भाइरल रोडमा पर्यटकलाई रोक
धनगढी / कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ मा रहेको भाइरल रोड आगामी आइतबारदेखि आन्तरिक पर्यटकहरूका लागि रोक लगाइने भएको छ ।
पछिल्लो समय चर्चित बनेको सो भाइरल रोडमा हरेक दिन मानिसको अत्यधिक भिडभाड बढेको र सडकको काम प्रभावित बनेको भन्दै कञ्चनपुर जिल्ला प्रशासनले आन्तरिक पर्यटकलाई रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए ।
उनका अनुसार कोरोना संक्रमणको जोखिम बाहेक मदिरा तथा लागूऔषध सेवन गरि दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक लगाइएको छ ।
सोमबार मात्रै भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए ।
उनले सोमबार महाकालीमा हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनको खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । पछिल्लो समय भाइरल रोडमा टिकटक, भिडियो र फोटो खिच्न आउनको भीड लाग्ने गरेको थियो ।