राथमिक विद्यालयलाई राष्ट्रिय माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ ।
त्यस्तै, वडा नम्बर १ डुडापारीमा रहेको जनप्रगतिशिल आधारभूत विद्यालयको ६, ७ र ८ कक्षा तह घटाएर वडा नम्बर ८ दिपनगरमा रहेको मेलघट्टी माध्यामिक विद्यालयमा व्यवस्थापन गरिएको छ ।
वडा नम्बर ९, गोदनीमा रहेको मोहन्याल आधारभूत विद्यालयको कक्षा ६, ७ र ८ लाई तह घटाएर कालिका माध्यामिक विद्यालय खल्लाखेतमा व्यवस्थापन गरिएको छ ।
त्यस्तै, वडा नम्बर ९ रतिपुरमा रहेको शान्ति आधारभूत विद्यालयलाई वडा नम्बर ४ गणेशपुरमा रहेको सीताकुण्ड माविमा व्यवस्थापन गरिने भएको छ । भने वडा नम्बर १० सिसैयामा रहेको दशरथ प्राथमिक विद्यालयलाई अमर शहिदस्मृति आधारभूत विद्यालय लठैयामा समायोजन गरिएको छ ।
त्यस्तै, वडा नम्बर १२ मा खोपामा रहेको बाल प्राथमिक विद्यालयको कक्षा ४ र ५ तह घटाएर नकफोडुवामा रहेको राष्ट्रिय माविमा व्यवस्थापन गरिएको छ ।
वडा नम्बर १२ शिवपुर रहेको राजाराम प्राविलाई बाल प्रावि, खोपामा समायोजन गरिएको छ ।
त्यसैगरी, वडा नम्बर १२ वनवर्षामा रहेको शिव प्राविलाई राष्ट्रिय माविमा नकफोडुवा समायोजन गरिएको छ । भने वडा नम्बर १० शिखरझाला रहेको सरस्वति माविको ६, ७ र ८ कक्षा तह घटाएर वडा नम्बर ९ खल्लाखेतमा अवस्थित कालिका माविमा व्यवस्थापन गरिएको छ ।

घोडाघोडी नगरपालिका आधारभूत तथा माध्यमिक शिक्षा कार्यविधि, २०७४ मा के व्यवस्था गरिएको छ ?
घोडाघोडी नगरपालिका आधारभूत तथा माध्यमिक शिक्षा कार्यविधि, २०७४ को दफा १६ (१) मा कुनै पनि अवस्थामा दुई वा दुई भन्दा बढी विद्यालयलाई एक आपसमा गाभी एउटा विद्यालय कायम गर्न सकिने छ ।
अनुसूची २ बमोजिमको पुुर्वाधार कायम नरहेको, अधिकांश कक्षामा ५० प्रतिशत भन्दा कम विद्यार्थी संख्या भएको, दुई वा सो भन्दा बढी विद्यालयको परिसर एकापसमा जोडिएको, आधारभूत विद्यालय बीचको पैदल दुरी तीस मिनेट भन्दा कम र माध्यमिक विद्यालय बीचको दुरी एक घण्टा भन्दा कम रहेको, दुई वा सो भन्दा बढी विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएको छ ।
उपदफ (१) बमोजिमको आधारमा विद्यालयहरू गाभ्ने निर्णय गर्दा कार्यपालिकाले त्यस्ता विद्यालयको लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी एकिन गरी बढी हुन आएको स्वीकृत दरबन्दीका शिक्षक तथा कर्मचारीको व्यवस्थापनको विषयमा समेत निर्णय गर्नु पर्नेछ ।
कार्यविधिमा उल्लेखित विद्यालय गाभ्ने सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न कार्यपालिकाले शिक्षा समितिको सिफारिसमा निर्णय गरी लागू गर्न सक्नेछ । यसरी गाभिएका खाली भएको वा बन्द भएको विद्यालयमा सामुदायिक प्रयोजनका लागि पुस्तकालय, म्युजियम, संवाद स्थल, वा सीप विकास केन्द्र, सामुदायिक केन्द्र जस्ता संस्था बनाउने भनिएको छ ।
आधारभूत तथा माध्यमिक शिक्षा कार्यविधि २०७४ दफा १८ मा कुनै विद्यालको सम्बन्धमा दफा १७ को अवस्था विद्यमान रहेको भएता पनि विद्यालय गाभ्ने आधार औचित्यपूर्ण नदेखिएमा विद्यालयको नक्साङ्कन गरी शिक्षा शाखा तथा नगर शिक्षा समितिको सिफारिसमा कार्यापालिकाले त्यस्तो विद्यालयको माथिल्लो तह वा कक्षा घटाउने सक्ने छ भनेर कार्यविधिमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार